ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दलहरूले अपनत्व लिन नसक्दा संघीयता टुहुरो र बेवारिसे जस्तो बनेको छ

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पृथ्वी सुब्बा गुरुङ, मुख्यमन्त्री, गण्डकी प्रदेश

मुलुकमा संघीयता कार्यान्वयन भएको डेढ वर्ष बितिसक्दा संघीयता कार्यान्वयनको विषय सहज बन्न सकेको छैन । संघ, प्रदेश र स्थानीय सरकारका बीचमा अधिकार बाँडफाँट विवादित बनेको छ । नीतिगत समस्या अझै निराकरण हुन सकिरहेको छैन । संघीयता कार्यान्वयनको अवस्था किन पेचिलो बन्दै गएको छ त ? प्रस्तुत छ, संघीयता कार्यान्वयनमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या र समाधानका उपायबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग आर्थिक अभियानका टीपी भुसाल र मिलन विश्वकर्माले गरेको कुराकानीको सार :

मुलुक संघीय अभ्यासमा गएपछिको यो अवधि संघीयता कार्यान्वयनका दृष्टिले कति सहज, कति असहज रह्यो ? संघीयता कार्यान्वयन पेचिलो बन्दै गएको हो ?
नेपाल संघीय शासन प्रणालीमा जाँदा नै यस विषयमा जति छलफल हुनुपर्ने हो, त्यो हुनसकेन जसका कारण संघीयता कार्यान्वयन  अपेक्षित ढंगले अगाडि बढेन । संघीयताको अपनत्व अहिलेका सत्तारुढ दल तथा प्रतिपक्षले नै राम्रोसँग लिन सकेका छैनन् । त्यसले गर्दा कता कता यो संघीयता टुहुरो, बेवारिसे जस्तो बनेको छ । एउटा कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकार, ६ प्रदेशमा उसको दुई तिहाइको सरकार नै छ । यस्तो बेला संघीय शासन प्रणाली जुन रफ्तार, सहजता र आयतनका साथ जानुपर्ने थियो, त्यसरी नजानुको कारण कम्युनिस्ट पार्टीभित्र पनि संघीयता कार्यान्वयनको सम्बन्धमा पर्याप्त छलफल नै भएको छैन । संघीयता कार्यान्वयन गर्ने सवालमा कहाँ कहाँ समस्या छ, संघ र प्रदेशबीचको अन्तरद्वन्द्व कहाँनेर छ, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व कहाँनेर छ, यसलाई सहजता पूर्वक लैजान संघले के के कुरामा सहजीकरण गर्नुपर्छ, त्यो कुरा संघीय सरकारले प्राथमिकताका साथ ल्याउनुपर्थ्यो, तर अझै अन्योल र अलमल कायमै छ । संघीयताको सहज कार्यान्वयनका लागि यी विषयको समाधान आवश्यक छ ।
 
यो असन्तुष्टि त गत वर्ष पोखरामा मुख्यमन्त्रीहरूको भेला गरेरै तपाईंहरूले  व्यक्त गर्नुभयो । त्यसपछि अन्तरपरिषद् बैठक पनि भए । यो विषय संघलाई यहा“हरूले बुझाउन नसक्नु भएको कि संघका नेताहरूले बुझ्न नचाहेको ?
हामीले बुझाउन नसेकेको होइन कि उहाँहरूले बुझ्न नचाहेको देखियो । गण्डकी प्रदेशको मुख्यमन्त्रीको नेतृत्वमा पोखरामा गरिएको मुख्यमन्त्रीहरूको भेलालाई संघीय सरकारले चुनौतीको रूपमा लियो । संघीय सरकारको विरुद्धमा प्रदेश सरकार एकजुट हुन खोजे भन्ने ढंगले बुझियो तर, हाम्रो उद्देश्य त्यस्तो थिएन । मुख्यमन्त्रीहरूले व्यावहारिक कठिनाइलाई उठाएका थिए, जसको समाधान संघले मात्र गर्न सक्दथ्यो । तर, संघीय सरकाररूारा यसलाई ‘इगो’ को रूपमा हेरियो । तिमीहरूले भेला गर्छौ भने हामीले अन्तर प्रदेश परिषद्को बैठक नै बोलाउँदैनौं भन्ने खालको प्रतिक्रया आयो जसले प्रदेश र संघको बीचमा अविश्वास पैदा ग¥यो । त्यो हुनु नै गलत थियो । किनभने, हामीले कुनै संघको सरकारलाई फाल्न वा संघको प्रतिवादका लागि भेला गरेकै होइन । त्यो बेला हाम्रो ६–७ महीनाको अनुभव कस्तो रह्यो, हामीले के के समस्या भोग्यौं, यी समस्या समाधानका लागि साझा सहमति के के विषयमा गर्ने भन्ने छलफल गरेका हौं । केन्द्रीय सरकारलाई के सुझाव दिने भनेर छलफल चलाएका हौं । त्यो देखेर सिंहदरबारका मान्छेहरू तर्सिए । त्यसपछि प्रदेश सरकारको गतिविधि नसहने मानसिकताले समस्या सृजना गरेको हो ।

