ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आठ दशकको बैंकिङ बजार : प्राविधिक फड्कोको चरणमा

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

नेपालकै अति विकट मानिने डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दाले आप्mनै ठाउँमा बैंक आउला भनेर सायदै कल्पना गरेका थिए । समुद्री सतहदेखि ४ हजार २ सय मीटर उचाइमा रहेको उक्त ठाउँमा यातायात, सञ्चार तथा विद्युत् आपूर्तिको समेत चरम अभाव हुने गर्छ । त्यस्तो ठाउँमा बैंकको शाखा स्थापना हुनु आफैमा चुनौतीपूर्ण थियो ।

तर प्रभु बैंकले त्यस्ता चुनौतीलाई पार गर्र्दैै गत साउन २० गते उक्त गाउँपालिकामा शाखा कार्यालय स्थापना ग¥यो । यातायातको सुविधा नभएको उक्त गाउँमा बैंकले आवश्यक सामग्री हेलिकोप्टर मार्फत ढुवानी गरेर शाखा स्थापना गरेको थियो । बैंकका अनुसार सामग्री खरीदमा भन्दा पनि त्यसको ढुवानीमा बढी खर्च भएको छ ।

उक्त ठाउँमा बैंक आफैले सौर्य ऊर्जाबाट विद्युत् निकाली ‘भी–स्याट’ प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा सञ्चालन गरेको छ । यसरीआफ्नै ठाउँमा बैकिङ सुविधा पाउँछु भनेर कल्पना पनि नगरेका शे–फोक्सुन्डोवासीलाई प्रभु बैंक अत्याधुनिक प्रविधि सहितको बैंकिङ सेवा प्रदान गर्न सफल भएको छ । यद्यपि यति ठूलो लगानीमा उक्त ठाउँमा बैंकको व्यवसाय कस्तो होला, त्यो भने हेर्न बाँकी नै छ ।

नेपालमा बैंकिङ सेवा सुरू भएको ८ दशक भन्दा बढी भएको छ । नेपाल बैंक लिमिटेडले विसं १९९४ कात्तिक ३० गतेदेखि नेपालमा बैंकिङ सेवा शुरू गरेको हो । शुरूका वर्षहरूमा नेपाल बैंकले केन्द्रीय बैंकको पनि काम गरेको थियो । पछि विसं २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएपछि नेपाल बैंकले केन्द्रीय बैंकको काम गर्नुपरेन ।

स्वाभाविक रूपमा नेपाल बैंक स्थापना हुँदा उसको दायरा र काम गर्ने क्षेत्र सानो थियो । त्यस बेला नेपाल औद्योगिक तथा व्यापारिक युगमा प्रवेश गरेको थिएन । लामो सयमसम्म बैंकहरूको व्यवसाय साना व्यापारिक कारोबारमा सहयोग गर्नेमै सीमित थियो । साथै, राजधानी र सीमित व्यापारिक केन्द्र बाहेक अन्य ठाउँमा बैंकहरू पुग्न सकेका थिएनन् । तर, हाल बैंकिङ सेवाको क्षेत्र र दायरा निकै फराकिलो भइसकेको छ, जुन कुरा शे–फोक्सुन्डो गाउँपालिकाकास्थित प्रभु बैंकको शाखा कार्यालयले स्पष्ट पार्दछ ।

राष्ट्र बैंकको स्थापना भएपछि बैंकको संख्या थपिँदै गयो, तर बैंकिङ पहुँच र दायरा बढ्न सकेको थिएन । साथै, उनीहरूले प्रविधि भिœयाउन पनि सकेनन् । लामो समयसम्म बैंकहहरू ढड्डे प्रणालीमै सञ्चालित थिए ।

नेपालको बैंकिङ बजारमा पहिलो पटक २०४२ सालमा कृषि विकास बैंकले रत्नपार्क शाखामा कम्प्युटर प्रयोग गर्‍यो । त्यसलाई नै नेपाली बैंकिङ बजारमा प्रविधिको प्रयोगको शुरुआत विन्दु मानिन्छ । त्यस बेला कम्प्युटरबाट बैंक खाता खोल्ने भनेर उक्त शाखामा मानिसहरूको ठूलै भीड हुने गरेको बताइन्छ ।

