ग्रामीण विकास लघुवित्त कम्पनीले ५० प्रतिशत हकप्रद विक्री प्रक्रिया जारी राखेको छ । कम्पनीले वैशाख २७ देखि जेठ ३० गतेसम्म ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको ५ लाख ८२ हजार ८४४ कित्ता शेयर साउन ८ गतेदेखि लीलाम विक्री खुला गरेको छ । कम्पनीको हकप्रद वितरणपछि चुक्ता पूँजी रू. ९८ करोड २५ लाख पुग्नेछ । कम्पनीले हालसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । तेस्रो त्रैमासमा कम्पनीले रू. १६ करोड ४४ लाख १७ हजार खुद नाफा कमाएको छ । त्यस अवधिमा कम्पनीको जगेडामा रू. ५६ करोड २ लाख ५६ हजार छ । तेस्रो त्रैमासमा प्रतिशेयर आम्दानी वार्षिक रू. ३३ दशमलव ४७ छ । बुधवारको शेयर कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य अघिल्लो दिनभन्दा ४ अंक बढेर रू. ३५७ कायम भएको छ ।
कम्पनीको ६२ दिनको कारोबार अवधिलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा ह्वाइट मैनबत्ती आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५५ दशमलव ४७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव २६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. ३५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३६० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ३३९ मा टेवा पाउने देखिन्छ ।