सेञ्चुरी बैंक : कम्पनी विश्लेषण (मंगलवार, १७ असार २०७६)
Jul 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
१ वर्षको कारोबार अवधिमा बैंकको शेयरमूल्य सबैभन्दा बढी रू. २ सय पुगेको छ भने न्यून मूल्य रू. १ सय ५९ रहेको छ । सोमवार बैंकको शेयरमूल्य रू. १ सय ६६ कायम भएको छ । सो दिन बैंकको २६ हजार २ सय ३८ कित्ता शेयर खरीदविक्री भएको छ । बैंकले गतवर्षको सञ्चित मुनाफाबाट २ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६१ करोड ६ लाख ७१ हजार खुद नाफा गरेको छ । यो नाफा गतवर्षको सोही अवधिमा रू. ६७ करोड १५ लाख २६ हजार रहेको थियो । गतवर्षभन्दा यस वर्ष खुद नाफामा कमी आएको छ । बैंकले गतवर्ष रू. ९३ करोड ६६ लाख ४४ हजार र यस वर्ष रू. ८७ करोड ३३ लाख ७१ हजार सञ्चालन नाफा गरेको छ । सञ्चालन मुनाफा घटेकाले बैंकको नाफामा कमी आएको हो ।
कम्पनीको ६३ दिनको कारोबार अवधिमा अन्तिम २ दिनको मैनबत्ती चित्रले शेयरमूल्य टेवा पाएर माथि जाने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ४५ दशमलव शून्य ८ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ४८ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमबारको शेयरमूल्य रू. १६६ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १६९ मा प्रतिरोध र सस्तिएमा रू. १६५ टेवा पाउने देखिन्छ ।