देवः विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, १५ असार २०७६)
Jun 30, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीको शेयरमूल्य १ वर्षको अवधिमा प्रतिकित्ता अधिकतम रू. १५१ पुगेको छ । २०७५ साल असार १३ गते प्रतिकित्ता रू. १३१ रहेको कम्पनीको मूल्य २०७६ असार १२ गते रू. १३८ मा आइपुगेको छ । कम्पनीले १ वर्षमा शेयरधनीलाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । प्रस्तावित बोनस शेयरका लागि रू. १३८ मा मूल्य समायोजन भएको छ । मूल्य समायोजन हुनुअघि कम्पनीको मूल्य प्रतिकित्ता रू. १४६ थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड छ । चालू आवको तेस्रो त्रैमासमा बैंकले रू. २५ करोड ५२ लाख नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ४३ मूल्य आम्दानी अनुपात ९ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू. १२८ दशमलव ९४ छ । बिहीवार बैंकको साधारणसभाबाट वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी १ बराबर १ को अनुपातमा स्वाप रेशियो कायम गर्ने प्रस्ताव पारित भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिमा मैनबत्ती विश्लेषणको अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रन जोन ३८ दशमलव १३ विन्दुमा छ । यसले शेयरविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । १४ दिने मूल्यरेखा र २६ दिने मूल्यरेखाले १ दिने मूल्यरेखालाई तलबाट काटेर माथि गएको छ । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. १३८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १४६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १३८ मा टेवा पाउने देखिन्छ ।