खानीखोला हाइड्रोपावर कम्पनी : कम्पनी विश्लेषण (आइतवार, २९ असार २०७६)
Jul 14, 2019
 
लगानी
कम्पनी विश्लेषण
कम्पनीले ललितपुर जिल्लामा ४ दशमलव ३६ मेगावाटको टुंगुन–ठोस्ने र २ मेगावाट क्षमताको दुई जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको छ । दुवै आयोजनाबाट २०७३ सालमा विद्युत् उत्पादन शुरू गरिएको हो । यो कम्पनीको लगानीमा संखुवासभामा १४ दशमलव ९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजनाको निर्माण दु्रत गतिमा भइरहेको छ । कम्पनीले जारी पूँजीअनुसारको रकम चुक्ता गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ५७ लाख १४ हजार छ । यस आर्थिक वर्षको ९ महीनासम्ममा कम्पनीले रू. ५ करोड २९ लाख ७० हजार आम्दानी गरेको छ । यो अवधिमा कम्पनी रू. १ करोड ५ लाख २५ हजार घाटामा छ । कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ६७ कायम भएको छ । सो दिन कम्पनीको १ हजार १५६ कित्ता शेयर खरीदविक्री भएको हो ।
कम्पनीको ५९ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन घट्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४० दशमलव २१ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ३५ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत एकअर्कासँग जोडिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । पछिल्लो शेयरमूल्य रू. ६७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ६४ मा टेवा पाउने देखिन्छ ।