हिमालयन बैंक : कम्पनी विश्लेषण (मंगलवार, १७ असार २०७६)
Jul 2, 2019
 
लगानी
कम्पनी विश्लेषण
१ वर्षको कारोबार अवधिमा बैंकको शेयरमूल्य उच्च रू. ६ सय १५ पुगेको छ भने न्यून मूल्य रू. ४ सय २३ रहेको छ । सोमवार बैंकको शेयरमूल्य २ अंक बढेर रू. ५ सय ५० मा बन्द भएको छ । सो दिन बैंकको ७ सय १५ कित्ता शेयर खरीद विक्री भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षसम्मको ३० लाख कित्ता ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । बैंकले सेबोनमा वैशाख ६ गते ऋणपत्र जारी गर्न निवेदन दिएको हो । ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई जारी गर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. २ अर्बभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. १ अर्ब ८२ करोड नाफा कमाएको थियो ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४० दशमलव ५२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव शून्य ७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा तल छ । सोमवारको शेयरमूल्य रू. ५५० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ५७० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५१० मा टेवा पाउने देखिन्छ ।