शेयरको प्राथमिक बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीले प्रकाशन गर्ने प्रोस्पेक्टसमा शेयरमा लगानी गर्नु जोखिमरहित नहुने जानकारी गराइएको हुन्छ । तर, नेपालमा प्राथमिक बजारमा लगानी गर्ने अधिकांश लगानीकर्ताले उक्त प्रोस्पेक्टस अध्ययन नगरी लगानी गर्छन् । साधारणतया नेपालको प्राथमिक बजारमा निश्चित चुक्ता मूल्यमा शेयर विक्री गरिने भएकाले तुलनात्मक रूपमा न्यून जोखिम रहेको मानिन्छ । त्यसैले धेरै संख्यामा प्राथमिक बजारमा लगानी प्रस्ताव प्राप्त हुन्छ ।
लगानीका सन्दर्भमा हामीले सुन्दै आएको कुरा ‘जति धेरै जोखिम त्यति नै धेरै प्रतिफल’ लगानीकर्ता माझ अत्यन्तै प्रचलित वाक्य हो । के साँच्चै मानिसले उच्च प्रतिफलका लागि जोखिम लिन तयार रहन्छ त ? वित्तशास्त्रले जोखिम र प्रतिफल गणना गर्ने विभिन्न सहज विधि दिएको छ । कति जोखिममा कति प्रतिफल प्राप्त गर्नुपर्ने हो भनेर पनि गणना गर्न सकिन्छ । तर, व्यावहारिक रूपमा लगानीको निर्णय गर्ने अवस्थामा अधिकांश लगानीकर्ताले न जोखिम गणना गर्छन् न प्रतिफल नै । संख्या गणना नगरे पनि जोखिम र प्रतिफलको छुट्टाछुट्टै अनुमान भने गरेका हुन्छन् । अनि के पनि सत्य हो भने प्राकृतिक व्यक्तिले आफूले दुःख गरेर कमाएको रकम लगानी गर्दा जोखिम लिन नै चाहँदैन । लगानीपश्चात् प्राप्त हुने प्रतिफलका आधारमा एउटा सानो उदाहरण हेरौं ।
विकल्प १ : ५० प्रतिशत सम्भावना २ हजार रुपैयाँ प्रतिफल प्राप्त हुने र ५० प्रतिशत सम्भावना कुनै प्रतिफल प्राप्त नहुने ।
विकल्प २ : शत प्रतिशत सम्भावना ५ सय रुपैयाँ प्रतिफल प्राप्त हुने ।
प्रस्तुत दुई विकल्पमध्ये अधिकांश लगानीकर्ताको रोजाइ विकल्प २ रहन्छ । व्यावहारिक रूपमा व्यक्तिले आपूmसँग भएको बचत लगानी गर्दा सकेसम्म जोखिम लिन चाहँदैन । वित्तशात्रको सिद्धान्तअनुसार विकल्प १ उत्तम हो । तर, व्यवहारमा यो लागू हुँदैन । विकल्प १ को प्रतिफल प्राप्त हुने प्रतिशत बढाउँदा पनि अधिकांश लगानीकर्ताको रोजाइ विकल्प २ नै कायम रहने अध्ययनहरूले देखाएका छन् । त्यसो भए मानिसले जोखिम नै लिन चाहँदैन भने लगानीमा जोखिम भई किन लगानी डुब्ने गर्छ ? यसको पनि एक वास्तविक उदाहरण हेरौं ।
करीब २० वर्ष पहिले एक सार्वजनिक समारोहमा बेलायतकी महारानी एलिजावेथले नेपालमा बनेको पस्मिना सल लगाएको चर्चा भयो । यो चर्चासँगै यूरोपेली बजारमा नेपाली पस्मिना सलको माग बढ्यो । यसले गर्दा काठमाडौंमा पस्मिना सलको व्यापार गर्ने उत्पादकको आम्दानी बढ्न गयो । वरपरका छिमेकी साथीभाइले पस्मिना व्यापारबाट राम्रो कमाइ गरेको देखेपछि अन्य धेरै व्यक्तिले यो पेशामा लगानी गर्न थाले । घरघरमा हाते तान राखी पस्मिना सल उत्पादन गर्न थालियो ।
