काठमाडौं । एसईईको नतीजापछि कुुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने निक्र्योल गर्न विद्यार्थीहरूलाई प्रायः मुश्किल हुन्छ । त्यसैले, शिक्षकहरू विद्यार्थीले साथीको लहलहैमा लागेर वा कलेजको प्रभोलनमा परेर विषय तथा कलेज छनोट गर्न नहुने सल्लाह दिइरहेका हुन्छन् ।
शिक्षाविद् महाश्रम शर्मा भन्छन्, ‘अरूको लहलहैमा विषय छान्दा पछुताउनुपर्ने हुन्छ ।’ उनका अनुसार शुरूमा हरेक अभिभावक र विद्यार्थीले पाठ्यक्रममा आधारित सक्षमता हासिल गर्न सिकाइ केन्द्रित शैक्षिक वातावरण, आप्mनो परिवारको आर्थिक अवस्थाले धान्न सक्ने शैक्षिक संस्था र विषय छनोट गर्नुपर्छ । यसैगरी छात्रवृत्तिलगायत सुविधा, सहुलियतको उपलब्धता, शैक्षिक कार्यक्रम सञ्चालन गर्न आधिकारिक निकायबाट लिएको अनुमति/स्वीकृति, अध्ययनपश्चात् कामको क्षेत्रमा सहभागी हुन पाउने रोजगारीको सम्भावना जस्ता विषयमा पर्याप्त सूचनासहित परामर्श लिनु उपयुक्त हुने पनि उनको सुझाव छ ।
कहाँ अध्ययन गर्ने, कस्तो विषय वा शैक्षिक धार पढ्ने भन्ने कुराको पनि यकिन नगर्दा धेरैजनाले ११ कक्षामै हीनताबोध गर्ने गरेको मनोविद् डा. गंगा पाठक बताउँछिन् । खासमा रोजेको विषय अध्ययनका लागि छनोट गर्न लागेको विद्यालयको आधारभूत भौतिक, मानवीय र सूचना तथा प्रविधिसहितको पूर्वाधार छ कि छैन, शैक्षिक क्रियाकलाप, अतिरिक्त क्रियाकलाप लगायतको प्रबन्ध भए/नभएको पनि बुझ्नुपर्छ । सम्बन्धित कलेजले जीवनोपयोगी र रोजगारमुखी हुनेगरी अध्यापन गराउँछ कि परीक्षामुखी भएर भन्नेमा पनि सजग रहनुपर्छ ।
विद्यार्थीले पनि आफ्नो रुचि, चाहना र क्षमताको विषय क्षेत्रको बारेमा थप परामर्शका लागि आफ्ना अभिभावक, आफूले अध्ययन गरेको विद्यालयका शिक्षक–शिक्षिकासँग पनि परामर्श लिनुपर्छ । शिक्षाविद् शर्माका अनुसार आफ्नो रुचि, चाहना र क्षमता सबैभन्दा बढी आफैलाई थाहा हुन्छ । त्यसैले भोलि रोजगारी पाउने सम्भावना भएको र गुणस्तरीय जीवन जिउन सक्ने लागेको विषय वा शैक्षिक धार छनोट गर्नुपर्ने हुन्छ ।
सरल विषय पढेर सहज ढंगले पास हुन सजिलो विषय पढ्ने र प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्न विज्ञान नै रोज्ने प्रवृत्ति राम्रो होइन । वास्तवमा दक्षता हासिल गर्न सकियो भने सबै विषयको महत्त्व उत्तिकै छ ।
विश्वमा पढ्ने विषयहरू अनेकौं छन् । तर, नेपालमा थोरै विषय मात्र उपलब्ध छन् । नेपालको हकमा उपलब्ध विषयमार्फत नै पछि गएर जुनसुकै विषयमा विज्ञता हासिल गर्न सकिन्छ । बीमा, जेनेटिक साइन्सलगायत विषय नेपालमा पढाइ हुँदैन । नेपालमा एसईईपछि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विषय राष्ट्रिय परीक्षा बोर्ड (पहिलेको एचएसईबी) अन्तर्गत अध्ययन गर्न पाइन्छ ।
