कक्षा ११ मा भर्ना हुने उमेर भनेको १५/१६ को हुन्छ । यो बेला बालबालिकाको शारीरिक विकासको क्रम जारी हुनुका साथै जीवनको निर्णय लिन सक्ने उमेर पनि भएको हुन्छ । यो उमेरका बालबालिकाले मैले अहिले लिएको निर्णय जीवनपर्यन्त हुन्छ भन्ने बुझेका पनि हुन्छन् । त्यसैले उनीहरूमा आफ्नो जीवनलाई राम्रो बनाउन अहिलेको समयमा के गर्दा राम्रो हुन्छ भन्नेमा निकै नै द्विविधा पर्छ । यो समयमा मनमा धेरै कुरा खेल्ने र आफ्ना इच्छा आकांक्षासँगै करीअर कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच हुन्छ ।
साथीहरूको निकै नै महत्त्व हुने यो उमेरमा उनीहरू सकेसम्म आफू पढ्ने विद्यालयमै साथीलाई पनि ल्याउन खोज्ने वा साथीहरू पढेकैमा आपूm पढ्न खोज्छन् । यस्तोमा किन तिमी त्यो स्कूलमा गएको, यसमा जानुपर्ने, यसो गर्नुपर्ने भन्दा अभिभावक र बालबालिकाबीच द्वन्द्व पैदा हुन सक्छ । अभिभावकले द्वन्द्व पैदा हुने किसिमले नभई अलिकति रणनीतिक ढंगले व्यवहार गर्नु पर्दछ ।
कुनै पनि कलेजमा वा कुनै पनि विषय बालबालिकाले पढ्न चाहन्छन् भने अभिभावकले यो कलेज राम्रो, यो विषय राम्रो भनेर दबाब दिनु हुँदैन । किनभने सफलता प्राप्तिमा कलेज वा विषयभन्दा पनि विद्यार्थीको इच्छाशक्ति बढी महत्त्वपूर्ण हुन्छ । अभिभावकको जमानामा छनोट गर्ने ४/५ ओटा मात्र विषय हुन्थे भने अहिले सयौं विषय छन् । जतिजति समय बित्दै गयो, त्यति त्यति नयाँ नयाँ क्षेत्रमा अवसर सृजना हुँदै पनि गएका छन् । आफ्ना बच्चाको इच्छा नहेरी अरूलाई सोधेर वा अरूले कुनै विषयमा राम्रो गरेको देखेको भरमा यही राम्रो हुन्छ भनेर कर गर्नु पनि हुँदैन । आफ्नो बच्चाको लगनशीलता केमा छ, त्यहीअनुसार उसलाई विषय छनोटमा मद्दत गर्नुपर्दछ ।
अहिले कक्षा ११ मा भर्ना हुने विद्यार्थी पढाइ (कम्तीमा ब्याचलर) सकेर बजारमा आउने भनेको अर्को ६ वर्षपछि हो । त्यति बेलासम्म नयाँ नयाँ अवसरहरू आइसकेका हुन सक्छन् । मैले १६ वर्ष अघि मनोविज्ञान विषयमा पढाइ सक्दा खासै अवसर थिएन । तर बदलिँदो समयमा मानिसमा बढ्दै गएको मानसिक स्वास्थ्यप्रतिको चेतना, भूकम्प पछि ठूलो संख्यामा परेको मनोवैज्ञानिक उपचारको आवश्यकताले यो क्षेत्रमा ठूलो अवसर सृजना भएको छ ।
इच्छाशक्तिका साथ पढ्ने हो भने जुनै विद्यालयमा जुनसुकै विषय पढे पनि सफलता प्राप्त हुन्छ । आप्mनो इच्छा लागेको विषय हो भने मात्र बुझेर पढिन्छ, खोजिन्छ, जानिन्छ र त्यसले सफलता दिलाउँछ । पढेर, राम्रो नम्बर ल्याएर पास भएर मात्रै सफलता प्राप्त हुँदैन । त्यसैले अभिभावकको भूमिका भनेको केवल सहयोग गर्ने र निगरानी गर्ने हो ।
