असार ७, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । शुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने संकेत गर्यो । यद्यपि कारोबार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर रू. १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ मूल्यमा खरीद विक्री भए । गत बिहीवार अर्थात जेठ ३० गते एक हजार २६९ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से यस साताको शुरुको दिन अर्थात असार १ गते आइतवार ११ दशमलव ३६ बिन्दुले घटेर एक हजार २५८ दशमलव २७ मा झर्यो ।
कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता शेयर रू.४७ करोड २५ लाख २० हजार ८११ मा खरीद विक्री भए । यस्तै निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमवार भने सामान्य सुधार देखियो । सो दिन नेप्से परिसूचक २ दशमलव ६३ बिन्दुले वृद्धि भई १ हजार २६० दशमलव ९० अंकमा पुग्यो । कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद विक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोबार भएकामा तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढ्यो ।
मंगलवार भने कारोबार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन परिसूचक २ दशमलव २३ बिन्दुले घटेर १ हजार २५६ दशमलव ६६ बिन्दुमा पग्यो । घटेको बजारमा कारोबार रकममा पनि गिरावट आयो । कूल १७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता शेयर रू. ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कुल ११ उपसमूहमध्ये तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भयो ।
साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधवार पुनः ओरालो लाग्यो । परिसूचक शून्य दशमलव २० बिन्दुले घटेर १ हजार २५८ दशमलव ४६ अंकमा पुग्यो । स्टकका अनुसार १६९ कम्पनीका ९ लाख ८० हजार ९१९ कित्ता शेयर रू. ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद विक्री भए ।
यस्तै साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो । सो दिन परिसूचक ५ दशमलव ९० अंकले बढेर १ हजार २६४ दशमलव ३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटियो । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर रू. ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरीद विक्री भए ।
तीन कम्पनीका शेयर सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहीवार विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद शेयर सूचीकृत भए । स्टकमा जेविल्स फाइनान्स लिमिटेडका ३ लाख ४० हजार ९५५ कित्ता हकप्रद र ३ लाख ८९ हजार २८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस