गण्डकी विकास बैंक : कम्पनी विश्लेषण (बिहीवार, १९ असार २०७६)
Jul 4, 2019
 
लगानी
कम्पनी विश्लेषण
बैंकको शेयरमूल्य १ वर्षको कारोबार अवधिमा अधिकतम रू. २२० पुगेको थियो भने न्यूनतम रू. १७७ पुगेको हो । बुधवार बैंकको शेयरमूल्य रू. २१४ कायम भएको छ । सो दिन बैंकको १० हजार ५४२ कित्ता शेयर खरीदविक्री भएको छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको हो । चैत मसान्तसम्ममा बैंकले रू. ३९ करोड ३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ३४ करोड ४ लाख नाफा कमाएको थियो । बैंकले चैत मसान्तसम्ममा रू. ७९ लाख ३८ हजार खराब कर्जा उठाएकाले र खुद ब्याज आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । बैंकको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड छ । रिजर्भ कोषमा रू. १ अर्बभन्दा बढी छुट्याएको छ । प्रतिशेयर आम्दानी (वार्षिक) रू. १८ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ६६ छ । हाल बैंकले ७७ ओटा शाखा कार्यालयबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ८६ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ८७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्य रेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. २१४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २२० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २०६ मा टेवा पाउने देखिन्छ ।