कम्पनीले गत चैत महीनामा सर्वसाधारणलाई आईपीओ जारी गरी वैशाख २२ गते दोस्रो बजारमा शेयर सूचीकरण गराएको थियो । कम्पनीको हालसम्म ३९ दिन शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर कारोबारका लागि नेप्सेले रू. १०० दशमलव ३८ देखि ३०१ दशमलव १४ सम्म मूल्य रेन्ज तोकेको थियो । प्रतिकित्ता रू. ३०२ देखि कारोबार भएको कम्पनीको शेयरमूल्य अधिकतम रू. ५७५ सम्म पुगेको थियो । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ४२५ कायम छ । यो अघिल्लो दिनभन्दा ३ अंक कम हो । हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २९ लाख ६३ हजार छ । यस वर्षको चैत मसान्तसम्ममा कम्पनीले रू. ६० लाख ३९ हजार नाफा आर्जन गरेको छ । कम्पनीको ६१ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा टुप्पी र पुच्छर भएको मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४ विन्दुमा छ । उतारचढाव सामान्य छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४२५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४४० मा प्रतिरोध पाउने देखिन्छ ।