ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रमा आकर्षण र लगानी बढ्दो

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

सरकारी तथा निजीक्षेत्रबाट पर्यटन क्षेत्रमा भइरहेको लगानीले यो क्षेत्र लगानीका लागि आकर्षक क्षेत्र बन्दै गएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित पर्यटन प्रवर्द्धनमा लागि रहेको समयमा ठूला हवाई पूर्वाधार निर्माण, पाँच तारे होटलदेखि संरचना निर्माणदेखि निजी विमान सेवा कम्पनीहरूले थप्दै गरेका जहाज र बढाउँदै गरेको गन्तव्यले पनि यो क्षेत्रलाई चलायमान बनाउँदै लगेको छ । सरकारले ठूला हवाई पूर्वाधारमा लगानी गरेको छ भने निजीक्षेत्रले होटल तथा जहाजहरूमा लगानी थपिरहेका छन् । यो क्षेत्रमा बढिरहेको लगानीले आर्थिक विकासमा पर्यटन क्षेत्र महत्त्वपूर्ण क्षेत्रका रूपमा देखिएको छ ।

पूर्वाधार विकास
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे रिह्याविलिटेशन (नयाँ पीच फेर्ने काम) तथा पार्किङ एरिया विस्तार जस्ता कामले विमानस्थलको क्षमता बढेको छ । अब विमानस्थल दैनिक २४ घण्टा सञ्चालन गर्न सकिने अवस्थामा पुगेको पर्यटन मन्त्री योगेश भट्टराईको धारणा छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउनेदेखि ट्याक्सी वेको काम पनि सँगसँगै अगाडि बढेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८३ प्रतिशत काम सकिएको छ । सरकारले विमानस्थलको सिभिल र मेकानिकल काम डिसेम्बरभित्र सम्पन्न गरी २०२० जनवरीमा अन्तरराष्ट्रिय परीक्षण उडान गर्ने लक्ष्य लिएको छ । यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको ४५ प्रतिशत काम सम्पन्न भएको छ । यस विमानस्थलको निर्माण पनि निर्धारित समयअघि नै सम्पन्न गर्ने र सबै प्रदेश राजधानीका विमानस्थललाई कम्तीमा ७० सीटभन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने सरकारको योजना छ ।

बारास्थित निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाउन लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने सरकारी क्रियाशीलताले हवाई पूर्वाधार निर्माणले थप गति लिने अपेक्षा छ । झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उपकरण जडान गरी रात्रिकालीन उडान शुरू गरिएको छ । यसले हवाई पूर्वाधार विकासमा नयाँ आयाम थप्नेछ ।

पाँच तारे होटलमै १० अर्बभन्दा बढी लगानी
पछिल्लो १ वर्षमा होटल पूर्वाधारमा पनि अर्बौं लगानी भएको छ । पर्यटन विभागको तथ्याङ्क र सम्बद्ध होटलका अनुसार १ वर्षमै चारओटा पाँचतारे होटलमा १० अर्बभन्दा बढी लगानी भएको छ । यस्तै पर्यटकीय स्तरका होटल तथा अन्य साना होटलहरूमा पनि लगानी बढ्दो छ ।

चालू आर्थिक वर्ष (आव) को पहिलो महीनाको तथ्याङ्क अनुसार पछिल्लो एकै वर्षभित्र तारे होटल र पर्यटक स्तरका होटल गरी ४६ ओटा होटल थपिएका छन् । आव २०७५/७६ मा १६ ओटा तारे र ३० पर्यटक स्तरीय होटल थपिएको विभागको तथ्याङ्कमा उल्लेख छ । २ वर्ष अगाडिसम्म १० ओटामा सीमित पाँचतारे होटलको संख्या हाल १५ पुगेको छ । यस्तै चारतारे होटल पनि पछिल्लो २ वर्षमै ११ ओटा र तीन तारेको संख्या ३४, दुईतारे ४३ र र एक तारको संख्या ३६ पुगेको छ । पर्यटक स्तरका होटलको संख्या ५२३ ओटा पुगेको छ । होटल विस्तारको क्रम राजधानीमा मात्र नभएर प्रादेशिक स्तरमा समेत बढेको होटल संघ नेपालले जानकारी दिएको छ ।

हवाई सम्झौता, जहाज र गन्तव्य थपिँदै
३९ देशसँग हवाई सम्झौता गरेको नेपालले थप पाँच देशसँग हवाई सम्झौताको तयारी गरेको छ । पछिल्लो समय नेपालले फिनल्यान्ड, इन्डोनेशिया, रूस अस्टे«लया र इन्डोनेशियासँग हवाई सम्झौताको तयारी गरिरहेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । यी मुलुकमध्ये रूस पहिले सम्झौता तथा उडान समेत भएको तर हाल उडान बन्द भएको मुलुक र अन्य नयाँ मुलुक हुन् ।

यस्तै नेपाल वायुसेवा निगमले ल्याएका दुईओटा वाइडबडीले भदौ १२ गतेबाट नेपाल जापानको ओशाकामा उडान शुरू गरिसकेको छ । ओशाका उडानसँगै निगमको गन्तव्य संख्या नौ पुगेको छ । निगमले जापानकै नारिता उडानका लागि थप तयारी थालेको छ । यस्तै चीनको क्वानचाउ, साउदीको रियाद जस्ता गन्तव्यमा उडानका लागि निगमको पहल जारी छ ।

