सिभिल बैंकको १ वर्षको कारोबार अवधिमा शेयरमूल्य अधिकतम रू. १८० र न्यूनतम रू. १४४ पुगेको छ । मंगलवारको कारोबारमा बैंकको अन्तिम शेयरमूल्य १ अंक घटेर रू. १६३ कायम भएको छ । यस दिन बैंकको ५७ हजार ३७ कित्ता शेयर कारोबार भएको छ । राष्ट्र बैंकको नीतिअनुसार बैंकले मर्जरका लागि छलफललाई तीव्रता दिइएको बताएको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीलाई १० दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको छ । हाल रू. ८ अर्ब ३३ लाख ९० हजार चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४९ करोड ३८ लाख ९२ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने रू. २२ करोड ३० लाख ३३ हजार छ ।
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा ब्ल्याक ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले बैंकको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई ओभरबट जोन ७२ दशमलव ५९ विन्दुमा छ । यसले शेयर खरीद चाप बढेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा १४ दिने औसत मूल्यरेखा र २६ दिने औसत मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयरमूल्य रू. १६३ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १७१ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. १४४ मा टेवा पाउने देखिन्छ ।