ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा चुनौतीसँगै अपार सम्भावना

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

कर्णाली प्रदेश भौतिक पूर्वाधारको विकासको दृष्टिबाट पनि सबैभन्दा पछि परेको प्रदेशभए पनि चुनौतीसँगै अपार सम्भावनाहरू रहेका छन् । देशको २१ दशमलव ६६ प्रतिशत भूगोल र ६ दशमलव १२ प्रतिशत जनसंख्या ओगटेको कर्णाली प्रदेशको मानव विकास सूचकांक शून्य दशमलव ४०९ छ । प्रदेशको साक्षरता दर ६५ प्रतिशत छ । देशको कुल साक्षरता दरभन्दा २३ दशमलव ६ प्रतिशतले कम हुन आउँछ । त्यस्तै प्रदेशको औसत आयु करिब ६० वर्ष छ । यो देशको औसत आयुभन्दा ११ वर्षले कम हुन आउँछ । यहाँका नागरिकको प्रतिव्यक्ति वार्षिक आय करीब ८० हजार रुपैयाँ रहेको देखिन्छ । यो पनि देशको औसत प्रतिव्यक्ति वार्षिक आयभन्दा ७० हजार रुपैयाँले कम हुन आउँछ । कुपोषण, बालमृत्युदर र मातृमृत्युदर पनि यस प्रदेशमा अरू प्रदेशको भन्दा बढी नै छ । यी केही महŒवपूर्ण सूचकहरूको आधारमा अहिलेको अवस्थामा यो प्रदेश अन्य प्रदेशहरूको तुलनामा आर्थिक र सामाजिक विकासका हिसाबले कमजोर छ । भौगोलिक हिसाबले यो प्रदेश अन्य प्रदेशहरूभन्दा ठूलो भए पनि प्रतिव्यक्ति आम्दानीका हिसाबले सूदरपश्चिम प्रदेशभन्दा मात्र अगाडि छ ।
 
प्रदेशका चुनौती
माथि उल्लिखित सूचकहरूबाट यो प्रदेशमा चुनौतीका पहाडहरू छन् भन्ने कुरा स्पष्ट छ । भौतिक पूर्वाधारको विकासको दृष्टिबाट पनि सबैभन्दा पछि परेको प्रदेश हो यो । सडक पुगेका जिल्लामा राम्रो पक्की सडक पुग्न सकेको छ्रैन भने हुम्ला जिल्लामा अझैसम्म सडक मार्गले छुन सकेको छैन । बाटोघाटो, पुल, खानेपानी, सिँचाइ, बिजुलीजस्ता भौतिक पूर्वाधार विकासमा यो प्रदेश निकै पछाडि छ । यसरी आधारभूत पूर्वाधारको समुचित विकास हुन नसक्नु यो प्रदेशको प्रमुख चुनौती हो । भौगोलिक विकटता र बस्तीहरू छरिएर रहनु यहाँको अर्काे ठूलो चुनौती हो । ‘देशभित्रै देश खोज्नुपर्ने’ अवस्थामा छ यो प्रदेशमा । शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रको विकासको अवस्था अत्यन्त दयनीय छ । एक्काइसौं शताब्दीमा कतिपय बालबालिका विद्यालयको मुख देख्न पाउँदैनन् भने विद्यालय जानेले पनि गुणस्तरीय शिक्षा पाउनसकेका छैनन् । जनताले राम्रो स्वास्थ्य सेवा पाउने कुरा त धेरै टाढा, झाडा पखालाजस्ता महामारीबाट वर्षेनि कतिपय मान्छेको अनाहकमा ज्यान गुमाइरहेका छन् । भोकमारी, महामारी, उपचारको कमी, कुपोषण, प्राकृतिक प्रकोपमा परेर सित्तैमा मर्नुपर्ने ज्यादै कारुणिक दृश्यको नमूना बनेको छ, कर्णाली प्रदेश । अहिलेसम्म पनि केन्द्रबाट बहिष्करणमा परेको उपेक्षित भूगोललाई जोडेर निर्माण भएको भूगोलको नाम हो, कर्णाली प्रदेश । देशको मूलधारमा राजनीतिक र प्रशासनिक पहुँच नहुनु प्रदेशको अर्को ठूलो चुनौती हो । सुर्खेत र सल्यान जिल्लाबाहेक अन्य कुनै पनि जिल्ला खाद्यान्नमा आत्मनिर्भर छैनन् ।  विकासमा हातेमालो गर्ने र एकताबद्ध हुने कुरामा यस क्षेत्रमा क्रियाशील राजनीतिक दलहरूका बीचमा एकताको कमी छ । प्राविधिक तथा बौद्धिक जनशक्ति र नागरिक सचेतनताको पनि त्यत्तिकै कमी छ । जसले गर्दा पनि यस प्रदेशको विकासले अपेक्षाकृत फड्को मार्न सकेको छैन । यस प्रदेशका जनताको पीडा र समस्या समान छन् । आफ्नो गाउँठाउँमा रोजगारी नपाएर ऊर्जाशील युवा शक्ति भारत, खाडी र मलेशिया लगायत देशहरूमा पलायन हुन बाध्य छन् ।

प्रदेशका सम्भावना
उल्लिखित चुनौती हुँदाहुँदै पनि प्रदेशको गर्भमा विराट् सम्भावना लुकेका छन् । तिनीहरूको यथोचित र व्यवस्थित कार्यान्वय गर्न सकिएमा चुनौतीका कृत्रिम पहाडहरू भत्काउन सकिने सम्भावना विद्यमान छ । कर्णाली प्रदेश अरू सबै प्रदेशको तुलनामा जलस्रोतमा अत्यन्त धनी छ । ‘कर्णालीको पानी, राष्ट्रको लगानी’ भन्ने नीतिमार्फत देशी तथा विदेशी लगानी ल्याउन र वातावरण बनाउन आवश्यक छ । नदी खोला जलविद्युत् किनार–किनार रोड–डाँडाकाँडा रिसोर्टको मूल नीति अवलम्बन गरी सडक, जलविद्युत् र पर्यटन क्षेत्रको एकीकृत विकास गर्न आवश्यक छ । पर्यटनका दृष्टिले यो प्रदेश त्यत्तिकै धनी छ । रारा र फोक्सुन्डो तालदेखि मानसरोवर कैलाशको मूलमार्ग, विभिन्न आकर्षक ताल र दहहरू, हिमाल, झरना, गुफा, गुम्बा, मठमन्दिर, वेशभूषा, चाडपर्व, घरेलु प्रविधि आदि सम्पदाका कारण आन्तरिक तथा बा≈य पर्यटकको आकर्षणको थलो बन्न सक्ने सम्भावना छ । बहुमूल्य जडीबुटीहरूको भण्डार कर्णाली प्रदेश हो । तिनको संरक्षण, उत्पादन, व्यवस्थापन, प्रवद्र्धन तथा बजारीकरण गर्न सकेमा प्रदेशको आर्थिक अवस्थामा व्यापक सुधार गर्न सकिनेछ । कृषि बालीतर्फ अर्गानिक जोनको रूपमा विकास गर्न सकिने सम्भावना छ ।

राष्ट्रिय गौरवका योजना तथा प्रदेशका मुख्य आयोजना अन्तर्गत १० वर्षभित्र कोहलपुर–सुर्खेत फोर लेन सुरूङमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, सुर्खेतमा अन्तरराष्ट्रिय विमानस्थल तथा कर्णाली कोरिडोरको सुर्खेत–हिल्सा टुलेन फास्ट ट्र्याक, डोल्पाको धो मोरिम्ला र मुगुको नाग्चे लाग्ना सडक, अपर कर्णाली, भेरी बबई डाइभर्सन, नलसिंगाड, शारदा, तिला र कवाडी जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक छ । यसबाट प्रदेशको अर्थतन्त्र विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । यस प्रदेशको धरातलीय यथार्थलाई आत्मसात् गर्दै स्थानीय स्रोत तथा साधनहरूको अप्टिमम उपयोग गर्न सक्ने ‘डेभलोप्मेन्ट मोडालिटी’ बनाउन सकेमा मात्र सम्भावनामा परिणत गर्न सकिनेछ । यसका लागि बलियो, विश्वासिलो र प्रतिबद्ध राजनीतिक इच्छाशक्तिसहितको नेतृत्वको खाँचो छ । सुन्दर शान्त र समृद्ध प्रदेश निर्माणका लागि सबैले इतिहासको जिम्मेवारी बोध गर्दै कर्तव्यनिष्ठ हुन आवश्यक देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)