लुम्बिनी जनरल इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, २६ असार २०७६)
Jul 11, 2019
 
लगानी
कम्पनी विश्लेषण
चुक्तापूँजी रू. १ अर्ब पुर्याउन हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको कम्पनीले निष्कासनको प्रक्रिया भने अघि बढाएको छैन । हाल कम्पनीको चुक्ता पूँजी रू. ८८ करोड छ । २० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५ करोड पुग्नेछ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ६२ र प्रतिशेयर नेटवर्थ रू. १८८ दशमलव ५१ छ । दोस्रो बजारमा बुधवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ४३८ कायम भएको छ । यस दिन कम्पनीको ४४१ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने अथवा बढ्ने कुनै पनि निश्चित संकेत गर्दैन । हाल लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । आरएसआई न्युट्रल जोन ३६ दशमलव ६९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ३६ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखाभन्दा तल र १४ दिने औसत मूल्यरेखाभन्दा माथि छ । बधुवारको शेयरमूल्य रू. ४३८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४५१ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४२३ मा टेवा पाउने देखिन्छ ।