चिलिमे हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (सोमवार, ९ असार २०७६)
Jun 24, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा विद्युत् विक्रीबाट रू. ८० करोड ७५ लाख आम्दानी गरेको छ । सो अवधिमा कम्पनीको खुद मुनाफा रू. ५४ करोड ३६ लाख पुगेको छ । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । विगतका वर्षमा समेत कम्पनीले आकर्षक लाभांश दिएको देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ७५ करोड छ । रिजर्भ कोषमा रू. ४ अर्ब ५१ करोड छुट्याएको छ । यस कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत् कम्पनीको शेयर पनि दोस्रो बजारमा सूचीकरणको चरणमा छ । आइतवारको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा ७ हजार ९८५ कित्ता शेयर खरीद गर्ने र २ हजार ३९३ कित्ता शेयर विक्री गर्ने माग थियो ।
कम्पनीको ६३ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने अथवा बढ्ने कुनै निश्चित संकेत गर्दैन । यस्तो अवस्थमा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४० दशमलव शून्य ९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ५११ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५२२ मा प्रतिरोध पाउने मूल्य सस्तिएमा रू. ५०७ मा टेवा पाउने देखिन्छ ।