यस्तै हाल पाँचओटा अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको हिमालय एयर लायन्सले समेत चीनका चारओटा गन्तव्यमा उडानको तयारी गरेको छ । एयरलाइन्सले सेप्टेम्बर अन्त्यसम्ममा एयर बस ३१९ ल्याएर अक्टोबरदेखि चीनको राजधानी पेचिङसहित चाङसी, नाङचाङ, र गुयानमा उडान गर्न लागिएको एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

बुद्ध एयरले समेत आन्तरिक उडानमा थप विमान थप्ने योजनामा छ । यस्तै बुद्ध एयरले एटीआर जहाज थप गरेर आन्तरिक तथा बा≈य उडानमा आप्mनो उपस्थिति बलियो बनाउने र त्यसका लागि पाइलट उत्पादन तथा अन्य तयारी भइरहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताएका छन् । बुद्धले देशका विभिन्न आठ गन्तव्यका साथै भारतको कोलकत्ता र बनारसमा पनि उडान गरिरहेको छ ।

यस्तै श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको अनुमति पाएको छ । साउन २७ गते भारतको बनारसमा परीक्षण उडान सम्पन्न गरिसकेको श्रीले बङ्गलादेशको ढाका र भारतको चार गन्तव्यमा अनुमति पाइसकेको छ । चारओटा जहाज मार्फत उडान गरिरहेको श्रीले भदौ पहिलो र दोस्रो हप्ता मात्रै ८० सीट क्षमताका दुईओटा टर्बोजेट काठमाडौं ल्याइसकेको छ । यस्तै यतिले एटीआर ७२–५०० पाँच र जेटस्ट्रिम–४१ सिरिजका पाँच गरी १० ओटा जहाज पुर्‍याएको छ । यतिले गत महीना मात्रै नयाँ एटीआर जहाज थपेको हो । कम्पनीका प्रवक्ता भीमराज राईका अनुसार उक्त जहाजले हालकै गन्तव्य तथा छिट्टै धनगढी लगायत क्षेत्रमा उडान गर्ने छ । यतिले अहिले देशका विभिन्न पाँच स्थानमा उडान गर्दै आएको छ । उसैको अर्को सहायक कम्पनी तारा एयरका विभिन्न खालका सातओटा जहाजले दुर्गम क्षेत्रमा हवाई सेवा दिइरहेका छन् । सौर्य, सिम्रिक, सीता एयर पनि आफ्नो सेवालाई थप प्रभावकारी बनाउने प्रयासमा देखिन्छन् । यस्तै पछिल्लो समय हेलिकोप्टर कम्पनीहरूले पनि हेलिकोप्टर थपिरहेका छन् । हाल नेपालमा १० ओटा हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् ।

भ्रमण वर्षको तयारी
नेपाल भ्रमण वर्ष २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । सन् २०१९ को पहिलो ६ महीनामा झन्डै ६ लाख पर्यटक नेपाल आएका छन् । सन् २०१८ मा करीब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जनवरीदेखि जुनसम्म नेपालमा ५ लाख ८५ हजार ५३१ जना पर्यटक घुम्न आएका छन् । पछिलो राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा भएका प्रर्वद्धनात्मक कार्यले यो संख्या बढाउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको धारणा छ । भ्रमण वर्ष सफल बनाउन सरकारले विभिन्न प्रर्वधनात्मक कार्य गरिरहेको छ ।

अबको बाटो
नेपाललाई यूरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउनु र निर्माणधीन विमानस्थलहरूलाई समयमै सम्पन्न गरी अन्तरराष्ट्रिय उडानका लागि बाँकी काम गर्नु आफैमा चुनौतीपूर्ण त छँदै छ । वाइडबडी विमान खरीदमा भएको अनियमितता, जहाज खरीद गर्दाको ऋण किस्ता तिर्न भएको विलम्बले निगमलाई आलोचनाको केन्द्रमा बनाएको छ । यसको निराकरण र निर्माणाधीन विमानस्थलहरूको समयमै निर्माण सम्पन्न गरी अन्तरराष्ट्रिय उडानका लागि पहल आवश्यक छ ।

पर्यटन विकासका लागि पूर्वाधार र कनेक्टिभिटी पहिलो शर्त भए पनि सोही अनुरूपको पूर्वाधार विकास हुन नसकेको गुनासो निजीक्षेत्रको छ । होटल लगायत पूर्वाधारमा निजीक्षेत्रको लागानी बढिरहे पनि अन्य पूर्वाधार निर्माणको काममा अपेक्षा अनुरूप काम नभएको होटल एशोसिएशन नेपाल हानका उपाध्यक्ष विनायक शाहको भनाइ छ । अर्कोतर्फ नेपालमा दुई दर्जनभन्दा बढी विदेशी विमान कम्पनीले नियमित उडान गर्दै आए पनि नेपालका आफ्नै विमानहरूबाट भने नगन्य रूपमा मात्र अन्तरराष्ट्रिय उडान भएका छन् । निगमले वाइडबडी जहाज ल्याएको डेढ वर्षमा बल्ल लामो दूरीको पहिलो उडान गरेको छ भने निजीक्षेत्रले अन्तरराष्ट्रिय उडानमा पनि आक्रामक बजार विस्तार गर्न सकेको देखिँदैन । तीन तहकै सरकारले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधार मानिरहे पनि तदनुरूपको काम भने भएको पाइँदैन । यसका लागि सरोकारवालाहरूका बीचमा समन्वय र सहकार्य आवश्यक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)