हाल नेपालमा संस्थागत रूपमा विभिन्न संस्थाले उच्च शिक्षा पढाइरहेका छन् । विद्यार्थीहरू एसईईपछि राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११, सीटीईभीटी, ए लेभल वा भारतलगायत मुलुकका परीक्षा बोर्डअन्तर्गतका विद्यालयमा भर्ना हुन पाउँछन् । एसईई परीक्षा उत्तीर्णपछि सीटीईभीटीले स्वास्थ्य तथा इन्जिनीयरिङमा तीनवर्षे डिप्लोमा, नर्सिङ तथा ‘१५ महीने शर्ट टर्म’ कोर्सका रूपमा टेक्निकल पढाइ सञ्चालन गरिरहेको छ ।
एसईईमा ई ग्रेड ल्याएका विद्यार्थीलाई शीपमूलक तालीमका साथमा प्राविधिक शिक्षा दिने उद्देश्यले २९ महीने प्राविधिक पढाइ पनि सञ्चालन भइरहेको छ । उनीहरूले सो तह उत्तीर्ण गरी सोही विषयमा डिप्लोमा गर्न सक्ने प्रावधान पनि छ ।
यसरी छानौं उपयुक्त विषय
धेरै अभिभावक तथा विद्यार्थीले समयमै उपयुक्त विषय छनोट गर्न नसक्दा उच्च तहमा पुगेर अलपत्र पर्ने गरेको पाइन्छ । धेरैजसो विद्यार्थीले कक्षा १२ पछि आपूmले पढेको विषय बदल्ने गरेको उदाहरण पनि प्रशस्त पाइन्छ । विगत वर्षहरूमा प्लस २ मा विज्ञान पढेका विद्यार्थी माथिल्लो तहमा अन्य विषय अध्ययन गरेको उदाहरण धेरै छ ।
विद्यार्थीको क्षमता र इच्छाअनुसार विषय छनोट गर्न नसक्दा उच्च तहमा गएर विषय मात्र होइन, संकाय नै बदलेको प्रशस्त घटनाहरू छन् । एसईई दिएका विद्यार्थीले कस्ता विषय रोज्ने ? त्यो विषय अध्ययन गरेका जनशक्तिको बजारमा कस्तो माग छ ? रोजेको विषय पढेर पूरा गरेपछि समाजमा त्यसको कस्तो स्टाटस हुन्छ जस्ता कुराहरूले विद्यार्थीलाई अलमलमा परेको पाइन्छ । कुनै पनि विद्यार्थीले आफ्नो विषय छान्दा त्यो विषयमा स्वदेश तथा विदेशमा माग कस्तो छ, हेर्नुपर्ने समय आइसकेको छ । त्यति मात्र होइन, विषय छान्दा विद्यार्थीले लगानीको प्रतिफल दिने तथा समाजमा राम्रो स्टाटस दिन सक्ने विषय छान्नुपर्छ ।
विश्व बजारलाई हेर्दा सीए, बीबीए, बीबीएस, एमबीएस, एमबीए, आईटी, इन्जिनीयरिङलगायत प्राविधिक विषयको माग राम्रो देखिन्छ । समाजमा पनि यस्ता विषय पढ्ने व्यक्तिलाई फरक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ । यस कारण आफ्नो क्षमता भए उच्च तहमा यस्ता विषय अध्ययन गर्न सहज हुने गरी कक्षा ११ बाटै अध्ययन नियमित गराउनु उपयुक्त हुन्छ । अब कक्षा ११ र १२ को अध्ययनपछि अन्तरराष्ट्रिय गुणस्तरका कोर्स अध्ययनका लागि विदेश जानुपर्ने अवस्था छैन । नेपालमै विभिन्न किसिमका प्राविधिक तथा साधारण कोर्सका लागि नेपाली विश्वविद्यालयदेखि विदेशी विश्वविद्यालयका कार्यक्रम छन् । त्यस्ता विषयहरू निजी स्तरका विभिन्न कलेजले समेत पढाउँदै आएका छन् । प्राविधिक शिक्षा अध्ययन गर्नुअघि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । प्राविधिक शिक्षा पढ्नुअघि कुनै पनि विद्यार्थीले पढ्न लागेको विषयको नेपाल र विश्वमा माग छ कि छैन, आफूले पढ्न सक्छु/सक्दिनँ भनेर विषयको बारेमा बुझ्नुपर्छ । साथै उक्त विषय पढ्न आफ्नो आर्थिक अवस्थाले भ्याउँछ कि भ्याउँदैन भनेर पनि पहिले नै विचार गर्नुपर्छ ।
विद्यार्थीले अध्ययन गर्न खोजेको विषयको कार्यक्रम कुन विश्वविद्यालयमा छ, त्यसबारे पहिले ध्यान दिनुपर्छ । नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र निजी विश्वविद्यालयबाट समेत विभिन्न संकायका कार्यक्रमहरूको अध्यापन हुने गरेको छ । यसैगरी केही निजी कलेजहरूले विदेशी विश्वविद्यालयका कोर्सहरू पनि अध्यापन गराएका छन् । माध्यमिक तहमा विषय छनोटका लागि अधिकांश विद्यार्थीले एसईईको प्राप्तांकलाई आधार बनाउँछन् । विशिष्ट तथा प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीले विज्ञान विषय नै पढ्नुपर्ने मान्यता छ । कम प्राप्तांक आएको विद्यार्थीले भने व्यवस्थापन, मानविकी तथा शिक्षा विषय लिनुपर्ने पुरानो चलन छ । तर, एसईईको प्राप्तांकभन्दा पनि आफ्नो रुचि प्राथमिकतामा राख्नुपर्दछ ।
प्लस टुमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले पछि धेरैओटा क्षेत्रमा प्रवेश पाउँछन् । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थी तुलनात्मक रूपमा मेहनती र लगनशील हुनु जरुरी भएको मान्यता छ । विज्ञान विषय अध्ययन गर्ने धेरैजसो विद्यार्थीको दीर्घकालीन लक्ष्य मेडिकलमा एमबीबीएस÷एमडी गर्नु नै हुने गर्छ । त्यस्तै उनीहरूले इन्जिनीयरिङ पनि अध्ययन गर्न सक्छन् । बैंक तथा वित्तीय संस्था र व्यवस्थापकीय क्षेत्रमा काम गर्न चाहने विद्यार्थीले व्यवस्थापन संकाय अध्ययन गर्छन् । व्यवस्थापनका विद्यार्थीले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा काम गर्ने अवसर पाउँछन् । अहिले विद्यार्थीहरूले जनरल म्यानेजमेन्ट मात्र नभई होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिजम पनि रोज्ने गरेका छन् । त्यस्तै मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीले सामाजिक विज्ञानको अध्ययन गर्न पाउँछन् । मानविकी संकायमा धेरै नयाँ विषयले प्रवेश पाएका छन् । मानविकी संकायअन्तर्गतका समाजशास्त्र÷मानवशास्त्र, आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यार्थीको आकर्षण बढी छ । शिक्षण पेशा अँगाल्न चाहने विद्यार्थीले शिक्षाशास्त्र संकाय अध्ययन गर्न सक्छन् । कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अध्ययन गरेका विद्यार्थीले स्नातक तहमा मानविकी संकाय पनि पढ्न पाउँछन् ।
संकाय र यसका क्षेत्रविज्ञान संकाय
१. मेडिकल फिल्ड
२. पाइलट
३. इन्जिनीयर
४. वैज्ञानिक
कम्प्युटर वैज्ञानिक
कृषि वैज्ञानिक
भूगोल वैज्ञानिक
रसायन वैज्ञानिक
५. भूगर्भविद्
व्यवस्थापन संकाय
१. बैंकर
२. सीए
३. व्यापारी
मानविकी संकाय
१. पत्रकार/मिडियाकर्मी/फोटोग्राफर
२. वकिल
३. राजनीतिशास्त्री
४. समाजशास्त्री
५. मानवशास्त्री
शिक्षा संकाय
१. शिक्षक
सीटीईभीटीअन्तरगतका क्षेत्र
१. मेडिकल