बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण साउन ९ गते बिहीवार सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले वार्षिक ११२ दशमलव ०४ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू. ९६ करोड ७० लाख ३५ हजार खुद नाफा कमाएको बैंकले गतवर्ष रू. २ अर्ब ५ करोड ५ लाख ६४ हजार खुद नाफा आर्जन गरेको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ७३ करोड ३८ लाख ९ हजार छ । बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताका लागि ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिएको थियो । बोनस वितरण गरेपछि बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८९ करोड २६ लाख ७५ हजार पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २४ दशमलव १८, मूल्य आम्दानी अनुपात रू. २६६ र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव ८० छ । बिहीवारको कारोबारमा अधिकतम रू. २८५ सम्म पुगेको मूल्य अन्तिममा स्थिर रही रू. २८० कायम भएको छ ।
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा इनगल्फिङ बियरिश आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ६४ दशमलव २ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. २८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २८४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २५९ मा टेवा पाउने देखिन्छ ।