२०२१ सालमा स्थापना भएको भाजुरत्न इन्जिनीयरिङ एन्ड सेल्सले ‘एग्री सेल्स डिभिजन’ नै खडा गरेर कृषि उपकरणहरू विक्री वितरण गर्दै आएको छ । लामो इतिहास बोकेको कम्पनीसँग देशबाट कुन क्षेत्रमा के कस्ता उपकरण माग आउँछन् भन्ने राम्रो अनुभव छ । डिभिजन प्रमुख यादव अधिकारी खासगरी जोत्ने, सम्याउने तथा ढुवानीमा उपकरणको प्रयोग बढेको बताउँछन् । ‘ठूला प्लट हुने तराईमा रोटाभेटर, स–साना गह्रा हुने पहाडमा कल्टिभेटर, पावर ट्रिलर जस्ता उपकरण खन्न र लेबलर माटो सम्याउन प्रयोग हुँदै आएका छन्,’ उनले भने, ‘पहाडी क्षेत्रमा जमीन पनि कमै हुने भएको हुँदा खेतीका लागि भन्दा बढी ढुवानीका लागि साधन जान्छन् ।’
जोत्ने र चुट्ने काममा उपकरण लगाइए पनि रोप्ने, गोड्ने, काट्ने जस्ता काममा अझै पनि मानिस नै लाग्ने गरेको उनको अनुभव छ । सामान्यतया पुरुषले गर्ने भनी मानिएको जोत्ने काम गाउँघरका अधिकांश पुरुष देश वा गाउँ बाहिर रहेका कारण उपकरणको प्रयोग हुन थालेको हो । तुलनात्मक रूपमा अझै पनि धेरै महिलाहरू गाउँ घर तथा देशभित्रै रहेकाले त्यसपछिका हलुका भनिने रोप्ने, गोड्ने, काट्ने जस्ता काममा उपकरणका सट्टा महिलाको सहभागिता रहेको अधिकारीको अनुभव छ ।
तर विगत १२ वर्षदेखि कृषिमा यन्त्रीकरण अभियान चलाएका वीरेन्द्रबहादुर बस्नेतको भने फरक अनुभव छ । बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत कृषक एवं कृषि व्यवसायी परिवारका सदस्य हुन् । त्यसैले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालित ‘नेपाल कृषि कम्पनी’बाट मोरङ र सुनसरीको कृषिमा यन्त्रीकरणका माध्यमले कृषकलाई सघाइरहेका छन् । वैदेशिक रोजगारीमा युवाहरू पलायन हुँदै जाँदा कृषिमा भइरहेको जनशक्ति अभावलाई सम्बोधन गर्नुका साथै प्रविधिको प्रयोगले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु उनको उद्देश्य हो ।
खासगरी धानखेतीमा बीउ राख्नेदेखि, जोत्ने, रोप्ने, गोड्ने, काट्ने, चुट्नेसम्मका प्रविधिको प्रयोगमा उनको कम्पनीले काम गरिरहेको छ । त्यसैगरी आउँदो चैते धान सुकाउन भ्याउने गरी ‘ड्रायर’ ल्याउने तयारीमा कम्पनी रहेको छ ।
नेपालको औसत धान उत्पादन साढे ३ टन प्रतिहेक्टर रहेकोमा कम्पनीले ल्याएको प्रविधि एवं उपकरणको प्रयोगबाट प्रतिहेक्टर ६ टन धान उत्पादन भइरहेको नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक डा. विवेकानन्द झाले बताए । उत्पादन वृद्धिका लागि कम्पनीले यो पटक ५० बिगाहाका किसानलाई प्रतिकिलो ६ सय रुपैयाँ पर्ने हाइब्रीड धानको बीउ बाँडेको छ । यसबाट प्रतिहेक्टर ९ टनसम्मको धान उत्पादन हुने कम्पनीको अपेक्षा छ । नयाँ जातको र महँगो बीउ भएकाले किनेर खेती गर्न कृषक आकर्षित नहुने अनुमानका साथ कम्पनीले सित्तैमा बीउ बाँडेको कम्पनीका कार्यक्रम प्रबन्धक झाले जानकारी दिए । ‘नेपालमा परीक्षण नभइसकेकाले यो बीउले यहाँको हावापानीमा भनिए जति नै उत्पादन दिने नदिने यकिन भएको छैन,’ झाले भने, ‘उत्पादन राम्रो भए अर्को वर्षदेखि थप क्षेत्रमा यही बीउ विस्तार गर्ने योजना छ ।’
