भनिन्छ– ‘नमरी स्वर्ग देखिँदैन’ । यस्तै भनेझैं भयो लक्ष्मी बर्तौलालाई । मकवानपुरको ग्रामीण बस्ती हाँडीखोला–२ मकरीमा २०२८ सालमा जन्मिएकी लक्ष्मीको बाल्यकाल सुख के हो भन्ने महसूस नै नभई बित्यो । जेठी छोरी भएकाले भाई बहिनी हुर्काउनेदेखि आमालाई भान्सा र बुबालाई खेतबारीको काममा सघाउने गर्नुपर्थ्यो उनले ।
‘पारिवारिक जिम्मेवारी के हो भनेर बुझ्न नपाउँदै परिवार र आफन्तले १६ वर्षमै विवाह गरिदिनुभयो,’ आफ्नो विगत सम्झँदै उनले भनिन्, ‘आफ्नो निर्णय आफैले गर्न सक्ने अवस्थामा थिइनँ, त्यसैले सहजै परिवारले भनेको मान्नुको विकल्प मसँग थिएन ।’
उनको विवाह माइती गाउँमा साधारण परिवारका अर्जुन बर्तौलासँग भएको हो । ‘विवाह गरेपछि जिम्मेवारी बढ्यो,’ उनले भनिन्, ‘परिवारकी एक्ली बुहारी अनि उमेर ढल्किँदै गरेका सासु–सुसुराको स्याहारसँगै परिवार चलाउने काममा श्रीमान्लाई सघाउने कामसमेत गर्नुपथ्र्यो ।’ परिवारमा एक छोरा र एक छोरीको खर्चको भार बढ्दै गएपछि उनले श्रीमान्लाई आफ्नो खेतीपातीमा मात्र नभई ज्यालदारी काममा समेत पठाउन थालिन् । यसरी केही वर्ष जसोतसो चले पनि उनको सपना पूरा हुन अझै सकेको थिएन । झन् सासु ससुरा दुवैको देहान्तपछि सामाजिक रीतिलाई पूरा गर्न ऋणको भारी बोक्नुपर्यो ।
गाउँका साहू–महाजनको चर्को ब्याजदर, एकमुष्ट रकम र धितो राख्ने यथेष्ट पूँजी नभएपछि उनीहरूको दिनचर्या झन् कष्टकर बनेको थियो । दुःखमा नआत्तिनू र सुखमा नमात्तिनू भनेझैं धैर्यपूर्वक उनले श्रीमान्लाई निरन्तर साथ दिइन् । ऋणको चापलाई थेग्न मुश्किल परेपछि आफूसँग भएको थोरै जग्गा बेच्ने निर्णयमा पुगिसकेको अवस्थामा लघुवित्त संस्थाबाट कर्जा लिएपछि समस्याबाट मुक्त भएको उनले सुनाइन् ।
परिवारको सल्लाहअनुसार लक्ष्मीले साधना लघुवित्तको समूहमा बस्ने निर्णय गरिन् । मनहरी–३ भुन्दु्रङमा गठन भएको समूहमा आबद्ध भई उनले पहिलोपटक १ लाख कर्जा लिएर साहूको केही ऋण चुक्ता गरिन् । ‘बाँकी रकमले किराना पसल सञ्चालन गरेँ,’ उनले भनिन् । यो कर्जाको अनुभवपछि आफूमा एक प्रकारको उत्साह थपिएको उनले बताइन् । लघुवित्त कम्पनीको सहज किस्ता भुक्तानी प्रणाली र बचत गर्ने बानीको समेत विकास गराउने परिपाटी उनलाई राम्रो लाग्यो । उनले दोस्रोपटक १ लाख ५० हजार ऋण लिएर गाईपालन व्यवसाय शुरू गरिन् । त्यसको आम्दानीले पारिवारिक खर्च धान्न सहज भएको उनले सुनाइन् । ‘अहिले साहूको ऋण पनि छैन,’ उनले भनिन्, ‘व्यवसायबाट पनि राम्रो आम्दानी भइरहेको छ ।’ आफ्नो व्यवसायमा श्रीमान् र छोराले समेत सघाएकाले अब परिवारमा दुःखका दिन नआउने विश्वास उनमा छ । आफ्नो दुःखका दिनमा लघुवित्तले सघाएको सम्झँदै उनले भनिन्, ‘लघुवित्त दुःखी–गरीबका साथी हुन् ।’
सामग्री स्रोत : साधना लघुवित्त वित्तीय संस्था