कालिका पावर कम्पनी : कम्पनी विश्लेषण (आइतवार, २९ असार २०७६)
Jul 14, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले गोरखाको दरौंदी खोलाबाट ६ हजार किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरी २०७३ मंसिर १२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल जारी पूँजी रू. ६० करोडबराबरको शेयर संस्थापक र सर्वसाधारणबाट चुक्ता गरी शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत, सर्वसाधारणमा २० प्रतिशत र उद्योग प्रभावित स्थानीयका लागि १० प्रतिशत कायम भएको छ । कम्पनी रू. २ करोड ३३ लाख १८ हजार नाफामा छ । यो नाफा यस आर्थिक वर्षको ९ महीनासम्मको हो । जगेडा कोषमा रू. ८१ लाख ७० हजार रहेको कम्पनीले ९ महीनासम्ममा विद्युत् विक्रीबाट रू. १३ करोड ६२ लाख ८६ हजार आम्दानी गरेको छ । यस वर्ष सर्वसाधारणलाई समेत समेटेर सञ्चालक समिति गठन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ५ दशमलव १८ रहेको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ९२ कायम भएको छ । सो दिन कम्पनीको १ हजार ७४० कित्ता शेयर खरीदविक्री भएको हो ।
कम्पनीको ६० दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा ओपनिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४८ दशमलव शून्य ८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ७४ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । पछिल्लो शेयरमूल्य रू. ९२ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ९३ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ९१ मा टेवा पाउने देखिन्छ ।