लामो समयसम्म कम्प्युटर प्रयोग नगरेका बैंकहरूले ग्राहकको विवरण लिखित रूपमा कागजमा राख्ने गर्थे । बैंकहरूमा ग्राहकका विवरण राख्ने फाइल खातका खात हुने गर्थ्यो । ग्राहकहरू चेक सटही गर्न जाँदा बुक र पाना नम्बर समेत याद गरेर जानुपर्ने बाध्यता थियो, अहिले त्यस्तो अवस्था छैन ।

अहिले बैंकहरूमा डिजिटल प्रविधिको प्रयोग सामान्य भएको छ । जसकारण डोल्पा, सोलुखुम्बु, मुस्ताङ जस्ता उच्च हिमाली भेगमा बस्ने सर्वसाधारण पनि बैंकिङ सुविधाबाट लाभान्वित हुन पाएका छन् ।

विशेषगरी विदेशी लगानीका हिमालयन, ग्रीन्डलेज, नबिल बैंक स्थापना भएपछि बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको देखिन्छ । उनीहरूले भुक्तानी प्रणालीमा नयाँ प्रविधि भित्र्याउने प्रयास गरे । शुरूका वर्षमा भुक्तानी प्रणालीमा चेक नै प्रमुख माध्यम थियो । तर अहिले भुक्तानी डिजिटल भइसकेको छ ।

हिमालयन बैंकले सन् १९९४ (विसं २०५०/५१) मा अटोमेटिक टेलरिङ मेशिन (एटीएम) ल्याएपछि भुक्तानी प्रणालीमा इलेक्ट्रोनिक प्रविधिको प्रयोग शुरू भएको हो । नेपालको बैंकिङ क्षेत्र प्रविधिको प्रयोगमा दक्षिण एशियामै अग्रस्थानमा रहेको जानकारहरू बताउँछन् । नेपालका बैंकहरूले यहाँ इन्टरनेटको पहुँच नहुँदा पनि इमेल, हटमेल, याहू जस्ता इन्टरनेटसँग सम्बन्धित औजार प्रयोग गरेका थिए, जुन कतिपय बाहिरी मुलुकका बैंकले पनि प्रचलनमा ल्याएका थिएनन् ।

यस्तै, विसं २०६५ पुस ८ गते नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) स्थापना भएपछि भुक्तानी प्रणालीमा प्रविधिले थप फड्को मा¥यो । पहिले कुनै एक बैंकले अर्काे कुनै बैंकको चेकमा भएको रकम आफ्नो बैंकको खातामा जम्मा गर्न राष्ट्र बैंकसम्म नै पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ सबै प्रक्रिया पूरा गर्दा चेक डिपोजिट हुन झन्डै ४ दिन लाग्ने गथ्र्यो । तर, एनसीएचएल स्थापना भएपछि त्यसको अन्त्य भएको छ । अहिले कुनै एक बैंकले अर्काे बैंकको चेकमा भएको रकम एकैदिनमा आफ्नो बैंकको खातामा डिपोजिट गर्न सक्छ ।

नयाँ प्रविधिले भौगोलिक वा शारीरिक कारणले पछि परेका वर्ग समुदायलाई समेत बैंकिङ पहुँचमा ल्याउन सहयोग पुगेको छ । साथै बैंकको आन्तरिक कामकारबाहीलाई पनि छिटो छरितो बनाउन सहयोग पुगेको छ । पहिले भारत जस्ता विदेशी मुलुकमा पैसा कमाउन गएका नेपालीले नगद बोकेर हिँड्नुपर्ने बाध्यता थियो । विगतमा त्यस्ता नेपाली सीमाक्षेत्रमा लुटिएका पनि थुप्रै इतिहास छ । तर अहिले बैंकिङ क्षेत्र गाउँ–गाउँमा विस्तार हुँदा त्यस्ता समस्याको अन्त्य भएको छ । बैंकहरू र रेमिट्यान्स कम्पनीले यसमा उल्लेख्य टेवा पुर्‍याएको देखिन्छ ।

