घलेम्दी हाइड्रो : कम्पनी विश्लेषण (शुक्रवार, २७ असार २०७६)
Jul 12, 2019
 
लगानी
कम्पनी विश्लेषण
सर्वसाधारणलाई आईपीओ जारी गरी फागुन ५ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको यस कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम नै छ । बिहीवारको कारोबारमा बुधबारभन्दा २ अंक बढेर अन्तिम मूल्य रू. ८८ कायम भएको छ । यस दिन कम्पनीको २७६ कित्ता शेयर कारोबार भएको छ । पहिलो कारोबार प्रतिकित्ता रू. ३ सयबाट शुरू भएको कम्पनीको शेयरमूल्य हाल अंकित मूल्यभन्दा तल पुगेको छ । कम्पनीले म्याग्दी जिल्लामा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । गत वैशाख १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाबाट आगामी १५ दिनभित्र उत्पादन शुरू हुने कम्पनीका कार्यकारी निर्देशक नारायणबाबु अधिकारीले जानकारी दिएका छन् । यस आयोजनाको प्रतिमेगावाट लागत रू. २३ करोड छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ ।
कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा टुप्पी र पुच्छर भएको मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४२५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४४० मा प्रतिरोध पाउने देखिन्छ ।