कामना सेवा विकास बैंक : कम्पनी विश्लेषण (सोमवार, ९ असार २०७६)
Jun 24, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न असार १४ गते साधारणसभाको आयोजना गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले जेठ ३१ गते बुक क्लोज गरेकाले जेठ ३० गतेसम्म कायम सदस्यले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्छन् । चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकले रू. २१ करोड २१ लाख नाफा कमाएको छ । हाल बैंकको चुक्तापूँजी रू. २ अर्ब ५० करोड छ । आइतवार बैंकको शेयरमूल्य रू. १५२ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ३ अंक कम हो । आइतवार बैंकको ७ हजार १३८ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम २ दिनमा बनेको मैनबत्ती आकृतिले कम्पनीको शेयरमूल्य टेवा पाएर माथि जाने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४१ दशमलव ८३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । आइतवारको शेयरमूल्य रू. १५२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १६६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १४८ मा टेवा पाउने देखिन्छ ।