सगरमाथा इन्स्योरेन्स : कम्पनी विश्लेषण (मंगलवार, १० असार २०७६)
Jun 25, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले पूँजीवृद्धिका लागि ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न आगामी असार १३ गते साधारणसभा आयोजना गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ८२ लाख छ । बोनस शेयर वितरण गरेपछि पूँजी रू. १ अर्ब पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको चुक्तापूँजी रू. १ अर्ब पु¥याउन निर्देशन दिएसँगै कम्पनीले बोनस शेयर वितरण गरेर पूँजीवृद्धि गर्न लागेको हो । हालसम्म कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण भने प्रकाशित गरेको छैन । जेठ ३० गतेसम्म शेयर किन्ने शेयरधनीले ८६ प्रतिशत बोनस शेयर पाउनेछन् । सोमवार कम्पनीको शेयरमूल्य रू. ६४१ कायम भएको छ । अघिल्लो दिनको तुलनामा ९ अंक घटेको हो । सोमवार कम्पनीको १ हजार ७ सय ५३ कित्ता शेयर खरीदविक्री भएको छ ।
कम्पनीको ६२ दिने कारोबार अवधिको मैनबत्ती विश्लेषणलाई अध्ययन गर्दा अन्तिम चार कारोबार दिनको मैनबत्ती चित्रलाई हेर्दा शेयरमूल्य टेवा पाएर माथि जान सक्छ । आरएसआई ओभरसोल्ड जोन ११ दशमलव ३१ विन्दुमा छ । यसले विक्री चाप रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव ८८ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम र प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ६४१ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार २६८ मा प्रतिरोध पाउने देखिन्छ । ८६ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य घटेको हो ।