हिमालयन बैंक : कम्पनी विश्लेषण (बुधवार, १८ असार २०७६)
Jul 3, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकको शेयरमूल्य १ वर्षको अवधिमा अधिकतम रू. ६१५ र न्यूनतम रू. ४२३ पुगेको छ । सोमवार बैंकको शेयरमूल्य २ अंक बढेर रू. ५५० मा बन्द भएको छ । सो दिन बैंकको ७१५ कित्ता शेयर खरीदविक्री भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षसम्मका लागि ३० लाख कित्ता ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । बैंकले सेबोनमा वैशाख ६ गते ऋणपत्र जारी गर्न निवेदन दिएको हो । बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई जारी गर्नेछ । विक्रीप्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड छ । बैंकले चालू आवको चैत मसान्तसम्ममा रू. २ अर्बभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ८२ करोड नाफा कमाएको थियो । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ५२ करोड छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा इनगल्फिङ बुलिश आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा बुलिशमा रिभर्स हुने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ५० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ९३ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य र १४ दिने औसत मूल्यरेखा एकआपसमा जोडिन खोजेको छ । २६ दिने औसत मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ५५३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ५७० मा प्रतिरोध पाउने र सस्तिएमा रू. ५१० मा टेवा पाउने देखिन्छ ।