तपाईंहरूले कुरा उठाएको केही समयपछि सिंहदरबारमा केन्द्रीय सरकारले अन्तर प्रदेश बैठक बोलायो । त्यसपछि केही उपलब्धि भए ?
समयमा बैठक नराख्नु संघको तर्फबाट ठूलो गल्ती थियो । भदौदेखि मङ्सिर र त्यसपछि पुसको ३ गते दोस्रो बैठक गर्दासम्म धेरै समय बितिसकेको थियो । संवैधानिक व्यवस्था अनुसार अन्तरप्रदेश बैठक त बस्नैपर्ने रहेछ । त्यो नै हो समस्या समाधानको संरचना, जहाँ प्रधानमन्त्री, केन्द्रीय अर्थ र गृहमन्त्री तथा मुख्यमन्त्री रहन्छन् । त्यो संरचना माध्यमबाट समाधान गर्नुको सट्टा त्यसको बैठक नै नबोलाएपछि के समस्या सृजना भयो ? त्यसैले हामीले यसको सचिवालय गठन गर्न, कार्यविधि बनाउन, नियमित बैठक बोलाउन प¥यो भनेका छौं । यो कसैको इच्छा वा सुविधाको आधारमा होइन कि संवैधानिक ढंगले नै हो । त्यसो भन्दा पनि संघले सहज रूपमा लिएन । यसले अर्को समस्या सृजना ग¥यो । तथापि पहिलो र दोस्रो बैठकले जे निर्णय गर्‍यो, ती निर्णय एकदमै महŒवपूर्ण थिए । हामीले २९ ओटा विषयमा संघीयता कार्यान्वयनको एजेन्डा पास गरेका थियौं । २९ एजेन्डा तय गर्दा ८४ ओटा कार्यक्रम सम्पन्न गर्ने भनेका थियौं । बैठकबाट केही कुराहरू समाधान भएका छन् । तर, अझै गर्नुपर्ने धेरै काम बाँकी नै छन् । तर संघ सरकारलाई हाम्रो चासो र संवैधानिक व्यवस्थाका बारेमा स्पष्ट पार्ने काम भएको छ ।

भनेपछि प्रधानमन्त्री आफै संघीयताको विरोधी पो देखिनुभयो, होइन ?
संघीय सरकार मातहत प्रदेश, प्रदेश मातहत स्थानीय जस्तो अभिव्यक्ति प्रधानमन्त्रीबाट आएकै हो । अहिले पनि कतिपय अवस्थामा हेर्ने हो भने प्रधानमन्त्रीले अधिकार केन्द्रीकरण गरेको देखिन्छ । यो सबै संघीय चरित्रअनुसार भएन । यसलाई सुधार गर्दै जानुपर्छ कि पर्दैन ? संघीय प्रणालीमा एउटा सर्वमान्य सिद्धान्त के हो भने संघीय प्रणालीमा सिनियर जुनियर सरकार हुँदैन । संघको सरकार सिनियर, स्थानीय सरकार जुनियर भन्ने हुँदैन । हाम्रो तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारका आ–आफ्नै अस्तित्व छ । फरक यति मात्र हो, नेपाल सरकारसँग तीन–चारओटा विशेष अधिकार छन्, जुन प्रदेश सरकारसँग छैन । सिंगो राष्ट्रको सुरक्षाको जिम्मा, आन्तरिक सुरक्षाको जिम्मा, अन्तरराष्ट्रिय सम्पर्क सन्दर्भको कूटनीति, राष्ट्र बैंक चलाउने÷मुद्रा छाप्ने बाहेक अरू सबै अधिकार तल छ । त्यसकारण हामी प्रदेश सरकार नेपाल सरकारको मातहतमा होइन । संघमा चाहिँ हाम्रो ‘पावर शेयरिङ’ छ । तलको सरकारमा भने विशेष स्वायत्तता छ । त्यो सिद्धान्तमा हामी जानुपर्छ ।
 
तीन तहको अधिकारको विषय त संविधानले नै स्पष्ट पारेको छ । तर अधिकारको विषयमा पनि तीन तहबीच कतिपय अवस्थामा झगडा भएको देखिन्छ । यस्तो किन ?
 नेपालमा तीन तहको कि दुई तहको सरकार हुने भनेर कहिले पनि गम्भीर छलफल भएन । समान्यतया हामीले दुई तहको सरकार नै भनेका थियौं ।  प्रदेश कतिओटा बनाउने भन्ने कुरा मात्र थियो । संघ र प्रदेश सरकार हुन्छन् भन्ने थियो । स्थानीय तहमा प्रदेश अन्तर्गत त्यसका एजेन्सीहरू हुन्छन् भन्ने खालको अवधारणा हो । पछि संविधान बनाउने बेलासम्म आउँदा राजनीतिक दलका नेतालाई लाग्यो कि दुई तहको मात्र सरकार बनाउँदा प्रदेश सरकार शक्तिशाली हुन्छ, संघ कमजोर हुन्छ । त्यसकारण प्रदेश सरकारलाई अलिकति साइजमा ल्याउन स्थानीय सरकार बनाउन प¥यो भन्नेमा पुगे । त्यो बेला मधेशलाई देखाएर त्यो प्रयास भयो । किनभने धेरै नेताहरू स्थानीय स्वायत्तताको कुरा उठाउँदै आएका थिए, विकेन्द्रीकरणको कुरा उठाइरहन्थे । विकेन्द्रीकरणमा चलेको भए मुलुक संघीयतामा जानुपर्ने नै थिएन नि । विकेन्द्रीकरण संसारमा असफल व्यवस्था हो । क्षेत्रीय विकासको कुरा पनि असफल व्यवस्था हो । त्यसकारण हामी संघीय शासन प्रणालीमा जानुपर्ने बाध्यता आएको हो । अधिकारको विषय कतिपय स्पष्ट नै छ, जहाँ स्पष्टता छैन, त्यसमा कानूनद्वारा स्पष्ट पार्दै जानुपर्छ ।
 
तीन तहका सरकारबीचको स्रोतमाथिको लडाइँ, जनतालाई सुविधाभन्दा सास्ती धेरै अनि सबै तहमा हुने खर्चका हिसाबले पनि संघीय व्यवस्था नै मह“गो रहेछ भन्ने टिप्पणी आउन थालिसके । तपाईंको धारणा के छ ?
विगतमा पनि स्थानीय तहमा पनि कुनै न कुनै संरचना त थियो । पहिले केन्द्र र स्थानीय सरकार सहित दुई तहको संरचना थियो । । अहिले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचनामा हामी गएका छौं । तर, संघीयताको मूल मर्म बोकेर आएको नयाँ संरचना प्रदेश मात्र हो । अमेरिका, क्यानडा, अस्ट्रेलिया, जर्मनी, रूस, स्पेन र भारत यी सबै देशमा संघीय शासन प्रणाली छ । उदाहरणको रूपमा स्वीजरल्यान्ड जनसंख्या र भूगोलका हिसाबले पनि हामीभन्दा सानो मुलुक हो । तर त्यहाँ २६ ओटा प्रान्तीय सरकार छन्, उसले त्यसलाई धानेको छ । पहाडी मुलुक भएर पनि संसारकै धनी मुलुकमध्ये एक बनेको छ । त्यो संघीयता भएर नै सफल भएको हो । त्यसकारण संघीय प्रणालीमा प्रश्न उठाउँदा यो विषयमा अध्ययन गर्नुपर्छ । प्रदेश सरकारमाथि जुन प्रश्न उठाइएको छ, त्यो संघीयता विरोधीको प्रलाप मात्र हो । संघीय प्रणाली तुलनात्मक रूपमा महँगो प्रणाली हो नै । एउटा सरकारको ठाउँमा ७६१ ओटा सरकार भएपछि स्वतः महँगो हुन्छ । तर हामीले ८ ओटा सरकार हुने ठाउँमा यतिका बनायौं । अध्ययन नै नभएर जिल्ला सभा पनि बनाएका छौं । त्यो अनावयश्क बोझ हो । जनताका लागि यो भन्दा सस्तो र सहज प्रणाली अन्त छैन । स्रोत माथिको अधिकारको विषयमा पनि कानूनतः स्पष्ट हुँदै जानुपर्छ ।
 