अहिलेको समयमा एउटा निगरानीको जरुरत मोबाइलको प्रयोगमा पनि पर्दछ । अभिभावकले ‘एसईई सकाऊ वा एसईईमा यति ग्रेड ल्याऊ, अनि मोबाइल दिन्छु वा स्मार्टफोन दिन्छु,’ भनेर एउटा गल्ती गर्छन् । अथवा बच्चाले पनि ‘मैले यो ग्रेड ल्याएँ भने मलाई यो मोबाइल दिनुपर्छ,’ भनेर घूस माग गरिसकेको हुन्छ र अभिभावक पनि समय र आवश्यकताअनुसार ठीकै त हो भनेर यसमा सहमत भइसकेका हुन्छन् । उसले मोबाइलमा के गर्छ भन्नेमा अभिभावकको निगरानी भएन वा बढी समय मोबाइलमै व्यस्त हुन दिइयो भने उसको लक्ष्य प्राप्त हुन सक्दैन ।
कक्षा ११ मा पढ्ने उमेरका बालबालिकालाई निगरानीमा राखी रणनीतिक हिसाबले अभिभावकले सहयोग गर्ने हो भने उनीहरूको जीवनलाई उपयुक्त आकारमा ढाल्न मद्दत मिल्छ । यसका लागि अभिभावकले साथी बनिदिनु आवश्यक हुन्छ । बालबालिकाका कुरा सुन्ने, उनीहरूसँग कुरा गर्ने, स्कूलले बोलाएको बेलामा सकेसम्म दुवैजना अभिभावक वा नसके कम्तीमा एकजना अनिवार्य जाने, खासगरी बुबाहरूले बेलुकाको समयमा आफ्ना बालबालिकासँग समय बिताउने गर्नु निकै सहयोगी हुन्छ ।
बिहानको कक्षा पढ्ने बालबालिकाहरू बिहान खानपिन राम्रो नहुने वा नखाई घरबाट हिँड्ने र १ बजेसम्म पनि राम्रोसँग नखाई एकैचोटि घर आएर खाने पनि भेटिएको छ । यस्तो अवस्थामा बालबालिकामा पोषणको कमी, निद्राको कमी, पानीको कमीले पढाइमा राम्रो गर्न नसक्ने पनि अवस्था हुन्छ । त्यसैले अभिभावकले बिहानै कुनै खाजा खुवाएर वा खाजा दिएर पठाउने हो कि, पर्याप्त खाना, पानी र निद्राको सन्तुलन कसरी मिलाउने भन्नेमा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
पढाइ मात्रै नभई बच्चालाई अरू केके कुराहरूमा संलग्न गराएर उसको व्यक्तित्व विकास गराउन सकिन्छ भन्नेमा पनि अभिभावकले ध्यान दिनु आवश्यक छ । यसपछिको पढाइको क्रममा उनीहरू बाबुआमाबाट टाढा वा संसारका अन्य कुनै देशका विश्वविद्यालयमा पनि पढ्न जालान् । त्यसैले यही २ वर्ष नै अभिभावकले बालबालिकालाई आफूसँग राखेर कोसँग कसरी व्यवहार गर्ने, अरूसँग कसरी घुलमिल हुने, के कुरा कहाँ कसरी गर्ने, कस्तो परिस्थितिको सामना कसरी गर्ने जस्ता कुरा सिकाउने अन्तिम अवसर हो ।
आजभोलि होस्टेलमा राखे राम्रो हुन्छ, राम्रो ग्रेड आउँछ भन्ने मान्यताले घरमा सँगै राखेर दैनिक विद्यालय आउजाउ गर्न सक्ने अवस्थामा पनि होस्टेलमा राखेर पढाउने चलन छ । बालबालिका दिनभरिमा आधा समय विद्यालयमा रहे पनि बाँकी आधा समय घरमै रहन्छन् । त्यसैले उनीहरूको यसभन्दा अगाडिको जीवनको दिशा र सफलता निर्धारणमा घरको वातावरण र सिकाइ पनि विद्यालयले दिने जत्तिकै महत्त्वपूर्ण हुन्छ । घरमा रहेका बालबालिकाले सामाजिक व्यवहार देख्छन्, सहभागी हुन्छन् र सिक्छन्, घरको समस्या, पीडा देख्छन् र संवेदनशील हुन्छन् ।
(आर्थिक अभियानकर्मी दुर्गा लामिछानेले गरेको कुराकानीमा आधारित)