रैराङ हाइड्रोपावर : कम्पनी विश्लेषण (बुधवार, १ साउन २०७६)
Jul 17, 2019
 
लगानी
कम्पनी विश्लेषण
२०७५ साउन १ गते प्रतिकित्ता रू. १५८ मा कारोबार भएको कम्पनीको शेयरमूल्य २०७६ असार ३१ गते रू. ११३ कायम भएको छ । यस दिन कम्पनीको शेयरमूल्य स्थिर छ । १ वर्षमा कम्पनीको शेयरमूल्य अधिकतम रू. १६० र न्यूनतम रू. ८६ पुगेको छ । यस कम्पनीको स्वामित्वमा धादिङ जिल्लामा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत् आयोजना २०६१ सालदेखि सञ्चालनमा छ । दोस्रो आयोजनाको रूपमा कम्पनीले ताप्लेजुङ जिल्लामा ९ हजार ९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत् आयोजना पहिचान र सर्वेक्षण सम्पन्न गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् ३० वर्षका लागि नेपाल विद्युत् प्राधिकरणसँग खरीदविक्री गर्ने सम्झौता भइसकेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५६ करोड छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य बढ्ने र घट्नेमा अन्योल रहेको संकेत गर्छ । यस्तो अवस्थामा लगानीकर्तामा ‘पर्ख र हेर’को अवस्था सृजना भएको छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव ९८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशलमव ३१ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखाभन्दा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयरमूल्य रू. ११३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ११५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. १०८ मा टेवा पाउने देखिन्छ ।