बजारमा माग निरन्तर रहन्छ/रहँदैन ? लागत अनुसार लाभ प्राप्त गर्न सकिन्छ÷सकिँदैन ? यो व्यवसायमा के कस्ता जोखिम छन् ? लगानी गर्नुभन्दा अगाडि लगानीकर्ताले अध्ययन गर्नुपर्ने अत्यन्त साधारण एवम् आवश्यक विषयमा समेत सोच विचार नगरी धेरै मानिस अरूले प्राप्त गरेको प्रतिफल देखेर मात्र लगानी गर्न हौसिए । कतिसम्म भने यस्तो व्यवसायको कुनै ज्ञान नभएका र समय दिन नसक्ने व्यक्तिले पनि लहैलहैमा लगानी गरे । यसले गर्दा उत्पादनको मात्रा बढ्यो, मूल्य अनि गुणस्तर घट्यो र केही महीनापछि नै पस्मिना सलको विदेश निकासी तीव्र रूपमा घट्न गयो । तयार गरिएका महँगा पस्मिना सल सस्तो मूल्यमा बेच्नु र केही समयपछि उत्पादन बन्द गर्नुको विकल्प रहेन । यो व्यवसायमा पछि छिरेका अधिकांश लगानीकर्ताले घाटा बेहोर्नुपर्यो ।
नेपालमा मात्र होइन प्रायः सबै देशका लगानीकर्ता लगानीका लागि निर्णय गर्दा जोखिम प्रतिफलको संख्या गणना गर्नेभन्दा आफ्नो वरिपरि अरूले गरेको लगानीबाट प्राप्त प्रतिफललाई हेर्ने गर्छन् । शेयर बजारमा प्रवेश गर्ने प्रायः नयाँ लगानीकर्ता अरूले सहजै कमाइ गरेको देखेर बजारमा प्रवेश गर्छन् । शेयर बजारमा लगानी गर्दा आज पनि संसारमा धेरै मानिस वारेन बफेट जस्ता सफल लगानीकर्ताले पछिल्लो समय के किने र के बेचे भनेर हेर्ने गर्छन् ।
मानिस बत्तीसै लक्षणले युक्त हुन सक्दैन । केही पक्ष सबल र केही पक्ष दुर्बल हुन सक्छ । अझै मानिसले निर्णय गर्ने बेला ऊसँग उपलब्ध सूचना, जानकारी, त्यस्ता जानकारीलाई अध्ययन गर्न सक्ने क्षमता, उसको वरिपरिको वातावरण, उसको मूड आदि विषयले मानिसको निर्णय क्षमतालाई असर गर्छ । मानिसको दिमाग मेशिन होइन । यसले सोच्ने गर्छ र समय अनि परिस्थिति अनुसार एउटै विषयमा पनि फरक निर्णय गर्न सक्छ । कम्प्युटर वा क्यालकुलेटरमा जतिपटक पनि २ गुणा २ टाइप गरेमा यसले प्रत्येकपटक एउटै उत्तर दिन्छ, ४ । तर, एउटै मानिसलाई तीनचार पटक २ गुणा २ कति हुन्छ भनेर सोध्नुभयो भने ऊ रिसाउँछ वा त्यसपछि उत्तर दिन छोड्छ । लगानी निर्णयमा पनि यस्ता कुराले असर गर्छन् ।
शेयर बजारमा नयाँ प्राप्त सूचना वा जानकारीबाट लगानीकर्ताहरू साधारणतया आवश्यकताभन्दा बढी प्रतिक्रिया व्यक्त गर्ने हुन्छन् । तथ्यभन्दा हल्लाका भरमा निर्णय गर्ने, देखासिकी गर्ने, नयाँ सूचना वा जानकारी प्राप्त हुनेबित्तिकै लगानी निर्णय गर्ने वा हालको लगानीमा पुनरवलोकन गर्ने, लगानी योजना तयार नगरी लहैलहैमा लगानी गर्ने जस्ता मानिसका व्यावहारिक कमजोरीका कारण लगानीमा जोखिम उत्पन्न हुन्छ । यस्तो जोखिम लिँदैमा प्रतिफल उच्च हुँदैन ।