ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारमा पूर्वाधार : आर्थिक स्थायित्वको आधार

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे author avatar प्रजिता बुढाथोकी

नेपालको पूँजीबजारको अवस्थालाई यति बेला नियाल्ने हो भने आर्थिक स्थायित्वको खोजीमा भौतारिएका लगानीकर्तामा एक किसिमको अन्योल छाएको छ । पूँजीबजार लगानीकर्ताका लागि ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भएको छ । घट्ने र बढ्ने बजारको प्रवृत्तिलाई आत्मसात् गर्दै लगानी व्यवस्थापन गरेका लगानीकर्तामा आशाभन्दा निराशा छाएको देखिन्छ ।

देशले स्थायी सरकार पाएपछि पूँजीबजारले पनि स्थायित्व पाउने आशामा लगानीकर्ताहरू थिए । तर, विडम्बना, त्यसको विपरीत असर पूँजीबजारमा देखिएको छ । कारण, पूँजीबजारप्रति नकारात्मक टीका टिप्पणी, नीतिगत व्यवस्था कार्यान्वयनमा ढिलाइ लगायत छन् । जिम्मेवार निकायकै टीका टिप्पणीमा पूँजीबजार कहिले ‘जुवाघर’ बन्यो त कहिले अनुत्पादक क्षेत्र । पूँजीबजार सम्बद्ध नियामक निकायको नीतिनिर्माण कार्यान्वयनको पाटोलाई केलाउने हो भने पनि केही कमजोरी पक्कै देखिन्छ ।

यद्यपि पूँजीबजारको विकासका लागि केही हुँदै नभएको भने होइन । यसलाई प्रविधिमैत्री बनाउन सम्बद्ध पक्षहरू सफल पनि भएका छन् । प्राथमिकदेखि दोस्रो बजार अहिले प्रविधिमैत्री भएको अवस्था छ । तर, त्यसले पनि लगानीकर्ताको मनोबल बढाउन भने सकेको देखिँदैन । यो क्षेत्रमा लगानी गर्नेको संख्या १५ लाख ६१ हजारभन्दा बढी देखिन्छ । तिनको लगानीको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्नेमा लगानीकर्ताले जोड दिँदै आएका छन् । पछिल्लो समय सरकारी निकायको समेत यो क्षेत्रको विकासमा विशेष ध्यान गएको देखिन्छ । अर्थमन्त्रालयले गत वर्षदेखि अध्ययन समिति मार्फत यो क्षेत्रलाई अध्ययन गरी आवश्यक काम गर्दै पनि आएको छ ।

देशको अर्थतन्त्रलाई बलियो बनाउन केही मात्रामा पूँजीबजारले पनि भूमिका निर्वाह गर्दछ । धितोपत्र कारोबारमा सरकारले व्यक्तिगतबाट ५ प्रतिशत र संस्थागतबाट १० प्रतिशत पूँजीगत लाभ कर उठाउँदै आएको छ । यस वर्ष यो करमा पनि सरकारले व्यक्तिगत लगानीकर्तालाई राहत प्रदान गरेको छ । चालू आवको बजेटबाट ७ दशमलव ५ प्रतिशत रहेको व्यक्तिगत पूँजीगत लाभकर ५ प्रतिशतमा झारिएको छ ।

अन्तरराष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखी पूँजीबजारको विकासमा सम्बद्ध निकायहरू लागि परेका छन् । तर पनि आम लगानीकर्ताको मनोबल यतिबेला घटेको अनुमान लगाउन सकिन्छ । लगानीकर्ताको मनोबल बढाउने खालको नीति निर्माणमा नियामक निकाय पनि लागेका छन् । पूँजीबजारका लगानीकर्ताको प्रत्यक्ष सुझावको आधारमा नियामक निकायहरूले नीति निर्माणमा जोड दिएको देखिन्छ ।

पूँजीबजारमा आर्थिक स्थायित्वका सम्भावित केही महत्त्वपूर्ण विषयहरू :
१. बजारमा माग बढाउन गैर आवासीय नेपालीको लगानी भित्र्याउने नेपाल धितोपत्र बोर्डको योजनालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउनु पर्ने
२. विश्वव्यापी पहुँचको अनलाइन कारोबार प्रणालीको पहुँच विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने
३.    प्रतिस्पर्धीको रूपमा दोस्रो स्टक एक्सचेञ्ज स्थापनाको योजनालाई जतिसक्दो चाँडो पूरा गर्नुपर्ने
४.    मार्जिन कारोबारको बाटो खुलेपनि लागू भएको छैन । यसको पनि चाडो कार्यान्वयन हुनुपर्ने
५.    हालको अवस्थामा सामूहिक लगानी कोष (म्युचुअल फन्ड)ले बजार निर्माताको भूमिका निर्वाह गरी बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गराउनुपर्ने
६.    धितोपत्रका थप औजारहरू ल्याइनुपर्ने
७.    धितोपत्र व्यवसायी (ब्रोकर)को सेवालाई देशव्यापी रूपमा विस्तार गरिनुपर्ने
८.    ब्रोकरको पहुँचन पुगेको ग्रामीण भेगमा सेवा दिने गरी वाणिज्य बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने
९.    कम्पनीहरूको क्रेडिट रेटिङलाई अझ प्रभावकारी तरीकाले गराउन नियामकले ध्यान दिनुपर्ने
१०.    समय सापेक्ष आवश्यक नीति निर्माणमा नियामक निकायले ध्यान दिनुपर्ने

