शिवम् सिमेन्ट्स : कम्पनी विश्लेषण (सोमवार, ९ असार २०७६)
Jun 24, 2019
 
लगानी
कम्पनी विश्लेषण
उत्पादनमूलक कम्पनीको सूचीमा यसै आर्थिक वर्षमा थपिएको शिवम् सिमेन्ट्सले सर्वसाधारण लगानीकर्तालाई ३ महीनामै प्रतिफल दिन सफल भएको छ । कम्पनीले यस वर्ष १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले आगामी दिनमा पनि यसलाई नघटाई बोनस तथा नगद लाभांश वितरण गर्ने प्रतिबद्धता वैशाख ९ गते सम्पन्न साधारणसभामा व्यक्त गरेको छ । कम्पनीले मकवानपुर जिल्लाको हेटौंडामा प्रतिदिन ३ हजार मेट्रिक टन शिवम् र शिवम् सिमेन्ट ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । सर्वसाधारणलाई समेत समेटेपछि हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड कायम भएको छ । आगामी दिनमा आउन सक्ने बजारको मागलाई ध्यानमा राखी पीपीसी, स्लाग सिमेन्ट लगायत अन्य ब्रान्ड र ग्रेडका सिमेन्ट उत्पादन गरी बजारमा ल्याउने योजना कम्पनीको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिमा अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्ने कुनै निश्चित संकेत गर्दैन । आरएसआई न्युट्रल जोन ६४ दशमलव १९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशलमव ७६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा तल र २६ दिने मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ६५१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६७९ मा प्रतिरोध र सस्तिएमा रू. ६४६ मा टेवा पाउने देखिन्छ ।