पहिले बैंकहरूले पैसा गन्न छुट्टै जनशक्ति राख्ने गरेका थिए । अहिले पैसा गन्ने मेशिन प्रयोग गरेका छन् । साथै बैंकहरूले पोश मेशिन मार्फत आफ्नो शाखा कार्यालय नभएका ठाउँमा पनि ब्रान्चलेस बैैंक सेवा दिएका छन् । साथै पहिले एउटा शाखाको चेक अर्काे शाखामा सहटी गर्न मिल्ने व्यवस्था थिएन । अहिले एनी ब्रान्च बैंकिङ (एबीबी) प्रणाली लागू भएपछि एउटा शाखाको चेक अर्काे शाखामा पनि सटही गर्न सकिने भएको छ ।

पहिले कुनै पब्लिक कम्पनीबाट शेयरधनीले पाउने लाभांश लिन सम्बन्धित कम्पनीमै पुग्नुपर्ने बाध्यता थियो । अहिले सम्बन्धित शेयरधनीको डिम्याट खातामै लाभांश रकम आउन शुरू गरेको छ । यसलाई पनि एक उपलब्धिको रूपमा हेरिएको छ । पछिल्लो समय भुक्तानी प्रणालीका लागि भनेर भनेर ई–सेवा, आईएमएई पे, ई–खल्ती जस्ता थुपै्र प्रविधि पनि नेपाल भित्रिएका छन्, जसले परम्परागत भुक्तानी प्रणाली र चेकलाई समेत विस्थापित गर्न सक्ने सम्भावना छ । त्यो प्रविधिमार्फत रकम ट्रान्सफर लगायत मोबाइल, बिजुली, खानेपानी, इन्टरनेट लगायतको बिल भुक्तानी गर्न सकिन्छ । यस्तै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ पनि भुक्तानी प्रणालीलाई सहज बनाएको छ । यद्यपि अझै पनि नेपाल राष्ट्र बैंकले पेमेन्ट गेटवे ल्याउन सकेको छैन ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ, ईमेल बैंकिङ, एटीएम लगायत प्रविधिको प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । तर बचत खातावाला सबैले भने यो प्रविधि प्रयोग गरेका छैनन् । गत असार मसान्तसम्म २ करोड ३५ दाख ४४ हजार ५५९ जनाले विभिन्न बैंकहरूमा बचत खाता खोलेका छन् । तीमध्ये ५५ लाख ४४ हजार २५३ ले डेबिट कार्ड र ५० लाख ८६ हजार ६९ जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पछिल्लो समय बैंकहरूले प्रविधिमा लगानी बढाउँदै गएको बताए । उनले भने, ‘अहिले बैंकिङ क्षेत्रमा थुप्रै प्रविधि भित्रिएका छन् । साथै, ग्राहकले खाता खोलेको केही दिनमै एटीएम कार्ड, मोबाइल बैंकिङ प्रयोग गर्न पाउँछन् । यो सबै लगानीको प्रभाव हो ।’

एउटा ढड्डे प्रणालीमा शुरू भएको नेपालको बैंकिङ क्षेत्रमा अहिले प्रविधि भित्रिने क्रम जारी छ, जसले आन्तरिक भुक्तानी प्रणाली तथा बैंक सम्बन्धी अन्य कामलाई थप सहक बनाएको छ । यद्यपि यसको देशव्यापी विस्तारमा भने अझै पनि चुनौती छन् । साथै, यसले सबै वर्गका व्यक्तिलाई समेट्न नसकेको नेशनल बैंकिङ इस्टिच्युट (एनबीआई)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बा बताउँछन् ।

