काठमाडौं । यतिबेला विद्यालयहरूमा धमाधम भर्ना चलिरहेको छ । अभिभावक र एसईईका विद्यार्थी विद्यालय छान्न यताउता दौडिरहेका छन् । विद्यालय छान्नुअघि विद्यालय तथा कलेजले कस्ता सुविधा दिएका छन् भन्नेबारे बुझ्न जरुरी छ ।
भौतिक साधन र सुविधा मात्र हेरेर विद्यालय छान्ने प्रचलन गलत हो । बाहिरी देखाइ–बुझाइको आधारमा छान्नुभन्दा सम्बन्धित विद्यालयको आधारभूत सुविधा, शैक्षिक गुणस्तर, सम्बधित विषय शिक्षकको दक्षता, योग्यता लगायतमा पनि ध्यान दिनुपर्ने शिक्षाविद् डा. प्रेम फ्याक बताउँछन् । ‘कलेजको आकर्षक विज्ञापन हेरेर होइन, त्यहाँकोे व्यवस्थापकीय अवस्था लगायतबारे जाने–बुझेर पूर्वविद्यार्थीबाट प्रतिक्रिया समेत लिन सकिन्छ,’ उनले भने, ‘आफ्नो आर्थिक क्षमताले नधान्ने (महँगो) विद्यालयमा पढ्ने निर्णय गर्दा भोलिको दिनमा समस्या हुन सक्छ । यस्तोमा अभिभावकले खर्च व्यवस्थापन गर्नै मुश्किल पर्छ र विद्यार्थीले निश्चिन्त भएर पढ्ने वातावरण पनि मिल्दैन । परिवारले निर्धक्कसँग लगानी गर्न सक्ने र विद्यार्थीले पनि चिन्तामुक्त भएर पढ्ने सक्ने कलेज छान्नुपर्छ ।’
कसैको दबाबमा कलेज छान्नु हुँदैन । आफूलाई जुन क्षेत्रमा रुचि छ, त्यो क्षेत्रमा राम्रो पढाइ हुने कलेज छान्नुपर्छ । यसबाहेक शैक्षिक संस्थामा शिक्षक (फ्याकलटिज)को अवस्था, भौतिक पूर्वाधार, मनोवैज्ञानिक र करीअर तथा उत्प्रेरणामूलक परामर्श, अतिरिक्त क्रियाकलाप, विषय लगायत सुविधाबारे जान्न जरुरी छ ।
फ्याकल्टिजको अवस्था
कम सुविधा दिइएका तथा कमजोर शैक्षिक योग्यता भएका शिक्षकहरू भएको विद्यालय अन्य कुरामा जतिसुकै अब्बल देखिए पनि शिक्षण सिकाइका लागि भने अब्बल नहुन सक्छन् । चाँडाचाँडो शिक्षक फेरिइरहने विद्यालयका विद्यार्थीले निकै कम सिक्छन् । शिक्षकहरू जति सक्रिय हुन्छन्, त्यति शिक्षण सिकाइ त्यति नै प्रभावकारी हुन्छ । शिक्षकलाई प्रोत्साहन गर्ने विषय राम्रो तलब, मूल्यांकन, पुरस्कार आदि हुन् । वृत्ति विकासको सम्भावना भएको विद्यालयमा शिक्षकहरूको स्थायित्व हुन्छ । साथै पार्ट टाइमभन्दा फुल टाइम भएका शिक्षक भएको कलेजमा अध्यापन राम्रो हुन्छ । यस्ता शिक्षकहरू आफ्नो कामप्रति बढी जिम्मेवार पनि हुन्छन् । तर पार्ट टाइमका शिक्षक धेरै कलेजमा आबद्ध हुने भएकाले एक त आफै दबाबमा हुन्छन् र अर्कोतर्फ जिम्मेवारीबोध कम हुन सक्छ ।
भौतिक पूर्वाधार
विद्यार्थीले अभिभावकलाई सँगै लिएर विद्यालय तथा कलेजको भ्रमण गरेर भौतिक पूर्वाधारबारे बुझ्नु राम्रो हुन्छ । कलेज भ्रमण गर्दा त्यहाँको भौतिक, शैक्षिक तथा अन्य अवस्थाको राम्रोसँग अध्ययन गर्नुपर्छ । एसईई गरेका विद्यार्थीलाई सबैभन्दा महत्त्वपूर्ण पक्ष खेलकुद गतिविधि पनि हो । यो उमेरमा विद्यार्थीको शारीरिक र मानसिक विकास एकसाथ भइरहेको हुन्छ । त्यसकारण खेलकुद र अतिरिक्त क्रियाकलापको बढी खाँचो पर्छ । यसबाहेक ल्याब, पुस्तकालय, सरसफाइ तथा अन्य अत्यावश्यक पूर्वाधारको उपलब्धताबारे जानकारी लिनुपर्छ । आफू दिनभर बस्ने, पढ्ने खेल्ने ठाउँको भौतिक अवस्था कस्तो छ भन्नेमा पनि ध्यान दिनुपर्छ । ठूला र आकर्षक भौतिक संरचना हुँदैमा अध्ययन–अध्यापन पनि राम्रो हुन्छ भन्ने हुँदैन । तर पनि उपयुक्त भौतिक संरचनाको आवश्यकता भने पर्छ । कक्षाकोठा, पुस्तकालय, खेल्ने चौर, प्राथमिक उपचार, खानेपानी, शौचालय, प्रयोगशाला आदिको राम्रो व्यवस्था छ/छैन भन्ने हेर्नैपर्छ । साथै छात्रामैत्री शौचालय भए/नभएको थाहा पाइराख्नुपर्छ ।
