नेपाल लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, २६ असार २०७६)
Jul 11, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको जेठ ४ गते सम्पन्न वार्षिक साधारणसभाले बोनस तथा लाभांश प्रस्ताव पारित गरेको थियो । १ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १ हजार ३१६ र न्यूनतम रू. ८७५ पुगेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ४६ करोड ७२ लाख नाफा कमाएको छ । बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य रू. ८९१ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा २ अंक कम हो । बुधवार कम्पनीको ९ हजार ४८८ कित्ता शेयर खरीदविक्री भएको छ । विगतका वर्षमा आकर्षक लाभांश दिँदै आएको यस कम्पनीले आगामी आवमा पनि राम्रो लाभांश दिने आशमा लगानीकर्ता यस कम्पनीको शेयरप्रति आकर्षित देखिन्छन् ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । यस्तो अवस्थामा कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ । आरएसआई न्युट्रल जोन ४२ दशमलव शून्य ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ८३ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाको बीचमा छ । बुधवारको शेयरमूल्य रू. ८९१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९०२ मा प्रतिरोध र सस्तिएमा रू. ८८१ टेवा पाउने देखिन्छ ।