काठमाडौं । पञ्चकन्या ग्रूपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ आफ्नो व्यवसाय र उद्योगका लागि आवश्यक दक्ष जनशक्ति नेपालकै व्यवस्थापन कलेजहरूबाट पूर्ति हुन सक्नेमा ढुक्क देखिन्छन् । नेपाली व्यवस्थापन कलेजहरूको अध्ययन/अध्यापनमा पछिल्ला वर्षहरूमा आएको गुणस्तरीय सुधार नै हो, ती कलेजहरूप्रति श्रेष्ठको बढ्दो विश्वास ।
न्यू बिजनेश एज प्रालिले गत शुक्रवार आयोजना गरेको न्यूबिज बिजनेश स्कूल कन्क्लेभ एन्ड अवार्डमा सहभागी श्रेष्ठजस्तै धेरै उद्यमी/व्यवसायीको चाहना छ, आफ्ना उद्योग/व्यवसायका लागि आवश्यक जनशक्ति नेपाली व्यवस्थापन कलेजबाटै होस् ।
आफ्नो उद्योग व्यवसायलाई आवश्यक जनशक्ति नेपालकै उत्कृष्ट बिजनेश स्कूलबाट छनोट गरेर लिन सकिन्छ भन्नेमा उद्यमी व्यवसायीमा विश्वास बढ्नुले कलेज व्यवस्थापकहरू पनि आफ्ना विद्यार्थीलाई नेपालमै राम्रो रोजगारीका अवसर दिलाउन सकिन्छ भन्नेमा बढी आशावादी भएका छन् ।
व्यवस्थापन कलेज र उद्यमी–व्यवसायीबीच संवाद गर्ने वातावरण बनाई एक–अर्काबीच सामञ्जस्य कायम गर्ने कार्य न्यू बिजनेश एज प्रालिले न्यूबिज बिजनेश स्कूल कन्क्लेभ एन्ड अवार्डमार्फत गर्दै आएको छ, जहाँ रोजगारदाता र बिजनेश स्कूलहरू एकअर्काका आवश्यकता तथा समस्या समाधानका उपाय र नयाँ सम्भावनाबारे एकअर्कासँग संवाद पनि गरून् ।
नेपाली औद्योगिक प्रतिष्ठानले आफ्नो लगानीमा विविधीकरण गर्दै जाँदा त्यस्ता उद्योगलाई आवश्यक पर्ने जनशक्ति स्वदेशी बिजनेश स्कुलबाटै उत्पादन हुन सके माग र आपुर्तिबीचको सन्तुलन कायम हुने विश्वास उद्यमी/व्यावसायीको छ । उनीहरूका अनुसार यस्ता अवार्ड र कन्क्लेभले कलेज र व्यापारिक समुदायलाई एकै छातामुनि ल्याएको मात्रै छैन, श्रम बजारको माग र त्यसलाई आवश्यक पर्ने जनशक्ति आपूर्तिबारे दुवै पक्षबीच सार्थक संवाद गर्ने थलो पनि बनेको छ ।
यसपालि शुरू गरिएको कन्क्लेभमा व्यवसायीले कलेजहरूलाई आवश्यक पर्ने जनशक्तिका लागि विषय र प्रयोगात्मक ज्ञान दिन आग्रह गर्न भ्याए भने बिजनेश स्कूलहरूले जब प्लेसमेन्ट र इन्टर्नशिप गराउने वातावरण बनाइदिन अनुरोध गरे ।
सरकारी निकायमा एमबीए र बीबीए गरेका विद्यार्थी गए मुलुकको समृद्धितर्फको यात्रा अलि छिटो अघि बढ्ने सन्देश कन्क्लेभमा दिइएको थियो । एमबीए गरेकाहरूले बैंक तथा वित्तीय संस्थामा मात्र होइन, राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा पनि नेतृत्व लिन थाले भने देशको मुहार फेर्न समय नलाग्ने धारणा कन्क्लेभमा व्यक्त गरिएको थियो ।
अवार्डबाट सम्मानित कलेजका प्राचार्य÷व्यवस्थापकहरूको अनुभवमा यस्ता अवार्ड आफ्नो संस्थाको शैक्षिक गुणस्तर सुधार्न सहयोगी भएको छ ।
वीरगञ्ज पब्लिक कलेज, पर्साका अध्यक्ष तथा कार्यकारी निर्देशक दीपक शाक्य भन्छन्, ‘गत सालको अवार्डपछि हामीले कलेजलाई थप सुधारतर्फ अगाडि बढायौं, जसअनुसार कलेजलाई पूर्ण आईटी कलेज बनायौं ।’ यस्तै शिक्षकलाई तालीमको व्यवस्था गरिएको र विद्यार्थीको व्यावहारिक शिक्षामा पहुँच बढाउन विभिन्न सरोकारवालासँग छलफल, फिल्ड भिजिट जस्ता काम गरिएको उनको भनाइ छ ।
त्यस्तै भनाइ मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका कार्यक्रम निर्देशक नारायण पौडेलको पनि थियो । ‘यस कार्यक्रमले कलेजलाई प्रतिस्पर्धी बनाई शैक्षिक स्तर बढाउने प्रेरणा पनि दिएको छ,’ पौडेल भन्छन्, ‘साथै यसले देशभरका कलेज र उद्यमीलाई नजिक पनि ल्याएको छ ।’
आदिकवि भानुभक्त कलेज क्याम्पसका प्राचार्य महाप्रसाद हड्खले ७२ प्रतिशत सीमान्तकृत विद्यार्थी पढ्ने आफ्नो सामुदायिक कलेज उत्कृष्ट एमबीएस कलेजबाट सम्मानित हुँदा आफ्नो प्रयास सार्थक भएको बताउँछन् । अझ मोफसलमा सञ्चालित कलेज भएकाले उनी उद्यमी व्यवसायीसँग सम्बन्ध विस्तार गर्न पाउँदा झनै सन्तुष्ट देखिए । कार्यक्रमका कारण आफ्ना कलेजका विद्यार्थीलाई जब प्लेसमेन्ट गराउन सहज हुने उनको विश्वास छ ।