नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्षको असार मसान्तसम्म रू. १३ करोड १४ लाख ५४ हजार खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५३ दशमलव २७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रू. ८ करोड ५७ लाख ६३ हजार खुद नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड ८ लाख ८३ हजार छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा रू. २४ करोड १२ लाख ३ हजार जम्मा भएको छ । निक्षेप संकलन वार्षिक ७२ दशमलव १६ प्रतिशत बढेर रू. १ अर्ब २८ करोड ४० लाख ७७ हजार पुगेको छ । सो अवधिमा कम्पनीले रू. ३ अर्ब ६६ हरोड ५४ लाख २३ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीले अहिले देशभर ५० ओटा शाखा कार्यालयमार्फत ८० हजार विपन्न परिवारमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । बुधवारको कारोबारमा कम्पनीको शेयरमूल्य १९ अंक बढेर रू. १ हजार ५७९ कायम भएको छ ।
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने अथवा घट्नेमा अनिश्चय देखिन्छ । आरएसआई न्युट्रल जोन ६१ दशमलव ७७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ५७ दशमलव ५७ विन्दुमा छ । उतारचढाव सामान्य छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बुधवारको शेयरमूल्य रू. १ हजार ५७९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार ६२२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार ४२४ मा टेवा पाउने देखिन्छ ।