ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नीतिगत व्यवस्थाले पनि फेरिएन पूँजी बजार

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे

करीब तीन वर्षदेखि निरन्तर घटिरहेको नेपाली शेयर बजार अझै घट्ने क्रम रोकिएको छैन । शेयर बजारका लागि उर्बर मानिने असार, साउन र भदौ महीनामा पनि बजार निरन्तर घटिरहेको छ । यो बजारमा लगानी गरेको करीब १५ लाख लगानीकर्ताहरूको सम्पत्ति एक वर्ष अघिसम्म रू. २१ खर्ब रहेको थियो, तर हाल घटेर रू. १५ खर्बमा आइसकेको छ । एकातिर लगानीकर्ताहरूले करीब रू. ६ खर्ब सम्पत्ति गुमाइसकेका छन् भने अर्कोतिर राज्यले पनि करोडौंको कर गुमाइसकेको छ । एक वर्ष अगाडिसम्म दैनिक अर्बाैंको कारोबार हुने गरेकोमा अहिले २५ देखि ५० करोडमा खुम्चिएको छ । सरकार र नियामक निकायले बजार विस्तारका लागि पहल गरे पनि बजारले गति लिन सकेको छैन ।  

यतिबेला लगानीकर्ताहरूको मनोबल एकदमै घटिसकेको छ । त्यसमा पनि साना लगानीकर्ताहरूको मनोबल झन् बढी घटेको छ । दुई वर्षअघि जो लगानीकर्ताले १८ सयदेखि १५ सय विन्दुमाथि बजार हुँदा पहिलो लगानी गरेका थिए, उनीहरूले यस बीचमा पाएको  बोनस र हकप्रद शेयर समेत जोड्दा पनि आफ्नो लगानी उठाउन सकेका छैनन् । देखासिकीमा लागेर पूँजीबजारमा आएका लगानीकर्ताहरूले अहिले धेरै तनाव झेलिरहेका छन् । उनीहरू घाटैमा शेयर बेचेर शेयरबजारमा नफर्किने गरी पलायन भएको खबर पनि सुनिन्छ । हुन त पूँजीबजार एकैनासको त हुँदैन, कहिले घट्ने र कहिले बढ्ने हुने गर्दछ । यो यसको विशेषता नै हो । तर बजार सधैं एकैनासले घटिरहनु पनि राम्रो होइन । यतिबेला ठूला लगानीकर्ता पनि मर्कामा परेका छन् । बजार दुई वर्ष यता निरन्तर घटिरहँदा नाफा कमाउने अवसर पनि गुमेको छ ।

नेपालको शेयर बजारको इतिहासलाई हेर्दा एक पटक १ हजार १७५ को विन्दुमा पुगेर घट्दै २९२ सम्म पुगेको थियो । अहिलेको अवस्था करीब १ हजार ८ सयभन्दा माथि पुगेर घट्दै १ हजार २ सयभन्दा मुनि आइपुगेको छ । जतिबेला बजार बढेर १ हजार ८ सय ८० को उच्च विन्दुमा पुगेको थियो, त्यतिबेला दैनिक रू. १ अर्बदेखि २ अर्बसम्मको शेयर कारोबार हुने गरेको थियो । तर यतिबेला दैनिक कारोबार खुम्चिएर २५ करोडदेखि ५० करोडसम्म मुस्किलले पुग्ने गरेको छ ।

आपूर्ति बढ्यो, माग बढेन
लामो समयदेखि बढिरहेको शेयर आपूर्तिका कारण बजार बढ्न नसकेको हो । आईपीओ तथा हकप्रद स्वीकृत भएर बजारमा आइरहेका छन् । साथै, कम्पनीहरूले आफ्नो नाफाको आधारमा शेयरधनीहरूलाई बोनस तथा हकप्रद शेयरसमेत दिइरहेका छन् । शेयरमा लगानी गर्नेले आश गर्ने पनि लाभांश बोनस शेयर र हकप्रद शेयर नै हो । तर राष्ट्र बैंक र बीमा समितिले चुक्ता पूँजी पुर्‍याउन दिएको निर्देशनले गर्दा प्रायः सबै कम्पनीहरूले हकप्रद जारीबाट पूँजी पु¥याए । सोही कारण बजारमा आपूर्ति बढ्दै र मूल्य घट्दै गएको हो । कम्पनीहरूले जारी गरेको हकप्रद शेयर नबिकेर दुई÷तीन पटकसम्म पनि लीलामी गर्नु परिरहेको छ, जसले गर्दा बजार मूल्यमा असर परिरहेको छ । धितोपत्र बोर्डले नीति तथा कार्यक्रममा यसलाई नियन्त्रण गर्न हकभन्दा बढी हकप्रद शेयरमा आवेदन दिन पाउने व्यवस्था ल्याउन लागेको छ ।
 
करीब चार वर्ष अगाडि कुनै कम्पनीको हकप्रद आउँदा लगानीकर्ताहरूको आवेदन दिने लाइन आँखाले नभ्याउनेसम्म हुने गर्दथ्यो । कम्पनीको साधारणसभामा आउने शेयरधनीहरूले अर्को कम्पनीले दिएको लाभांश बराबर वा त्योभन्दा बढी लाभांश किन दिन नसकेको भनेर प्रश्न गर्थे । तर अहिले यस्तो समयमा कम्पनीलाई बचाउन मात्रै आग्रह गरिरहेका हुन्छन् ।

शेयर बजार घट्नुका कारण

  • मार्केट मेकरको व्यवस्था ल्याउन नसक्नु ।
  • ब्रोकरलाई मार्जिन ट्रेडिङ सुविधा दिने भने तापनि दिन नसक्नु ।
  • बैंकहरूको उच्च ब्याजदर ।
  • शेयर आपूर्ति अत्यधिक बढ्नु ।
  • माग बढाउने खालका उपाय अपनाउन नियामक निकायले ध्यान नदिनु ।
  • बजारमा फैलाइने विभिन्न नकारात्मक हल्ला ।
  • हल्लाको पछाडि दौडिने सोझा लगानीकर्ता ।
  • बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा अल्झाइरहनु ।

हालको समस्या हकप्रद बिक्न छाडिसकेको मात्रै होइन । आईपीओ पनि पूरै बिकिरहेको छैन । प्रायः हाइड्रो पावर कम्पनीहरूले जारी गरेको आईपीओमा पूर्ण आवेदन परेको छैन । साथै, हकप्रद शेयर भरेको एक वर्षसम्म पनि डिम्याट खातामा नआउने समस्या अझै छ । यसरी लगानीकर्ताहरूको पूँजी एक वर्षसम्म विना ब्याज होल्ड भइरहेको छ । अत्यधिक आपूर्तिका कारण थला परेको बजारलाई उठाउन निकायको पहल गरे पनि बजारले गति लिन सकेको भने छैन ।

माग बढाउने एउटा उपाय
गैरआवासीय नेपालीहरूलाई नेपालको शेयर बजार खुला गर्ने नीति सरकारले ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । आपूर्ति अनुसारको शेयर खपत बढाउने नीति आए पनि कार्यान्वयन कहिले होला भन्ने पर्खाइमा लगानीकर्ता बसेका छन् । आपूर्ति बढेपछि बजारको अवस्था ठीक गर्न त्यस अनुरूप मागको पनि सृजना गर्न सक्नुपर्छ, जुन कार्य नेपाल सरकार र नियामक निकायले मात्र गर्न सक्छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)