पूँजीबजार विकास र विस्तारका लागि सम्बद्ध पक्षबाट पहल भइरहेका विषयहरू हुन् यी । अहिलेको बजारको अवस्था र आम लगानीकर्ताको मागको आधारमा यी विषय कार्यान्वयनमा आए पूँजीबजारमा लगानी गरी आर्थिक स्थायित्व कायम हुनेमा विश्वस्त हुनसक्ने सम्भावना छ ।

तथ्यांकको आधारमा पूँजीबजार
विगत ५ वर्षको तथ्यांक हेर्ने हो भने आव २०७१/७२ को अन्त्यमा ९ खर्ब ८९ अर्ब बजार पूँजीकरण हँुदा नेप्से ९६१ दशमलव २३ विन्दुमा थियो । आव २०७२/७३ को अन्त्यमा नेप्से परिसूचक विन्दुसँगै बजार पूँजीकरण घट्दो क्रममा छ । त्यस अवधिमा १ हजार ७१८ दशमलव १५ विन्दुमा रहेको नेप्से परिसूचक गत असार मसान्तसम्मको तथ्यांकमा १ हजार २५९ दशमलवशून्य १ विन्दुमा थियो । बजार पूँजीकरणलाई हेर्दा आव २०७२/७३ को अन्त्यसम्ममा रू. १९ खर्ब २० अर्ब रहेको बजार पूँजीकरण गत आव २०७५/७६ को अन्त्यसम्ममा रू. १५ खर्ब ६७ अर्ब ४९ करोडमा खुम्चिएको छ ।

पूँजीबजारको ऐतिहासिक पाटो
नेपालको इतिहासमा विक्रम संवत् १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले पहिलोपटक सर्वसाधारणलाई शेयर जारी गरेपछि अनौपचारिक रूपमा पूँजीबजारको शुरुआत भएको हो । पूँजीबजारको व्यवस्थापनका लागि तत्कालीन सरकारले नियमनका लागि नेपाल धितोपत्र बोर्ड र धितोपत्र कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जको स्थापना गरेको थियो । २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई संशोधन गरी धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्नेगरी गरिएको कानूनी व्यवस्थालाई धितोपत्र बजारको गतिशीलताका लागि चालिएको महत्त्वपूर्ण कदमको रूपमा लिइन्छ ।

ऐन संशोधनपछि २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो । स्थापनापश्चात् नेपालको धितोपत्र बजारलाई सभ्य, मर्यादित र व्यवस्थित बनाउने काममा बोर्डले निरन्तरता दिँदै आएको छ । त्यस्तै नेपाल स्टक एक्सचेञ्जले २०५० साल पुस २९ गते दोस्रो बजारमा कारोबार गर्न शुरू गरेको हो । पूँजीबजारको इतिहासलाई केलाउँदा विकासका थुप्रै खुड्किलाहरू पार भएका छन् ।

नेपालमा पूँजीबजारको विकासक्रम

  • वि.सं. १९९३,  कम्पनी ऐन जारी
  • वि.सं. १९९४, विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको शेयर निष्कासन
  • वि.सं. २०२१, संशोधित कम्पनी ऐन जारी
  • वि.सं. २०३३, सेक्युरिटी खरीदविक्री केन्द्र स्थापना
  • वि.सं. २०४०, धितोपत्र कारोबार ऐन तर्जुमा
  • वि.सं. २०४१, धितोपत्र कारोबार ऐन अन्तर्गत सूचीकृत धितोपत्रहरूको कारोबार शुरू
  • वि.सं. २०४९, धितोपत्र कारोबार ऐनमाप्रथम संशोधन
  • वि.सं. २०५०, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको स्थापना
  • वि.सं. २०५०, नेपालधितोपत्रबोर्डको स्थापना
  • वि.सं. २०६३, सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार शुरू
  • वि.सं. २०६३, धितोपत्र सम्बन्धी ऐन, २०६३ जारी  
  • वि.सं. २०६४, कम्प्युटरकृत स्वचालित कारोबार शुरू
  • वि.सं. २०६४, वेबसाइटमार्फत कारोबार विवरणको प्रत्यक्ष प्रसारण
  • वि.सं. २०६४, कारोबार समय बढाएर ३ घण्टा
  • वि.सं. २०६४, संस्थापक शेयरको कारोबार शुरू
  • वि.सं. २०६५, ओभर दी काउन्टर (ओटिसी) बजारको शुरुआत
  • वि.सं. २०६६, दलाल व्यवसायीद्वारा काठमाडौं उपत्यका बाहिरबाट कारोबार शुरू
  • वि.सं २०६७, केन्द्रीय निक्षेप प्रणाली स्थापना
  • वि.सं. २०७१, अभौतिक धितोपत्रको कारोबार शुरू
  • वि.सं. २०७२, पूर्णरूपमा अभौतिक धितोपत्रको कारोबार शुरू
  • वि.सं. २०७३, सूचीकृत कम्पनी आफैले सूचना राख्ने व्यवस्था
  • वि.सं. २०७३, कारोबार समय बढाएर ४ घण्टा
  • वि.सं. २०७३, मार्केट डेब्थ सर्वसाधारणले हेर्ने व्यवस्था
  • वि.सं. २०७३, प्राथमिक निष्कासनमा आस्बा प्रणाली लागू
  • वि.सं. २०७५, धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५, धितोपत्र सूचीकरण विनियमावली २०७५ जारी
  • वि.सं. २०७५, पूर्ण अनलाइन कारोबार प्रणाली शुरू

पछिल्लो बजारको अवस्था
यो विषयवस्तु भदौ ११ गते तयार गरिएको हो । सो अवधिसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २४२ कम्पनीको शेयर कारोबारका लागि सूचीकृत छन् । नेप्से नेपालको एकमात्र धितोपत्र कारोबार गर्ने कम्पनीको रूपमा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)