तर जनताबाट कर उठाउने, महँगा–महँगा गाडी किन्ने, आफ्नै सुविधामा रमाउने, तर जनता भने सधैं उस्तै । यो त सत्य हो नि ?
 संघीय सरकारको गाडी किनेको कसैले नदेख्ने तर प्रदेश सरकारले भने गाडी चढेको मात्र देख्ने ? स्थानीय तहले हामीले भन्दा पहिले नै गाडी किनिसकेका थिए । माथि संघ भइहाल्यो, बीचमा त राजस्व उठाउने र खर्च गर्ने, गाडी किन्ने प्रदेश मात्र भयो भन्ने खालको पनि टीकाटिप्पणी भए । संघीयतामा प्रदेश नै आवश्यक हो कि होइन भन्ने बहस हुन थाल्यो । कहाँ कति धेरै खर्च भएको छ तुलना गरौं न । आज आर्थिक नियमावली अनुसार चलेको छ भने संघ र स्थानीय होइन, प्रदेश सरकार मात्र हो । प्रदेश सरकार गाडी मात्र किनेर बसेको छैन । देखिनेगरी काम पनि गरेका छौं । १५–२० वर्षदेखि केन्द्र मातहतमा रहेर नबनेका बाटो, पुलहरू प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेपछि बनिसक्यो । प्रदेश सरकारहरूले अबको ५ वर्षभित्र प्रदेश कस्तो बनाउने भनेर योजना बनिसकेको छ । त्यस कारण प्रदेश सरकारले केही गरेर केही भएन भनेर भन्नु गलत कुरा हो । जनताले पनि केन्द्रमा आएर लिनुपर्ने सुविधा तल्लो तहमा पाउन थालेका छन् । हिजो जिल्लाको कुना कुनाबाट साना साना काम गर्न पनि काठमाडौं वा सदरमुकाम धाउनुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन । अहिले सबै काम वडामार्फत हुन्छ ।
 
प्रदेशहरूले आफ्नो योजना बनाइसके भन्नुभयो । गण्डकी प्रदेश ऊर्जा, पर्यटन सबैका हिसाबले पनि सम्पन्न छ । प्रदेशको समृद्धिका लागि तपाईंका योजना केके छन् ?
पर्यटकीय, सांस्कृतिक हिसाबले गण्डकी सम्पन्न प्रदेश हो । हामी ‘नेचर, कल्चर एन्ड एड्भेन्चर’ भन्छौं । यस हिसाबले ७ ओटा प्रदेशमा सबैभन्दा धनी हामी छौं । दोस्रो– प्रकृतिले नै हामीलाई मुलुकको मुटुमा राखिदियो । हाम्रो प्रदेश बीचमा छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणपछि हामीलाई अन्तरराष्ट्रिय तथा राष्ट्रिय लिंकअप गर्ने कुरा हामीलाई कुनै समस्या हुनेछैन । यो हामीलाई प्रकृतिले दिएको वरदान हो । अब प्रदेशलाई समृद्ध कसरी बनाउने भनेर प्रथम पञ्चवर्षीय योजना, १०–१२ वर्षीय मध्यमकालीन योजना र २५ वर्षको  दीर्घकालीन योजना बनाएका छौं । त्यही फ्रेमभित्र रहेर प्रदेशको विकासमा लागिपरेका छौं ।
 
आर्थिक विकासका लागि प्रदेशका प्राथमिकता क्षेत्र के के हुन् ?
हामीले पहिलो प्राथमिकता पर्यटन भनेका छौं, दोस्रो ऊर्जा, तेस्रो कृषि, चौथो उद्योग, पाँचौं पूर्वाधार, छैटौं जनशक्तिको विकास र सातौं सुशासन । लगानीको हिसाबले तथ्यांक विभागले जे जे तथ्यांक निकाल्यो, त्यस हिसाबले ५ वर्षभित्र रु १० खर्ब १२ अर्ब चाहिन्छ । लगानी हिसाबले हाम्रो पहिलो नम्बरको ऊर्जा हुँदो रहेछ । दोस्रो पूर्वाधार, तेस्रो कृषि, चौथो उद्योग, पाँचौं पर्यटन  र छैटौं सामाजिक क्षेत्र छ । यी सबै क्षेत्रहरूलाई समेटेर नै आर्थिक समृद्धिमा पुग्ने हो ।

प्रदेश सरकारले अघि सारेका योजनाका लागि प्रदेशको आयले मात्र पुग्दैन होला, यसका लागि कसरी लगानी जुटाउने योजना छ ?
 हाम्रो प्रदेशको गरीबी १४ दशमलव २ प्रतिशत छ । ५ वर्षभित्र ७ मा झार्ने भनेका छौं । १० वर्षभित्र १ मा झार्ने भनेका छौं । त्यो भनेको शून्य नै हो । २०३० मा गरीबविहीन प्रदेश बनाउने योजना छ । त्यसका लागि लगानी त्यही अनुसारको वृद्धि गर्नुपर्नेछ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान बढाउनुपर्ने नै छ । जीडीपीमा योगदान बढाउन ५ वर्षभित्र १० खर्ब १२ अर्ब लगानी चाहिन्छ । त्यो सरकार, निजीक्षेत्र, सहकारी, विदेशी लगानी गरी स्रोत जुटाइनेछ । यसका लागि प्रदेश सरकारले लगानी सम्मेलनको तयारी पनि गरिरहेको छ । त्यसका लागि पहिले अन्तर सहकारी वित्तीय ऐन नै संशोधन गर्नुपर्छ । त्यसमा कुनै विदेशीले प्रदेश तथा स्थानीय तहमा लगानी गर्न आउने भयो भने शुरूमा संघ सरकारसँग नसोधी तल आउन नै नपाउने व्यवस्था छ । यसले प्रदेशमा लगानीको वातावरणमा अवरोध सृजना गरेको छ । लगानी गर्न चाहनेहरू छन्, तर कानून नहुँदा समस्या भएको छ । त्यसैले यो कानून संशोधन हुन आवश्यक छ । गर्न सक्नेलाई त गर्ने ठाउँ दिनुपर्‍यो नि । किन हातखुट्टा बाँधेर राख्ने ? संघ सरकारसँग मेरो यही गुनासो छ । हामी लागिपरेका छौं । यही विषयमा सातै प्रदेशको एउटै आवाज बनाउने भनेर भन्दा मुख्यमन्त्री भएर राजनीति ग¥यो भन्ने आरोप लाग्छ । हामी स्वायत्त सरकार हौं भन्ने संघीय सरकालाई अनुभूति नै छैन । तर, त्यो कुरा हामीले स्थापित गरेर नै छाड्छौं । त्यो नभईकन मुलुकमा विकास पनि हुँदैन ।
 
सरकार त तलदेखि माथिसम्म कम्युनिस्टहरूकै छ । तर पनि नीतिगत सुधारमा यो अड्चन किन ?
नेकपाभित्र नै विविधतासँगै धेरै विभीषणहरू पनि छन् । यो हुन नदिनु तिनीहरूकै काम हो । प्रधानमन्त्री बिरामी मान्छे, तर आज पनि उहाँ १८ घण्टा खटेर काम गर्नुहुन्छ । यति हुँदा हुँदै पनि हामी सबैले उहाँलाई गाली गरिरहेका छौं, किन ? जनताले प्रदेशमा दुई तिहाइ र संघमा झन्डै दुई तिहाइ मत दिएका छन् । तर यो कम्युनिस्टलाई पचेन । नेकपाको नेताहरूको गतिविधि के छ ? म कुन पद पाउने, म चुनावमा लड्न पाउने कि नपाउने भनेर झगडा गर्ने कि यो सरकारलाई सफल बनाउन लाग्ने ? समाजवादमा पुग्नु छ भने त्यसको मार्गचित्र के हो, त्यसमा छलफल हुनु पर्दैन ? समस्या यहाँनेर छ । यी समस्याको सहज समाधान खोज्न सकिन्छ । इच्छा शक्ति हुनुप¥यो । मुलुकलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा लैजाने रोडम्याप पनि यही नै हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)