एनएमबी बैंकको सहायक कम्पनीको रूपमा रहेको यस कम्पनीले गतवर्षको चौथो त्रैमासमा रू. ६ करोड ९ लाख नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. ३ करोड २७ लाख नाफा कमाएको थियो । कम्पनीले आगामी दिनमा तराई जिल्लामा शाखा विस्तार गर्ने योजना लिएको छ । असार मसान्तसम्म कम्पनीले ५४ ओटा जिल्लामा १०० ओटा शाखा तथा उपशाखा खोली ९७ हजार २९७ विपन्न परिवारलाई लघुवित्त सेवा दिइरहेको छ । चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी रू. १६ करोड पुगेको छ । कम्पनीले जगेडा कोषमा रू. १४ करोड ३३ लाख जम्मा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ६४ र निष्क्रिय कर्जा २ दशलमव ५९ बाट घटेर २ दशमलव शून्य २ प्रतिशत कायम भएको छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. १ हजार ७० कायम भएको छ । कम्पनीको शेयरमूल्य बुधवारको तुलनामा रू. ३० अंक घटेको हो । यस दिन कम्पनीको १ हजार ६३ कित्ता शेयरको कारोबार भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी भएको कालो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्यूट्रल जोन ५९ दशमलव ४५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३० दशमलव २६ विन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ७० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ हजार १०० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ९७२ मा टेवा पाउने देखिन्छ ।