नेपालीको प्रमुख खाद्यान्न चामल भएकाले धानको उत्पादन बढाई आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत बताउँछन् । त्यसैले कम्पनीले अन्तरराष्ट्रिय रूपमै उच्च उत्पादकत्व भएको धानको बीउ किसानलाई उपलब्ध गराउने, त्यसको खेती गर्ने विधि सिकाउने साथै आवश्यक यन्त्र उपकरणका माध्यमबाट सहजीकरण गर्ने काम गर्दै आएको छ । यसका लागि १०÷१० बिगाहाको ब्लक बनाई प्रति ब्लक एकै चरणमा रोप्ने, गोड्ने, काट्ने÷भित्र्याउने जस्ता कार्य हुँदै आएका छन् । यन्त्रको प्रयोगले उत्पादन वृद्धिका साथै भण्डारणका बेला हुने १५ देखि २० प्रतिशतको नोक्सानीसमेत कम भएको कम्पनीको दाबी छ ।
यति हुँदाहुँदै पनि सिजनमा उचित भण्डारण गर्ने र सिजन नभएका बेला महँगोमा बेच्ने व्यवस्था नहुनाले धान उत्पादन हुनासाथ विक्री गर्नुपर्ने बाध्यता किसानले भोग्दै आएका छन् । यही बाध्यतामा सहजीकरण गर्ने उद्देश्यले कम्पनीले धान सुकाउने र भण्डारण गरी त्यसैका आधारमा अर्को बाली लगाउन बैंकबाट ऋण उपलब्ध गराउने कमोडिटी एक्स्चेन्जको बन्दोबस्त पनि गरिरहेको छ ।
धानपछि कम्पनीको लक्ष्य तोरी खेतीमा रहेको छ । यन्त्रीकरणका साथ रोपिएको नयाँ बीउको धान कात्तिकमै भित्र्याई सोही खेतमा तोरी खेती गर्न कम्पनीले किसानलाई सहजिकरण गर्ने भएको छ । तोरी उठाएपछि पुनः अर्को बाली धान लगाउने कम्पनीको योजना छ । ‘यन्त्रीकरणका कारण रोपाईंका साथै कटाइ पनि छिटो छरितो हुन्छ,’ कम्पनीका कार्यक्रम प्रबन्धक झाले भने, ‘जन (खेताला) नपाउँदा समयमा खेती लगाउन, उठाउन नसक्ने अवस्थामा यन्त्रीकरणले बिघौंबिघामा एकै पटक काम सकिन्छ ।’ सामान्यतया वार्षिक दुई बाली लगाउने गरिएको उक्त क्षेत्रमा उपकरणका माध्यमबाट तीन बाली लगाउन मद्दत मिलेको छ भने चार बालीसम्म लगाउने गरी काम गरिरहेको झाले बताए ।
प्रविधि पनि नयाँ
कृषि कार्यमा उपकरणको प्रयोगसँगै नयाँ नयाँ प्रविधिको प्रयोग पनि बढ्दो छ । वैदेशिक रोजगारीमा जाने युवाहरू स्वदेश फर्किंदा त्यहाँ आर्जन गरेको धन मात्रै होइन शीप र प्रविधि पनि सँगै लिएर आइरहेका छन् । खासगरी, वैदेशिक रोजगारीका लागि भारत, दुबई, कतार, कोरिया, इजरायल जस्ता देशमा पुगेका युवाहरू त्यहाँ रहँदा आफूले काम गरेको कृषि प्रविधिमा नेपाल फर्किएर काम गरिरहेका छन् । यसबाहेक इजरायलले हरेक वर्ष साना किसान परिवारका नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा आफ्नै देशमा लगी त्यहाँको प्रविधिमा पढाउँदै पनि आएको छ । पानीको न्यूनतामा पनि कृषि कार्य गर्न सकिने प्रविधि विकास गरेको इजरायलमा व्यावहारिक शीपसहित पढेर आएका विद्यार्थीहरू नेपाल फर्किई सोहीअनुसार व्यावसायिक कृषिमा संलग्न रहेका छन् ।
