काठमाडौं । हाल नेपालको शिक्षाक्षेत्रमा धेरै शैक्षिक कार्यक्रम थपिएका छन् । विज्ञान, प्रविधि र अर्थतन्त्रका नयाँ विषयमा समेत यहाँका कलेज/विश्वविद्यालयमा अध्यापन हुने गरेको छ, जसले गर्दा विद्यार्थीलाई विषय छनोटका विकल्प पनि बढेका छन् । यस्ता विषयमध्ये एक एक्च्युअरियल साइन्स (बीमांकी विज्ञान) पनि हो ।
नेपालको शैक्षिक क्षेत्रको हकमा यो विषय नयाँ हो । अधिकांश विद्यार्थी यसप्रति त्यति जानकार पनि छैनन् । गणित, तथ्यांक शास्त्रसँग बढी सम्बन्धित यो विषय पढेका जनशक्तिले जोखिम रक्षावरण तथा सुरक्षणको काम गर्ने क्षेत्रमा तथ्यांक विश्लेषकको रूपमा काम गर्न सक्छन् ।
नेपालमा लामो समयसम्म बीमांकी विज्ञान अध्ययनको अवसर थिएन । नेपालमा २०७३ सालदेखखि यसको शुरुआत भएको हो । त्रिभुवन विश्वविद्यालयले ‘गणित विज्ञान स्कूल’ स्थापना गरेर स्नातक तहमा यो विषयको अध्यापन गराइरहेको छ । एउटा शैक्षिक सत्रमा ३६ विद्यार्थीले उक्त विषय पढ्न पाउँछन् ।
बीमांकी भएर काम गर्न विभिन्न १३ विषयमा उत्तीर्ण गर्नुपर्ने हुन्छ । हाल नेपालमा स्नातक तहमा सातओटा विषयमा अध्यापन भइरहेको छ । बाँकी पाँच व्यावसायीक विषय भने स्नातकोत्तर तहमा पर्दछन् । हाल स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थी स्नातकोत्तर तहमा पुग्ने भएपछि ती विषयको अध्यापन पनि थाल्ने स्कूलको तयारी छ ।
यद्यपि, बीमांकीको रूपमा काम गर्न विश्वविद्यालयबाट उपाधि हासिल गरेर मात्र पुग्दैन । यसका लागि बीमांकीसम्बन्धी मान्यताप्राप्त इन्स्टिच्युटबाट इजाजतपत्र लिनुपर्ने हुन्छ । इजाजतपत्रका लागि पनि १३ ओटै विषयमा परीक्षा दिनुपर्छ । यसरी विद्यार्थीले विश्वविद्यालयसँगै इन्स्टिच्युटको पनि परीक्षा पनि उत्तीर्ण गर्नुपर्छ । ती परीक्षामा उत्तीर्ण भएर इजाजतपत्र लिएपछि उनीहरू बीमांकीको रूपमा काम गर्न योग्य हुन्छन् । यस्तो इजाजत एक्च्युअरीसम्बन्धी मान्यताप्राप्त इन्स्टिच्युटले दिन्छन्, जुन अमेरिका, बेलायत, भारतलगायत देशमा छन् ।
पढाइका लागि आवश्यक योग्यता
कक्षा १२ मा सय पूर्णांकको म्याथम्याटिक्स वा बिजनेश म्याथ पढेका विद्यार्थी यो विषय पढ्न योग्य हुन्छन् । विज्ञान, शिक्षा तथा व्यवस्थापन, मानविकी संकायमा गणित विषय पढेका विद्यार्थीले यसको अध्ययनका लागि आवेदन दिन सक्छन् । नयाँ विद्यार्थी भर्नाका लागि गणित विज्ञान स्कूलले आगामी भदौ ११ गतेसम्मको समय दिएको छ । ‘शुरूका वर्षमा निर्धारित कोटा (३६)बराबर पनि आवेदन आउने गरेको थिएन,’ स्कूलका निर्देशक प्रकाशमुनि वज्राचार्यले भने, ‘अहिले आवश्यक भन्दा बढी आवेदन आउने गरेका छन् ।’ पछिल्लो समय यो विषयको अध्ययनमा विद्यार्थीको आकर्षण समेत बढेको उनको भनाइ छ ।
बीमांकीको काम र क्षेत्र
बीमांकी पेशा जोखिम सुरक्षण गर्ने क्षेत्रसँग सम्बन्धित छ । उनीहरूले गर्ने काम बीमांकीय मूल्यांकन हो । विशेषगरी बीमाक्षेत्रमा यो विषय पढेका जनशक्तिको माग हुन्छ । यसबाहेक जोखिम सुरक्षणको काम गर्ने कुनै पनि क्षेत्रमा उनीहरूले अवसर पाउन सक्छन् । बीमा क्षेत्रबाहेक नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नागरिक लगानी कोष, सञ्चय कोष, नेपाल सरकार, अर्थ मन्त्रालय, बैंक तथा वित्तीय संस्थाहरूलाई समेत यो जनशक्तिको खाँचो पर्छ । ‘बीमांकी’ले आर्थिक पक्षबारे सूक्ष्म अध्ययन–विश्लेषण गरी यी निकायलाई राय परामर्श गर्छन् ।
उच्च तलब सुविधा भएको क्षेत्र
विश्व बजारमा बीमांकी जनशक्तिको संख्या न्यून छ । तर, उनीहरूले गर्नुपर्ने कामका क्षेत्र भने धेरै छन् । जानकारहरूका अनुसार बजारको मागअनुसार बीमांकी जनशक्ति पदपूर्ति हुन सकेको छैन । यसकारण यो विषय पढ्ने विद्यार्थीका लागि थुपै्र अवसर रहेको उनीहरूको भनाइ छ । नेपालमा बीमांकीको संख्या नगन्य छ । ४० बीमा कम्पनी भएको नेपालको हकमा बीमांकीका लागि झन् बढी अवसर भएको वज्राचार्य बताउँछन् । यो पेशा विश्वमा सबैभन्दा बढी पारिश्रमिक पाउनेमध्ये पर्छ । नेपालका बीमांकीले बीमांकीय मूल्यांकन गरेबापत रू. ५ लाखसम्म पारश्रमिक लिने गरेको पाइन्छ । नेपालको हकमा यहाँका बीमा कम्पनीले हरेक वर्ष अनिवार्य रूपमा बीमांकीय मूल्यांकन गनुपर्ने हुन्छ ।