यतिका प्रविधिको विकास हुँदा पनि बैंकका शाखा कार्यालयहरूमा चेक साट्ने र रकम जम्मा गर्नेहरूको भीड अझै बाक्लो हुने गरेको छ, अर्थात् नेपालको बैंकिङ प्रणाली अझै नगदमै आधारित छ । साथैस् वयम् बैंकहरू पनि अझै पेपरलेस हुन सकेका छैनन् । खाता खोल्दा, विदेशी नोट सटही गर्दा लगायत हरेक कामकारबाहीमा कागज प्रयोग गर्नुपर्ने बाध्तया छ । त्यसमा कुनै उपयुक्त प्रविधि आउन सकेको छैन । विश्व बैकिङ बजारमा आम ग्राहकले चेक पाउँदैनन् । एटीएम पनि कमै प्रयोग गर्छन् । नेपालमा त्यस्तो अवस्था आउन भने चुनौती देखिन्छ ।

बैंकले दिने चेकबुकको खर्च लगभग ३५ रुपैयाँ पर्छ । तर, त्यसको ठाउँमा एटीएम प्रयोग गर्‍यो भने एउटा कारोबारमा १२ रुपैयाँ खर्च हुन्छ । त्यसको ठाउँमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग हुने हो भने अत्यन्त न्यून लागतमा बैंकिङ कारोबार अगाडि बढाउन सकिने नेपाल बैंकिङ इन्स्टिच्युटका सीईओ सुब्बा बताउँछन् । यसो भएमा बैंकहरूको नाफा उल्लेख्य बढ्ने उनको भनाइ छ । प्रविधि प्रयोग गरेमा बैंकिङ क्षेत्रमा आर्थिक स्थायित्व कायम हुने देखिन्छ ।

यस्तै, अहिले नोट व्यवस्थापनमा चुनौती देखिएको छ । राष्ट्र बैंकले वर्षेनि करोडौं रुपैयाँ खर्चेर नयाँ नोट छाप्ने गरेको छ, जसले गर्दा मुलुकलाई व्ययभार पर्दै गएको पनि छ, जसअनुसार अब ‘क्यासलेस’ कारोबारमा जान आवश्यक छ । त्यसैले सरकारले नोट छाप्ने मेशिन भिœयाउन भन्दापनि नोटलाई विस्थापन गर्ने प्रविधि भित्र्याउनुपर्ने सुब्बा बताउँछन् ।

साथै, जोखिम व्यवस्थापनको क्षेत्रमा पनि प्रविधि प्रयोग हुन सकेको छैन । बैंकका जोखिम व्यवस्थापनका विभाग अझै पनि पराम्परागत रूपमा अगाडि बढेका छन् । कुन ग्राहकले कुन समयमा डिफल्ट गर्न सक्छ भनेर पत्ता लगाउने प्रविधि विश्वबजारमा आइसकेका छन् । त्यसलाई नेपालमा प्रयोगमा ल्याउन सकिएको छैन ।

तथ्यांक अनुसार बचत खाता खोलेकामध्ये एकदमै न्यून व्यक्तिले मात्र मोबाइल बैंकिङ, ईमेल बैंकिङ जस्ता इलेक्ट्रोनिक प्रविधिको प्रयोग गरेको देखिन्छ । सुब्बा भन्छन्, ‘इलेक्ट्रोनिक प्रविधिका प्रयोगकर्ता बढे भनेर खुशी हुने अवस्था छैन । उनीहरूमध्ये कमैले मात्र यस्तो प्रविधि प्रयोग गरेका छन् ।’ अहिले नेपालमा दु्रतगतिमा इन्टरनेट सेवाको विस्तार भएको छ । साथै, स्मार्ट मोबाइल फोनको प्रयोग पनि उच्च छ । तर, त्यसको तुलनामा बैंकिङ प्रविधि पछाडि परेको एनबीआईका सीईओ सुब्बा बताउँछन् । सर्वप्रथम मोबाइल र इन्टरनेट प्रयोगकर्तामा नै बैंकिङसम्बन्धी प्रविधि पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