मनोवैज्ञानिक तथा प्रेरणामूलक परामर्श
११–१२ कक्षा अध्ययन गर्ने विद्यार्थी सामान्यतया किशोरावस्थामै हुन्छन् । यो अवस्थामा उनीहरू साथीसंगतले गर्दा कुलतमा फस्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा उनीहरूलाई मनोवैज्ञानिक परामर्शको खाँचो पर्छ । त्यसैले सम्बन्धित शिक्षण संस्थामा यो व्यवस्था भए/नभएको बुझ्नुपर्छ । यसमा अभिभावकले पनि ध्यान दिनुपर्छ । यसैगरी कतिपय विद्यार्थी अध्ययनमा कमजोर देखिने, पढाइमा अल्छी गर्ने, अनावश्यक विषयवस्तुमा सोच्ने, साथीसंगतले बरालिने, निराश हुने गरेको पाइन्छ । विद्यार्थीको उक्त समस्या न्यूनीकरणका लागि विद्यालय तथा कलेजले उनीहरूको अध्ययनमा थप टेवा पुग्नेगरी प्रोत्साहन तथा उत्प्रेरणा दिनुपर्छ ।
करीयर परामर्श
विद्यार्थीहरू अध्ययन सकेपछि आफ्नो करीअर कहाँबाट शुरू गर्ने, अब थप के विषय लिने, काम के कसरी गर्ने लगायतबारे दोधारमा हुन सक्छन् । यस्तो परिस्थितिमा उनीहरूलाई सही सुझाव तथा मार्गनिर्देश जरुरी हुन्छ । यसका लागि कलेज/विद्यालयले करीअर परामर्शको व्यवस्था गर्नुपर्ने हुन्छ । यद्यपि कतिपय कलेजले जब प्लेसमेन्टको समेत व्यवस्था गरेका हुन्छन् ।
शैक्षिक संस्थाको अघिल्लो वर्षको नतीजा
यसका लागि पूर्व विद्यार्थीलाई सोध्न सकिन्छ । विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरू उच्च अध्ययनका लागि कहाँ कहाँ जाने गरेका छन्, उनीहरूको सफलताको प्रतिशत कस्तो छ भन्ने कुराले विद्यालयको स्तर मापन गर्छ । एसईईको ग्रेडभन्दा पनि उत्तीर्ण गरेपछि विद्यार्थीहरू कहाँ कहाँ भर्ना हुन गएका छन्, उच्च शिक्षामा कत्तिको सफलता प्राप्त गरेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हुन्छ ।
बसाइ र विद्यालयको दूरी
राम्रो विद्यालयको नाममा कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई धेरै टाढाको विद्यालयमा भर्ना गरिदिन्छन् । काठमाडौंको जाममा उनीहरू घर आइपुग्दा साँझ नै पर्न सक्छ । कलेज जाँदा पनि हतार हुन्छ भने बेलुका पनि थाकेर घर आइपुग्छन् । यस्तोमा गृहकार्य गर्ने र आरामको समय पनि बच्दैन । घरमा अतिरिक्त काम गर्ने त फुर्सद नै हुन्न । बढी टाइट सेड्युलका कारण दैनिक जीवन नै अस्तव्यस्त बन्न पुग्छ । त्यसैले तुलनात्मक रूपमा नजीक पनि रहेको र पढाइ पनि राम्रो भएको विद्यार्थीको छनोटमा ध्यान दिनुपर्छ ।
अध्ययनको स्वतन्त्रता
