काठमाडौंको वसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजले कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी र विज्ञान संकायमा अध्यापन गराउँदै आएको छ । शैक्षिक गुणस्तरमा आईएसओ ९००१ः२०१५ प्रमाणपत्रप्राप्त यो कलेज २०६६ सालमा स्थापना भएको थियो । १३६ जना विद्यार्थीबाट अध्यापन थालेको उक्त कलेजमा हाल ३ हजार ४ सय विद्यार्थी छन् ।
कलेजले ई–लर्निङ, ई–लाइब्रेरी तथा पावर प्वइन्ट प्रिजेन्टेशनमार्फत शिक्षण सिकाइ गरिरहेको कलेजका सहप्राचार्य हरिसिंह केसीले बताए । ‘शिक्षण पद्धति र व्यवस्थापन पद्धतिलाई मजबूत बनाउन हामीले हार्दिक वातावरणमा पठनपाठन गराइरहेका छौं,’ उनले भने । उक्त कलेजमा नीतिगत शिक्षा, सकारात्मक सोच, व्यक्तित्व विकास लगायतलाई ध्यानमा राखेर अध्यापन गराइने उनले बताए । यही कारण यहाँ पढेका विद्यार्थीले अन्तरराष्ट्रिय स्तरमा राम्रो शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको उनको भनाइ छ ।
कलेजले शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, त्रिभुवन विश्वविद्यालय लगायत संस्थाहरूसँगको सहकार्यमा संयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । समय व्यवस्थापन, क्षमतावान् बन्ने कला, परीक्षामा राम्रो अंकसँगै चुनौती समाधानका तरीका लगायतबारे कलेजले प्रशिक्षणसमेत दिने गरेको सहप्राचार्य केसीले बताए ।
अनुसन्धान शिक्षा र सामाजिक उत्तरदायित्वलाई समान रूपमा अगाडि बढाउन साउथ वेस्टर्न एकेडेमी रिसर्च सेन्टरको स्थापना गरिएको कलेजले बताएको छ ।