प्रविधि भित्र्याउन समस्या
विश्व बैंकिङ बजारमा ठूला र अत्याधुनिक प्रविधिहरू प्रयोग भएका छन्, जुन अत्यन्त महँगो पनि छ । त्यस्ता प्रविधि नेपालमा भिœयाउन अहिलेका बैंकले नसक्ने सुब्बाको बुझाइ छ । उनी भन्छन्, ‘८ अर्ब चुक्तापूँजी र केही अर्ब रुपैयाँ जगेडा भएको बैंकले संसारका अत्याधुनिक प्रविधि भिœयाउन सक्दैनन् । मर्जरमार्फत ठूलो पूँजी भएको बैंक बनाएर प्रविधि भिœयाउन लाग्नुपर्छ ।’ प्रविधि भित्र्याउनु आजको आवश्यकता भएको उनको भनाइ छ ।

प्रविधि स्थापित गर्दाका चुनौती
अहिले नेपालमा प्रविधि भित्र्याउन त्यति समस्या भएको देखिँदैन । तर, त्यसको विस्तार गर्न भने चुनौती नै देखिएको छ । उदाहरणका लागि नेपालमा एटीएम सेवाको शुरुआत गर्दा लोडशेडिङको समस्या थियो । इन्टरनेट पनि हाई स्पीडको थिएन, जसले गर्दा एटीएम सेवा प्रदान गर्न समस्या देखिएको थियो । साथै, आम ग्राहकले एटीएम प्रयोग गर्न नजान्दा पनि समस्या भोग्नुपरेको सीईओ सुब्बाको भनाइ छ ।

अहिले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा पनि यस्तै खाले तर नयाँ समस्या छन् । उदाहरणका लागि पेमेन्ट गेटवेको अभावलाई लिन सकिन्छ ।

प्रविधि विस्तारका चुनौती
सीईओ सुब्बा बैंकले चाहेर मात्र बैंकिङ क्षेत्रमा प्रविधिको विकास नहुने बताउँछन् । उनी भन्छन्, ‘प्रविधिको विकास गर्न बैंकले चाहेर मात्र पनि हुँदैन । कानून पनि प्रविधिमैत्री बनाउनु पर्छ । साथै, पेमेन्ट गेटवेको पनि विकास विकास गर्नुपर्छ ।’

प्रविधिको प्रयोमा पनि छन् समस्या
नेपालमा प्रविधि भित्रिए पनि त्यसको प्रयोगमा बिभिन्न समस्या देखिने गरेका छन् । विशेष गरी एटीएममा आम ग्राहकले विभिन्न समस्या झेल्दै आएको पाइन्छ । एटीएमबाट माग अनुसारको भुक्तानी नहुने तर खाताबाट पैसा काटिने जस्ता समस्या आम ग्राहकले भोग्दै आएका छन् । दशैंमा बैंकिङ कारोबार बढी हुने भएकाले यस्तो समस्या त्यो बेलामा झन् बढी हुने गरेको छ ।

अनलाइनबाटै रेमिट्यान्स
अहिले नेपालमा रेमिट्यान्सका लागि बैंक तथा रेमिट कम्पनीमा जानुपर्ने बाध्यता पनि छैन । माछापुच्छ्रे  बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीले संयुक्त रूपमा ‘रेमिटयाप’ नामक मोबाइल एप ल्याएका छन् । उक्त एपमार्फत विभिन्न बिलहरूको पनि भुक्तानी गर्न सकिने व्यवस्था छ । यसमा अनलाइन रेमिट कार्डको पनि व्यवस्था छ, जसमार्फत यसको युजर नभएका व्यक्तिले पनि तोकिएको निकायबाट रेमिट्यान्स बापत आएको पैसा झिक्न सक्नेछन् । रकम पठाउने व्यक्तिले सम्बन्धित व्यक्तिको नाममा उक्त डिजिटल कार्ड बनाउनुपर्ने हुन्छ । भाइबर, फेसबुक जस्ता माध्यमबाट उक्त कार्ड प्राप्त गरेपछि सम्बन्धित व्यक्तिले तोकिएको निकायबाट रकम झिक्न सक्नेछन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)