विजय लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ३१ असार २०७६)
Jul 16, 2019
 
लगानी
कम्पनी विश्लेषण
विजय लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । असार २६ गते विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । १ वर्षको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ७८१ र न्यूनतम रू. ४६२ पुगेको छ । सोमवार कम्पनीको शेयरमूल्य रू. ४९१ पुगेको छ । सो दिन कम्पनीको २८५ कित्ता शेयर खरीदविक्री भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख छ । १० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पुस १५ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको छ । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा रू. ३ करोड ७० लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा दुई गुणा बढी हो । सो अवधिमा कम्पनीले रू. १ करोड ५४ लाख नाफा कमाएको थियो ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १० दशमलव ५७ विन्दुमा छ । उतारचढाव मध्यम छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । यस्तो अवस्थामा १४ दिने मूल्यरेखाले २६ दिने मूल्यरेखालाई माथिबाट काट्यो भने शेयरमूल्य घट्छ । त्यस्तै, २६ दिने मूल्यरेखामा टेवा पाएर फर्किएमा मूल्य बढ्न सक्छ । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. ४९१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५४२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४६५ मा टेवा पाउने देखिन्छ ।