कतिपयले एसईईको परीक्षाफल हेरेर सम्बन्धित विद्यालय राम्रो÷नराम्रो भन्ने गरेको पाइन्छ । प्राप्तांकलाई नै गुणस्तरको आधार मान्नेहरू पनि हुन्छन् । तर यो गलत बुझाइ हो । ग्रेड कम भए पनि विद्यार्थीमा अध्ययनशीलता, प्रश्नशीलता र स्वतन्त्र लेखपढ गर्न सक्ने क्षमताको विकास गर्न सक्ने विद्यालय राम्रो हुन्छ । परीक्षा नजीकिएपछि बिहान–बेलुका पाठ्यपुस्तक घोकेर बढाएको ग्रेड अर्थहीन हो । पाठ्यक्रम घोकाउने र गृहकार्यको भारी बोकाउने शिक्षक शैलीप्रति विद्यार्थी नै विरक्त हुन्छन् । विद्यालयले आफ्ना विद्यार्थीलाई ठिक्क पढाओस्, तर प्रश्नशील बनाओस् । उत्तर खोज्ने बानी बसाले विद्यार्थीले आफै पनि धेरै कुरा सिक्छन् ।
सानाभन्दा ठूला विद्यालय रोजौं
धेरैको सोच हुन्छ, सानो विद्यालयमा थोरै विद्यार्थी हुन्छन् र हेरविचार राम्रो हुन्छ । एक अर्थमा यो सही हो, तर व्यक्तित्व विकासका लागि भने यस्तो विद्यालय त्यति सहयोगी हुन्नन् । विद्यालयको पढाइ भनेको विद्वान् बनाउनु होइन, सिकाइका साथै सामाजिकीकरण पनि गर्नु हो । विद्यालय जति ठूलो हुन्छ, विद्यार्थीले त्यति धेरै साथी बनाउँछन् ।
किताबबाट मात्र होइन, आफ्ना साथीभाइबाट पनि धेरै कुरा सिकिन्छ । ठूला विद्यालयका राम्रा/नराम्रा दुवै पक्ष हुन्छन्, तर पनि ठूला विद्यालयमा पढ्ने विद्यार्थीमा आत्मविश्वास बढी हुने गरेको पाइन्छ । धेरै साथी बन्ने भएकाले व्यावसायिक र व्यावहारिक जीवनमा पपि निकै सहयोग मिल्छ । ठूला विद्यालयमा भिन्न भिन्न पारिवारिक पृष्ठभूमि, फरक जात, भूगोल, भाषा र संस्कृतिका साथी बन्छन् । ठूला विद्यालयमा पढेका विद्यार्थीले समूहमा कसरी प्रस्तुत हुने, भीडमा खराबबाट कसरी बच्ने भन्ने पनि सिक्छन् । यद्यपि संगतकै कारण विद्यार्थी खराब बाटोमा लाग्नेतर्फ भने अभिभावक सचेत हुनुपर्छ ।
विद्यालयको नेतृत्व
विद्यालयको दृष्टिकोण, लक्ष्य योजनामा विद्यालयका प्रधानाध्यापक र सञ्चालक समितिको भूमिका विशेष हुन्छ । शिक्षा सम्बन्धमा स्पष्ट दृष्टिकोण भएका, मनोविज्ञान र शिक्षण शैली आदिका बारेमा जानकार प्रधानाध्यापक भएको विद्यालयले विद्यार्थीका हरेक समस्याको सही समाधान गर्छ । व्यक्तिगत प्रभाव र सोचमा चलेको विद्यालयभन्दा संस्थागत विकास भएको विद्यालयमा सिकाइको स्तर उच्च हुने सम्भावना बढी हुन्छ । विद्यालयको स्तर, पढाइ र शैक्षिक क्रियाकलापको प्रभावकारिता मुख्यतः प्रधानाध्यापकमा निर्भर हुन्छ ।
अतिरिक्त क्रियाकलाप र विषय
व्यक्तित्व विकासका लागि पढाइसँग अतिरिक्त क्रियाकलाप र विषय आवश्यक हुन्छ । विद्यार्थीको व्यक्तित्व विकासका लागि पढाइ र परीक्षासँग सीधा सम्बन्ध नभए पनि विद्यार्थीमा अन्तरनिहित प्रतिभा चिनेर उजागर गर्न यस्ता क्रियाकलाप निकै सहयोगी हुन्छन् । यसले बौद्धिक ज्ञान बढाउने, सक्रिय बनाउने र नेतृत्व गर्ने क्षमतासमेत बढाउँछ । वादविवाद, वक्तृत्वकला, नृत्य, नाटक, खेलकुद, परियोजना कार्य (प्रोजेक्ट वर्क), शैक्षिक भ्रमण, समाजसेवा जस्ता विविध क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउने विद्यालय उत्तम हुन्छ । साथै पाठ्यक्रमले तोकेका पुस्तकको मात्र नभई त्यससँग सम्बन्धित अन्य विषयको ज्ञान दिँदा विद्यार्थीको सोच्ने क्षमता र बुझाइको दायरा बढ्छ ।