कर्पोरेट डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (आइतवार, १५ असार २०७६)
Jun 30, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. १३६ पुगेको छ भने न्यूनतम रू. ८९ पुगेको छ । बुधवारको कारोबारमा कम्पनीको ७ सय कित्ता शेयर खरीद गर्ने र २ सय कित्ता शेयर विक्री गर्ने माग थियो । सो दिन कम्पनीको ९० कित्ता शेयर खरीदविक्री भएको छ । शेयरमूल्य रू. १२० कायम छ । चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. ८ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा साढे ८ गुणा बढी हो । बैंकले सो अवधिमा रू. ९४ लाख ४८ हजार नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. ७ करोड ५४ लाख खराब कर्जा उठाएकाले नाफा बढेको हो । हाल बैंकको चुक्तापूँजी रू. ३६ करोड २२ लाख छ । बैंकको प्रतिशेयर आम्दानी (वार्षिक) ३० दशमलव ४९, मूल्य आम्दानी अनुपात ३ दशमलव २१ र प्रतिशेयर नेटवर्थ ९५ दशमलव ३ छ ।
कम्पनीको ४३ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा लगानीकर्ताले कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सक्छन् । आरएसआई न्युट्रल जोन ५१ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ ।