मुलुक संघीयतामा गएपछि प्रदेशहरूको स्रोतसाधन, आर्थिक अवस्था र समृद्धिका आधारहरूका बारेमा बहस शुरू भएको छ । प्रदेशको आन्तरिक स्रोतसाधन र दिगो आर्थिक विकास नै संघीयता सफल हुने मूल आधार भएकाले यो बहस स्वाभाविक पनि हो, आवश्यक पनि हो ।
त्यसैले संघीयताको अभ्यास गरिरहेका प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशको विकासको खाका कोरिरहेका छन् । गण्डकी प्रदेश सरकारले पनि प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै पर्यटन, जलस्रोत, कृषि र ऊर्जामार्फत प्रदेशलाई समृद्ध तुल्याउने योजना बनाएको छ ।
सरकारले भौतिक पूर्वाधार र सडकलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी बजेट सडकमा विनियोजन गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड १० लाखका दरले सडकका लागि बजेटको व्यवस्था मिलाएको छ । त्यस्तै, आगामी १ वर्षभित्र प्रदेशका सबै घरधुरीमा बिजुली र पिउने पानीको व्यवस्था गर्ने योजना अगाडि प्रदेश सरकारले सारेको छ ।
गण्डकी प्रदेशले लागि प्राकृतिक स्रोतसाधनको अधिकतमलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ । गण्डकी प्रदेशका केही जिल्लालाई प्रभावित बनाएर प्रदेश नं. ५ का रूपन्देही, कपिलवस्तु लगायत जिल्लामा सिँचाइ र अन्य प्रयोजनका लागि निर्माण गर्ने योजनामा यस प्रदेश र प्रदेश–५ बीचको विवादले पनि प्रदेश सरकार आफ्नो स्रोतसाधन र अधिकारमा कति संवेदनशील छ भन्ने पुष्टि गर्छ । यो परियोजना कुनै पनि हालतमा बन्न नदिनेमा मुख्यमन्त्री गुरुङ देखिएका छन् भने गण्डकी प्रदेशलाई असर नपर्ने गरी निर्माण अगाडि बढाउनुपर्ने अडानमा महासचिव विष्णु पौडेल देखिएका छन् ।
स्थानीय तह क्षेत्र निर्धारण आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेल गण्डकी प्रदेशमा प्राकृतिक स्रोतसाधन प्रशस्त भएकाले यसको अधिकतम प्रयोग गरी प्रदेशलाई समृद्ध बनाउनुपर्ने बताउँछन् । उनले प्रदेश अन्तर्गतका स्थानहरूमा पूर्वाधारको सन्तुलित विकास र समान वितरणमा विशेष ध्यान दिनुपर्ने बताए ।
गण्डकी प्रदेशमा मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा र नवलपरासी गरी ११ जिल्ला छन् । यो प्रदेश अन्य प्रदेशको तुलनामा कला, साहित्य, संस्कृति, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, पर्याप्त पूर्वाधार, जलस्रोत, वनजंगल र प्रतिव्यक्ति आयका हिसाबले बलियो देखिन्छ ।
नेपालकै पर्यटन हब
पर्यटनका हिसाबले गण्डकी प्रदेशलाई सबैभन्दा धनी प्रदेश भन्दा अत्युक्ति हुँदैन । अहिले नै मुलुकको पर्यटन क्षेत्रमा विशेष योगदान दिने यस प्रदेशमा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलले आउने दिनमा प्रदेश विकासका नयाँ आयाम ल्याउनेछ ।
काठमाडौं बाहिर स्तरीय पर्यटन पूर्वाधार र सेवा कहीँ छ भने त्यो पोखरा र आसपासका क्षेत्रमा नै छ । पछिल्लो समयमा पर्यटन व्यवसायमा उच्च सम्भावना देखेर व्यवसायीहरुले ठूला होटल तथा रिसोर्टहरूमा लगानी बढाउँदै गएका छन् । पर्यटकीय नगरी पोखरामा सञ्चालित होटल तथा रिसोर्टहरूमा अहिलेसम्म रु ८० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने थप रू. ४ अर्बको लगानी थपिँदै छ ।
पोखरामा स्तरीय तारे होटलको अभाव महसूस भइरहेका बेलामा ठूला व्यावसायिक घरानाले लगानी गर्ने घोषणा गरिसकेका छन् । हाल पोखरामा ४ सय पर्यटक स्तरीय होटल सञ्चालनमा छन् जसमा करीब ९ हजार कोठा रहेका छन् । यस क्षेत्रमा एकैपटक २० हजारको संख्यामा पाहुना अटाउन सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले बताउँछन् ।
उत्तरतर्फ माथिल्लो मुस्ताङ हुँदै चीनको केरूङ नाका र दक्षिणतर्फ गण्डक ब्यारेज हुँदै नवलपरासीबाट भारतको सीमा जोड्ने यस प्रदेशमा धार्मिक पर्यटनको सम्भावना उत्तिकै छ । मुस्ताङको मुक्तिनाथ, मुस्ताङ र मनाङमा रहेका दुई ओटा प्राचीन ठूला गुफाले समेत धार्मिक पर्यटनको सम्भावनालाई दर्शाएको छ ।
त्यस्तै, पोखराको विन्ध्यवासिनी, तालवाराही, गोरखाको मनकामना, बाग्लुङको कालीका मन्दिर, बेनीको प्रसिद्ध गलेश्वर, स्याङ्जाको सतचण्डी, पर्वतको सेतीवेनी, त्रिवेणी धाम, देवघाट, मुक्तिनाथ र दामोदर कुण्ड लगायत स्थलहरूले पनि धार्मिक पर्यटनलाई बढावा दिनेछ ।
साहसिक पर्यटनको पर्याय
विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा रहेको यस प्रदेशमा साहसिक पर्यटनका लागि चर्चित छ । पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा लगायतका साहसिक पर्यटनका विभिन्न अवसर रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको ठूलो संख्या वर्षेनि यहाँ भ्रमण गर्ने गर्छन् ।
अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेंशीशहर, गोरखा र कास्की रहेको छ । पर्यटक बेंशीशहर हुँदै ५ हजार ४ सय १६ मीटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पोखरा फर्कने गर्छन् । यो क्षेत्र विश्वको चर्चित पदमार्गका रूपमा परिचित छ । पोखरा आउने अधिकांश पर्यटक यस क्षेत्रको पदमार्गमा जाने गर्छन् । नेपाल आउनेमध्येका धेरै विदेशी पर्यटकले पदयात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का टुरिजम अफिसर रश्मी आचार्य बताउँछिन् ।
आकाशमा उड्ने साहसिक खेलका रूपमा प्याराग्लाइडिङ पोखराको मुख्य आकर्षणको रूपमा विकसित हुँदै छ । पोखरामा करीब ५ दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनी रहेका छन् । प्याराग्लाइडिङमा उडेर मज्जा लिन ठूलो संख्यामा स्वदेशी विदेशी पोखरा आउँछन् । पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा हिमशृंखला हेर्न पाइन्छ । अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालन हुँदै आएको छ । पछिल्लो समय पोखरामा व्यावसायिक साहसिक खेलका रूपमा भित्रिएको बञ्जीजम्पले व्यावसायिकता ग्रहण गर्न थालेको छ । साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि बञ्जीजम्प अत्यन्त रोमाञ्चकारी खेल मानिन्छ । पोखराको हेम्जामा टावरसहितको बञ्जीजम्म सञ्चालनमा आइसकेको छ । त्यस्तै, सराङकोटबाट हेम्जासम्म जीपलाईन अर्को आकर्षण बन्दैछ ।
नयाँ आयाम दिँदै अन्तरराष्ट्रिय विमानस्थल
पर्यटकीय नगरी पोखरा रहेको बनिरहेको यस विमानस्थलले पोखरालाई ‘इन्टरन्यासनल कनेक्टीभिटी’ दिन्छ नै, मुलुकको हवाई सेवालाई विविधीकरण गर्न समेत सहयोग गर्नेछ । नेपालकै निजी वायुसेवा कम्पनीहरूले आफ्नो अन्तरराष्ट्रिय उडानका लागि पोखरालाई आधार बनाउने बताइसकेका छन् ।
विमानस्थल निर्माणका लागि पोखरामा ४० वर्ष पहिले ३ हजार १ सय ६ रोपनी जग्गा अघिग्रहण गरिएको थियो । काठमाडौंको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलले बढ्दो चाप थेग्न नसकिरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्न अगाडि बढाइएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका काम करीब ५४ प्रतिशत सम्पन्न भइसकेको परियोजना प्रमुख बिनेश मुनकर्मी बताउँछन् । चिनियाँ कम्पनी सीएएमसीले निर्माण गरिरहेको यस विमानस्थल सरकारले ईपीसी मोडेलमा बनाउँदै गरेको हो ।
चीनको एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण गरिँदै गरेको यस विमानस्थल निर्माणपछि यस प्रदेशमा पर्यटकको आगमन उल्लेख्य वृद्धि हुने पोखरेलीको अपेक्षा छ । गण्डकी प्रदेशमा अन्य सातओटा आन्तरिक विमानस्थल छन् । अहिले पोखरा र जोमसोम विमानस्थल मात्र सञ्चालनमा छन् । नेपाल राष्ट्रिय पर्यटन परिषद्का पूर्व सदस्य एवम् पयर्टन व्यवसायी वासु त्रिपाठी अन्तरराष्ट्रिय विमानस्थलको निर्माणपछि समग्र पश्चिमाञ्चल क्षेत्रको विकासले तीव्रता पाउने बताउँदै मित्रराष्ट्र चीनसँग सीमा जोडिएको कोरला नाकासम्म स्तरीय सडक र लुम्बिनीसम्म फास्टट्र्याक निर्माण गर्न आवश्यक रहेको बताए ।
जलस्रोत विकासमा तीव्रता
प्रदेशमा हिमनदी तथा हिम तालहरूको संख्या धेरै भएका कारण जलविद्युत्को सम्भावना उच्च छ । स्याङ्जामा १४४ मेगावाट कालिगण्डकी ए, ९ दशमलव ४ मेगावाट आँधीखोला, तनहुँमा ६९ मेगावटको मस्र्याङ्दी, लमजुङमा ७० मेगावाटको मध्यमस्र्याङदी, ५ मेगावाटको सिउरूले, ४ मेगावाटको खुदी र पर्वतमा १४ दशमलव ८ मेगावाटको मोदीखोला र १० मेगावाटको तल्लो मोदी सञ्चालनमा छन् । निर्माणाधीन सहित सानाठूला जलविद्युत् आयोजनाको संख्या तीन दर्जनभन्दा बढी छ । निर्माणाधीन आयोजनाहरू सञ्चालनमा आएपछि मुलुकको कुल ऊर्जा उत्पादनको ५५ प्रतिशतको योगदान गण्डकी प्रदेशबाट मात्र हुन सक्छ ।
अगाडि बढ्दै औद्योगिक विकास
गण्डकी प्रदेशमा औद्योगिक उत्पादनका लागि पोखरामा औद्योगिक क्षेत्रको स्थापना गरिएको छ । यहाँ विभिन्न किसिमका दर्जनौं उद्योगले आआप्mना ब्रान्डका सामान उत्पादन गर्दै आएका छन् । दुई दशकभन्दा लामो समयदेखि निरन्तर चाउचाउ उत्पादन गरेर देशभरि नै प्रसिद्धि कमाएका
गण्डकी नुडल्स् र पोखरा नुडल्स् लगायत उद्योगका अलावा बिस्कुट, चकलेट, साबुन, अक्सिजन, मेटल लगायत उत्पादनहरू समेत यहाँबाट उत्पादन हँुदै आएका छन् ।
सरकारले पोखराको गगन गौडामा नयाँ औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अगाडि बढाएको छ । नवलपरासीमा भने अन्तरराष्ट्रियमा नै निर्यात हुने चाउचाउ र बियरका उत्पादनहरू हुने गरेका छन् । तनहुँँमा सूर्य टोबाको उद्योग र माछापुच्छ«े सिमेन्ट उद्योग सञ्चालनमा आएको छ भने गोरखामा प्रसिद्ध गोरकाली रबर उद्योगको स्थापना गरिएको भए पनि हाल बन्द छ ।
बढ्दो शहरीकरण
तनहु“मा मात्रै पृथ्वी राजमार्गको ७२ किलोमिटर क्षेत्र पर्छ । सडकका दृष्टिले अधिकांश स्थान कालोपत्र छ । केहीमा ग्राभेल भइरहेको छ । जहा“ सडक पुगेको छ, त्यहा“का गाउ“ क्रमशः बजारमा रूपान्तरित भएर शहर बनेको छ । यो प्रदेशमा मुख्य शहर पोखरास“गै पर्वतको कुश्मा, बागलुङको बागलुङ, म्याग्दीको बेनी, स्याङ्जाको वालिङ, पुतलीबजार, गल्याङ, गोरखाको गोरखा, तनहु“को आबुखैरेनी, दमौली, डुम्रे, दुलेगौंडा, खैरेनीटार, कोत्रे र नवलपरासीको बर्दघाट लगायत बजार छन् । यीबाहेक शहरोन्मुख बजारको संख्या दुई दर्जनको हाराहारीमा छ ।
स्वास्थ्यमा उच्चस्तरीय सेवा
पूर्वाधार र प्रविधियुक्त अस्पतालहरूमा मेडिसिन, अर्थोपेटिक, प्रसूति तथा स्त्री रोग, बालरोग, मानसिक रोग, छाला तथा यौन, न्यूरो सर्जरी र दाँत रोगलगयत रोगको विशेष उपचार हुने गरेको छ । नेपालमा भर्खरै मात्र भित्रिएको टुथ इम्प्लान्टेशन (दाँत रोप्ने) प्रविधिको समेत यस प्रदेशमा प्रयोगमा रहेको छ ।
मुटुरोगको विशेष सेवासमेत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालम सञ्चालनमा आएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई केही समय पहिले पोखरा स्वास्थ्य प्रतिष्ठानको रूपमा विकास गर्दै मेडिकल कलेजका रूपमा सञ्चलनमा ल्याउने तयारी थालिएको छ । उक्त कलेजमा मास्टर लेभलको मेडिकल शिक्षा शुरू हँुदै छ । यो राजधानी बाहिरको पहिलो कलेज हो । यस अन्तर्गत विभिन्न विषयगत छुट्टाछुट्टै अध्ययन हुनेछ ।
मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज जस्ता पूर्वाधार र प्रविधियुक्त अस्पताल र निजीक्षेत्रका अस्पतालले प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेका छन् भने छिमेकी जिल्ला बाग्लुङमा समेत सुविधा सम्मन्न धवलागिरि अञ्चल अस्पताल रहेको छ ।
अधिकांश गाउँपालिका र नगरपालिकामा सरकारी स्तरका अस्पताल, सुविधा सम्पन्न स्वास्थ्य चौकी रहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा डाक्टर सहितको सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्रहरू सञ्चालनमा रहेका छन् ।
मनिपाल कलेजमा अध्ययन गर्न विभिन्न देशबाट विद्यार्थीको आउने गरेका छन् । एमबीबीएसमा मात्र नभएर स्टाफ नर्स र ब्याचलर नर्सिङमा समेत विद्यार्थीको लर्को लाग्दै आएको हो ।
निजीक्षेत्रको लगानीमा झन्डै १ दशकदेखि सेवा प्रदान गर्दै आएको गण्डकी मेडिकल कलेजमा पनि एमबीबीएस र स्टाफ नर्सको उच्च शिक्षा अध्यायन गर्न तँछाडमछाड हुने गरेको छ । गुणस्तरीय कलेजमा पर्ने यो कलेज विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ ।