साधारण शिक्षकले विद्यार्थीलाई विषयवस्तु सुनाउँछन्,राम्रा शिक्षकले व्याख्या गर्छन्, उत्कृष्ट शिक्षकले डेमोन्स्ट्रेट गर्छन् । – विलियम अर्थर
सुमन कट्टेल काठमाडौं । विद्यालय कत्तिको राम्रो छ भन्ने कुराको निर्धारण भौतिक पूर्वाधार र त्यहाँको व्यवस्थापनले त देखाउँछ नै, शिक्षकहरू शिक्षण सिकाइमा कत्तिको समर्पित छन् भन्ने विषयले पनि धेरै महत्त्व राख्छ, जसमा अभिभावकको ध्यान गएको हुँदैन । शिक्षणलाई पेशा मात्र ठान्ने शिक्षकले ज्ञान र शीपको हस्तान्तरण प्रभाकारी ढंगले गर्न सक्दैन । त्यसैले शिक्षणलाई ‘प्रोफेशन विथ प्याशन’ भनिन्छ । हाम्रो देशको शिक्षण शैली परम्परागत प्रवचनमा आधारित वर्णनात्मक शैलीको छ । त्यसैले शिक्षण भनेको विषयवस्तुको वर्णन गर्ने, कण्ठस्थ गर्न लगाउने, घोकाउने जस्ता कुरामा सीमित भएको छ । शिक्षाशास्त्र नपढेका शिक्षकहरू विषयको विज्ञ भए पनि अध्यापनशैलीमा पनि अब्बल हुँदैनन् । सरकारले शिक्षण सिकाइ प्रभावकारी बनाउन टिचिङ म्यानुयल अर्थात् शिक्षण निर्देशन पुस्तिका तयार पारेको छ । तर त्यसको उपयोग कमैले गरेको पाइन्छ । कक्षा ११ र १२ का विद्यार्थी आफूलाई कलेज पढ्ने मान्छन्, विद्यालयहरू पनि आफूलाई कलेज नै भन्छन् । उनीहरूले आफूलाई विद्यालय नभनेसम्म यो तहको पढाइ पूर्ण रूपमा विद्यालय स्तरको मान्न सकिँदैन । यही कारण कक्षा ११ र १२ को शिक्षण सिकाइ कलेज तहको जस्तो प्रवचनात्मक र नोट लेखाउने खालको छ । अझ भन्ने हो भने परीक्षामुखीमात्रै छ । यसलाई रोक्न टिचिङ म्यानुअल प्रभावकारी हुन सक्छ । तर ११ र १२ कक्षामा अध्यापन हुने विषयहरूको टिचिङ म्यानुअल छैन र भएका विषयको पनि प्रयोग भएको देखिँदैन । कक्षा ९ र १० मा प्रायः विषयको टिचिङ म्यानुअल छ । तर विषय शिक्षक र प्राचार्यलाई नै टिचिङ म्यानुअल हुन्छ भन्ने समेत थाहा भएको पाइँदैन । शिक्षण सिकाइमा शिक्षण विधिको भूमिका बढी हुन्छ । असल शिक्षकले आफूले पढाएको तरीकाले विद्यार्थीले बुझेनन् भने शिक्षण विधि परिवर्तन गर्छ । आफ्ना विद्यार्थीका लागि सबैभन्दा उत्तम के हुन्छ भनेर उनीहरूलाई पहिलो प्राथमिकतामा राखे शिक्षण प्रभावकारी बन्छ । शिक्षक विद्यार्थीसँग सार्थक र सहकार्य गर्ने खालको सम्बन्ध स्थापित भएमात्रै शिक्षण पनि प्रभावकारी हुन्छ । विद्यार्थी, विद्यालय प्रशासन र अभिभावक यी तीन पक्षबीच बलियो सम्बन्ध निर्माण नभई शिक्षाको प्रक्रिया पूरा हुँदैन । छोराछोरीलाई राम्रा विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो काम सकिएको सोच्छन् धेरै अभिभावक । विद्यालयले पनि अनुशासन र डीआईको त्रास देखाएर विद्यार्थीलाई नियन्त्रणमा राख्छ । कतिपय शिक्षक आफ्ना व्यक्तिगत समस्या वा विषय कक्षाकोठामा ल्याउँछन् । तर शिक्षकले उल्लिखित तीन पक्षबीच सम्बन्ध बलियो पार्दा अध्यापन पनि राम्ररी गर्न सक्छ । असल शिक्षकको मनस्थिति सधैं खुला हुन्छ र हरेक क्षण सिक्ने र सिकाउने इच्छा राख्छ । शिक्षण एक यात्रा हो, जसले सिक्न धेरै अवसर प्रदान गर्नेछ । वर्षौं एउटै कक्षामा पढाइरहेका भए पनि शिक्षकले हरेक दिन आप्mनो शिक्षण सुधार्न प्रयास गर्छ । यस्ता शिक्षक नै विद्यार्थीमा सकारात्मक सोच ल्याउन सक्छन् । निष्पक्षता शिक्षकको अर्को गुण हो । आफ्ना रुचिअनुसार क्रियाकलाप गर्न थाल्दा विद्यार्थीप्रति अन्याय हुन सक्छ । ११ र १२ कक्षा विद्यालय शिक्षाकै अंग भएकाले विद्यार्थीका आमाबाबुसँग निरन्तर सम्पर्कमा रहनुपर्छ र विद्यार्थीलाई प्रोत्साहित गर्न अभिभावकलाई पनि सचेत पार्नुपर्छ । शिक्षकले परिस्थितिसँग सम्झौता गर्नु हुँदैन । यसो गर्दा शिक्षक आफै कमजोर हुन्छ । शिक्षकमा हुने आत्मसंयमले विद्यार्थीमाझ सकारात्मक सन्देश जान्छ । शिक्षक धेरै लचिलो बन्नुपर्ने हुन्छ । तर आफ्नो मर्यादा भने छाड्नु हुँदैन । शिक्षक र विद्यार्थीबीच मर्यादाको लक्ष्मण रेखा बनाएर विद्यार्थीसँग नजिकिँदा अनुशासनको समस्या आउँदैन । शिक्षक र प्रशासनबीच कहिलेकाहीँ असमझदारी हुन्छ । फरक जिम्मेवारी भएकाले एकअर्काबीच आरोपप्रत्यारोप नै हुने गरेको पनि पाइन्छ । शिक्षकले विद्यालय प्रशासकहरूको निर्णयको आदर गर्नुपर्छ । किनभने उनीहरूको जिम्मेवारी फरक किसिमको भए पनि महत्त्वपूर्ण हुन्छ । जबसम्म शिक्षकले आफ्ना विद्यार्थीलाई राम्ररी चिन्दैन, तबसम्म अध्यापन प्रभावकारी हुँदैन । विद्यार्थीको सिकाइको स्तर, पारिवारिक र शैक्षिक पृष्ठभूमि, उनीहरूको चाहना र रुचि तथा लक्ष्य थाहा पाएमा शिक्षकले विद्यार्थीलाई राम्ररी सिकाउन सक्छ । सिकाइमा कमजोर हुनुको कारण थाहा पाए पछि त्यसमा सुधार गर्न पनि सहज हुन्छ । आफूले अध्यापन गराउने विषयमा उनीहरूको चासो बढाउन मद्दत मिल्छ । विद्यालयको पहिलो दिन नियम, अपेक्षा र प्रक्रियाहरू सिकाउँदा कक्षाकोठा व्यवस्थित हुन्छ । यसो गर्दा विद्यार्थीलाई उत्तरदायी पनि बन्छन् । शिक्षक तानाशाह हुनु हुँदैन, तर दृढ र निष्पक्षचाहिँ हुनैपर्छ । विद्यार्थीका कुरा सुन्न इच्छुक हुँदा उनीहरू पनि शिक्षकका कुरा सुन्न इच्छुक बन्छन् । उनीहरूको प्रतिक्रियालाई टिपोट गर्दा आफू पनि जिम्मेवार बनिन्छ । कुनै गल्ती भएको त्यसको जिम्मेवारी लिन तयार हुनुपर्छ । शिक्षकहरू सर्वमान्य होइनन् । गल्तीहरूको स्वामित्व लिँदा उनीहरूमा पनि गल्तीबाट सिकिने बानी विकास हुन सक्छ । शिक्षक सिकाइ वास्तवमा सामूहिक काम हो । त्यसैले सबै शिक्षकबीच सहकार्य आवश्यक हुन्छ । अरू शिक्षकको सल्लाह लिनुपर्छ । आफ्ना उत्कृष्ट अभ्यासहरू अन्य शिक्षकसँग साझेदारी गर्नुपर्छ । यस्तो सामूहिक प्रयासले समग्रमा विद्यार्थीको स्तर उकास्न मद्दत पुग्छ । शिक्षक आफूलाई अद्यावधिक गर्न र परिवर्तन गर्न सधैं तयार हुनुपर्छ । किनभने शिक्षण सधैं परिवर्तन हुन्छ । यसमा सधैं केही नयाँ प्रयोग भइरहेको हुन्छ । विद्यार्थीको सबैभन्दा बढी प्रशंसा गर्ने व्यक्ति नै शिक्षक हो । सानो प्रशंसाले उनीहरूमा ठूलै परिवर्तन ल्याउन सक्छ । तिनीहरूले केही गर्न सक्दैनन्, सिक्न सक्दैनन् भन्ने सोच न शिक्षकमा, न त विद्यार्थीमा हुनुपर्छ । उनीहरूलाई सही मार्गमा लगाउन र आफ्नो लक्ष्य पूरा गर्न प्रोत्साहित गर्ने काम शिक्षकको हो । विद्यार्थीलाई सिकाइमा केन्द्रित गर्ने काम कठिन हुन्छ । विद्यार्थीहरू कक्षा कोठाभित्र अध्यापन बाहिरका विषय वा बेकारको कुरा र व्यवहार देखाउन खोज्छन् । विषयान्तर गर्न खोज्छन् । यस्तोमा शिक्षक सचेत भएर उनीहरूलाई आफ्नो शिक्षण क्रियाकपालमा सहभागी गराउनुपर्छ, अन्यत्र लाग्न अनुमति दिनु हुँदैन । शिक्षकका लागि सबैभन्दा चुनौती नै यही हो । शिक्षकले आफूलाई आनन्दसँग प्रस्तुत गरेमा विद्यार्थीले पनि ध्यान दिनेछन् । विद्यार्थीको ग्रेडिङ गर्न र रेकर्ड राख्न कहिल्यै बिर्सनु हुँदैन । ग्रेड गर्न लक्ष्य तय गर्नु आवश्यक हुन्छ । शिक्षकले विद्यार्थीका कापी र परीक्षाका पेपरहरू २/३ दिनभित्रै जाँचेर फिर्ता गर्ने बानी बसाल्नुपर्छ । आफूले ढिला गरेपछि विद्यार्थीले पनि बहाना खोज्न थाल्नु स्वाभाविक हो । समयमै यस्तो काम गर्दा आफैलाई सजिलो हुन्छ र विद्यार्थीलाई समयमै काम गर्ने बनाउँछ ।