असार २६, काठमाडौं(अस) । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक शून्य दशमलव ६२ अंक घटेर १ हजार २४८ दशमलव ५३ विन्दुमा बन्द भएको छ ।
यस दिन १ हजार २४९ दशमलव ४६ विन्दुबाट शूरु भएको बजारमा कारोबारको शुरु अवधिमा केही अंक बढेको थियो । पहिलो घण्टाको अवधिसम्ममा बजार घटेर १ हजार २४७ दशमलव ६३ विन्दुमा झरेको थियो ।
सो विन्दु पश्चात कारोबारको दोस्रो घण्टाको अवधिमा बढेको बजार अन्त्यमा घटेर बन्द भएको छ । घटेको बजारमा यस दिन कारोबार रकममा पनि कमि आएको छ । बैंकहरु मर्जरमा जाने तयारी रहेको चर्चाले बजारलाई प्रभाव पारेको छ ।
यस दिन कारोबार भएका ११ समूहको परिसूचकमध्ये बैंकिङ समूह र जलविद्युत समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ । कारोबारमा आएका ११ समूहको परिसूचकमा सबैभन्दा बढी बैंकिङ समूहको परिसूचक बढेको छ ।
बैंकिङ समूहको परिसूचक यस दिन शून्य दशमलव १७ प्रतिशत बढेको छ । त्यस्तै होटल समूहको परिसूचक १ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ७३ प्रतिशत घटेको छ ।
बिहीवारको कारोबार
बिहीवार १७२ कम्पनीहरुको ८ हजार ६५५ पटकको खरीद विक्रीमा रू. ४६ करोड ३६ हजार बराबरको १६ लाख ५४ हजार २५१ कित्ता शेयरको कारोबार भएको छ ।
यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा रू. ११ करोड ३४ लाख कम हो । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव शून्य १ अंक घटेर २६८ दशमलव ३२ विन्दुमा बन्द भएको छ ।
शेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा नाडेप, इन्फिनिटीको शेयरमूल्य रू. १८ ले घट्यो
बिहीवार नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ७३ प्रतिशत बढेको छ । कम्पनीको प्रति कित्ता शेयरमा रू. १९ ले वृद्धि भई रू. ४२१ मा बन्द भएको छ । दोस्रोमा, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमुल्य ३ दशमलव २५ प्रतिशत बढेर प्रतिकित्ता रू. १५९ पुगेको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ ले बढेको हो । यस्तै हकप्रद शेयर जारी गरेको मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको शेयरमुल्य ५ दशमलव ६७ प्रतिशत घटेर प्रतिकित्ता रू. १३३ पुगेको छ । लक्ष्मी लघुवित्तको शेयरमूल्य ५ दशमलव १० प्रतिशत घटेर रू. ६५० मा सिमित भएको छ ।
त्यस्तै, नेप्सेमा सूचिकृत भएपश्चात लगातार तीन दिन सकारात्मक सर्किट लागेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ३४ प्रतिशत घटेर रू. ३९६ कायम भएको छ ।
११ समूहको परिसूचकनेपाल बैंकको सर्वाधिक कारोबार
साताको अन्तिम कारोबार दिन नेपाल बैंक लिमिटेडको सर्वाधिक बढी कारोबार भएको छ । कम्पनीको रू. ५ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ ।
रकमकै आधारमा दोस्रो स्थानमा शिवम सिमेन्टको रू. ३ करोड २० लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य रू. ५८८ पुगेको छ । कारोबार भएका १७२ कम्पनीमा ५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको घटेको छ । साथै, ३८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।