इजरायलमै कृषि पढेर आएका ७५ जना युवाहरूको समूहले लमजुङको सुन्दरबजारमा २ सय ५० रोपनी जग्गा किनेर आधुनिक कृषि कार्य गर्दै आएको छ । ‘आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी’का रूपमा सन् २०१६ देखि काम गर्दै आएको उनीहरूको समूहमा लगानी गर्नेको संख्या अहिले १२० जना पुगेको छ । उनीहरू ५ ओटा ग्रीन हाउसमा थोपा सिँचाइ प्रविधिबाट तरकारी खेती गर्नुका साथै लेस कुखुरा पालन गर्दै आएका छन् । यही भदौ महीनाभित्रमा ३० ओटा गाईबाट गाई पालन पनि शुरू गर्ने योजनामा रहेका उनीहरूले भविष्यमा १०० ओटा गाई पालन गरी गोबर ग्यास सिलिण्डरमा भरेर बेच्नेसम्मको योजना बनाएका छन् ।
यति गर्दा हालसम्म रू. १० करोड लगानी गरिसकेका उनीहरू अबको दुई वर्षपछिबाट मुनाफा आर्जन हुने अपेक्षामा छन् ।
कृषि कार्यबाहेक अन्य कार्यहरू पनि गर्दै जाने योजना रहेको कम्पनीका सञ्चालकमध्येका एक देवराज आचार्य बताउँछन् । ‘यति सिक्न अरूले विदेश गइरहनु नपरोस् भन्ने उद्देश्यले हामीले सिकेर आएको ज्ञान र शीप हस्तान्तरणका लागि अनुसन्धान एवं प्रशिक्षण सञ्चालन गर्ने उद्देश्य छ,’ आचार्यले भने, ‘त्यसैगरी, भारतबाट तयारी उपकरण तथा सामग्री ल्याउँदा २५ लाख पर्छ भने, त्यसलाई यहीँ ल्याएर तयार पार्दा १५ लाख लाग्दो रहेछ । त्यसैले किसानलाई सस्तोमा प्रविधि उपलब्ध गराउने काम पनि हामी गर्छौं ।’
कृषिबाट राम्रो आम्दानी गर्न सकिने भए पनि मल, बीउ, औजार तथा उपकरण जस्ता सामग्रीमा पर्ने महंगो लागतका कारण उत्पादन लागत बढी पर्न गई भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो परेको आचार्यको भनाइ छ ।
सरकारले पनि कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यन्त्रीकरण गर्ने नीति लिएको छ । यसको कृषि उत्पादनमा सकारात्मक प्रभाव देखिन थालेको निष्कर्ष अर्थ मन्त्रालयले निकालेको छ । अघिल्लो आर्थिक वर्ष कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ८ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा ५ प्रतिशत कायम हुने अनुमान चालू आव २०७६÷७७ को बजेट वक्तव्यमा प्रस्तुत गरिएको थियो ।
उत्पादन एवं उत्पादकत्व वृद्धिकै लागि कृषि सामग्रीमा अनुदान, कृषि व्यवसायमा सहुलियत ऋण तथा यन्त्रीकरणमा पूँजीगत अनुदान समेतको कार्यक्रम बजेटमा घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका माध्यमबाट सरकारले यो कार्यक्रम अगाडि बढाउने भएको छ । निजी क्षेत्रका लागि कृषि उपकरणको आयातमा पनि यो व्यवस्था लागू हुने कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी बताउँछन् । ‘निजी तवरमा विदेशबाट कृषि उपकरण आयात गर्दा पनि सुविधा पाउने व्यवस्था छ,’ उनले भने, ‘तर यसका लागि व्यावसायिक कृषिका दर्तावाल किसान हुनुपर्दछ ।’
सामान्यतया लाखौंको मूल्य पर्ने कृषि उपकरण भित्र्याउने किसानको आर्थिक क्षमता हुँदैन । यसकारण, अधिकांश किसानहरू उपकरणबाट सेवा दिने व्यवसायीलाई पर्ने मूल्य तिरेरै प्रयोग गर्दछनु । सेवा दिने व्यवसायीलाई उपकरण आयातमा कुनै सहुलियत नभएका कारण महँगो मूल्यमा उपकरण भित्रिन्छन् र किसानलाई दिने सेवाको मूल्य पनि सोही अनुसार लिन्छन् । यसले किसानको कृषि उत्पादन लागत बढाउने काम गरेको छ ।
कृषिमा प्रयोग हुने ट्याक्टर जस्ता उपकरण अन्य प्रयोजनमा पनि प्रयोग हुन सक्दछन् । त्यसैले किसानलाई लाभान्वित गर्ने उद्देश्यले दिइएको सुविधाबाट किसानलाई नहुन सक्ने भन्दै अर्थ मन्त्रालयले यो व्यवस्था लागू गर्न सकेको छैन । ‘ट्याक्टरजस्ता केही उपकरणलाई छोडेर बाँकी उपकरण केवल कृषिमा मात्रै उपयोग गर्न सकिने पनि छन्,’ प्रवक्ता सुवेदीले भने, ‘त्यसैले उपकरणको वर्गीकरण गरी कृषिमा प्रयोग हुनेका हकमा सुविधा उपलब्ध गराउने प्रक्रिया लागू गराउने प्रयास गरिरहेका छौं ।’
अर्गानिकमा गोल्यान समूह
उपकरणका साथै नयाँ नयाँ प्रविधिको प्रयोगमा व्यावसायिक घरानाहरूको चासो बढ्दै गएको छ । व्यावसायिक घरानामध्येको एक गोल्यान समूहले गोल्यान एग्रो प्रालि नामक कम्पनी नै स्थापना गरी कृषि उत्पादन एवं प्रवर्द्धन गर्दै आएको छ । अर्गानिक उत्पादनमा केन्द्रित रहेको कम्पनीले झापा जिल्लामा २०९ विघा (करीब ३००० रोपनी) मा फार्म र करार खेती तथा साना किसानहरूको १५०० विघा (२०,००० रोपनी) मा उत्पादन तथा त्यहाँबाट संकलन गर्ने काम गरिरहेको छ ।
‘हामी सर्वप्रथम, उत्पादन क्षेत्रअनुसारको बाली छनोट र बजार अनुसारको बालीको क्षेत्र निर्धारणको लागि प्रस्तावना तयार गर्छौं, जसबाट उत्पादन र बजारको लागि आवश्यक सम्पूर्ण जानकारी लिन्छौ,’ गोल्यान समूहकी निर्देशक लतिका गोल्यान भन्छिन्, ‘प्रस्तावना अनुसार आवश्यक बीउका जातहरू, लगाउने तरीका, व्यवस्थापनका उपायदेखि बाली भित्र्याउने समयसम्म आवश्यक परामर्श सेवा उपलब्ध गराई उत्पादित उपजहरूको खरीद गर्नेसम्मको काम गरिरहेका छौं ।’ यो प्रक्रियामा सम्भव भएसम्म नयाँ प्रविधिहरूको प्रयोग गरिरहेको उनी बताउँछिन् ।
हालसम्म करीब १ अर्ब रुपैयाँ लगानी गरिसकेको कम्पनीको कुल २ अर्ब लगानी गर्ने योजना छ । स्वास्थ्यप्रति सचेत हुँदै गएको नेपाली समाजमा विषादीयुक्त एवं आयातित कृषि उत्पादनलाई विस्थापित गर्ने अभियानमा कम्पनीले नेतृत्वदायी भूमिका निर्वाहको प्रयास गरिरहेको छ । यस कार्यलाई सफल बनाउन सरकार, किसान र व्यापारी तीनै वर्गले आ–आफ्नो काम जिम्मेवारीपूर्वक गर्नुपर्ने गोल्यान बताउँछिन् । सरकारले अग्र्यानिक खेती विस्तारको नीतिगत व्यवस्था गर्नुपर्ने, कृषक जागरणका लागि अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी किसानहरूले अर्गानिक मापदण्ड अनुसार उत्पादन गर्नुपर्ने तथा खरीद गर्ने निकायहरूले नियमित रूपमा प्रांगारिक उत्पादनको अनुगमन गर्नु पर्ने उनी बताउँछिन् ।
सरकारको अर्को काममा उत्पादन अवधिभरि हुने सम्पूर्ण क्रियाकलापहरूको अनुगमन गर्नुका साथै बजार सहजीकरणका लागि उत्पादन लागत, ढुवानी तथा बजारीकरणमा नयाँ उपायको खोजी तथा स्वीकृतिको वातावरण बनाउनु पर्ने उनको भनाइ छ । समग्रमा कृषिबाट जनशक्तिको पलायनसँगै प्रविधि र उपकरणको प्रयोगले दिने लाभलाई दृष्टिगत गरी कृषिमा आधुनिकीकरणको आवश्यकता रहेको छ । व्यक्तिगत कृषिमा घट्दो सहभागिता र व्यावसायिक कृषितर्फ बढ्दो आकर्षणले पनि आधुनिकीकरणलाई सहजता दिन्छ । खाँचो छ त केवल, निजी क्षेत्रले गरिरहेको पहलमा सरकारले उचित ढंगबाट सहजीकरणको ।