ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाडी एसेम्बलीमा बढ्दो चासो

Sep 4, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

गत मंगलवार नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमै मूल्य अभिवृद्धि हुने गरी सवारी साधन एसेम्बली प्लान्ट स्थापना गरे त्यसलाई कर तथा अन्य नीतिगत संरक्षण र सहजीकरण गर्ने बताए । 

नेपालमा सवारी साधन एसेम्बली प्लान्ट स्थापनाका लागि स्वदेशी र विदेशी कम्पनीहरूको चासो बढ्दै गएको समयमा अर्थमन्त्रीले २० प्रतिशत मूल्य अभिवृद्धि हुने किसिमका प्लान्ट स्थापना गरे मूल्य अभिवृद्धि गरेको अनुपातमा राज्यले संरक्षण दिने पनि बताए । 

अर्थमन्त्रीले मुलुकभित्रै यस्ता एसेम्बली प्लान्ट स्थापनार्थ सरकारको सहयोगको बाचा गर्नुका पछाडि दुई प्रमुख कारण थिए । पहिलो, स्वदेशमै सवारी साधन उत्पादन हुँदा आयातका लागी विदेशिने अर्बौं रकम मुलुकमै रहने र त्यसले व्यापार घाटा न्यूनीकरणमा सहयोग गर्ने परिदृश्य र दोस्रो, विद्युतीय सवारी साधनको उपयोगमा सरकारको पछिल्लो प्राथमिकता ।    

विद्युतीय सवारी एसेम्बलिङलाई सरकारले प्राथमिकतामा राखेकाले सवारी साधन व्यवसायीलाई त्यतातिर लाग्न पनि खतिवडाले आग्रह गरे । ‘एसेम्बलिङ उद्योगलाई हामी प्रोत्साहन दिन्छौं । यस क्रममा सबभन्दा पहिले विद्युतीय सवारी साधनको एसेम्बलिङलाई प्राथमिकता दिने भनेका छौं,’ उनले भने । 
त्यसो त नेपालमै एसेम्बली प्लान्ट स्थापनाको चर्चा नौलो होइन । करीब दशक अघि भारतको टाटा समूहले पश्चिम नेपालमा त्यस्तो प्लान्ट स्थापनाका लागि सम्भाव्यता अध्ययन पनि गरेको थियो । गोल्छा समूहको हुलास मोटर्स नेपालमा गाडी एसेम्बल गर्ने पहिलो कम्पनी थियो । मुस्ताङ ब्रान्डका गाडी एसेम्बल गर्ने हुलास मोटर्स सरकारको नीतिगत कारण देखाउँदै २०७२ देखि बन्द छ ।

तर, एसेम्बली प्लान्टको चर्चा त्यतिखेर चुलियो, जब गत वर्ष लगानी बोर्डले चारपाङ्ग्रे सवारी साधन एसेम्बलका लागि आवेदन दिएको कोरियाली कम्पनी मोट्रेक्सको रू १० अर्ब ५४ करोड लगानी स्वीकृत गर्‍यो । 

मोट्रेक्सको आगमनसँगै नेपालमा हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि एसेम्बली प्लान्टमा चासो देखाउँदै उद्योग विभागमा कम्पनी दर्ता गरायो । यस कम्पनीले ५ अर्ब १० करोडको लगानीमा वार्षिक ८ हजार चारपांग्रे सवारी एसेम्बल गर्ने प्रस्ताव विभागमा गरेको छ । 

उद्योग विभागको तथ्यांक अनुसार हालसम्म नेपालमा एसेम्बली प्लान्ट स्थापना गर्ने भन्दै २० ओटा कम्पनी दर्ता भइसकेका छन् । तीमध्ये  केहीले मोटरसाइकल एसेम्बली शुरू नै गरिसकेका छन् । मोट्रेक्सको लगानी स्वीकृत भए पनि यो कम्पनी हालसम्म उद्योग विभागमा भने दर्ता भएको छैन । 

एसेम्बलका लागि दर्ता भएका कम्पनीमध्ये हाल हुलास अटोक्राफ्ट, बेला मोटर्स र बेनलिन मोटर्स टेक्नोलोजी प्रालिले मात्रै नेपालमा मोटरसाइकल र स्कूटर एसेम्बल गरिरहेका छन् । गोल्छा समूह अन्तर्गतको हुलास अटोक्राप्mटले नवलपरासीको रामग्राममा १५० सिसिसम्मका बजाजका सबै मोडलका मोटरसाइकल एसेम्बल गरिरहेको छ ।

त्यस्तै, बेला मोटर्स र बेनलिन मोटर्स टेक्नालोजी प्रालिले चिनियाँ विद्युतीय मोटरसाइकल र स्कूटर एसेम्बल गरिरहेका छन् । बेला मोटर्सले गएको मङ्सिरदेखि काठमाडौंस्थित आफ्नै ग्यारेजमा बेलाका २००० वाटमा ड्यूरो, एस्ट्रो, ग्लोरियो र डोल्सी मोडलका स्कूटर र ३००० वाटमा टी फाइभ र टी थ्री मोडलका मोटरसाइकल एसेम्बल गरिरहेको कम्पनीका बजार व्यवस्थापक राजेश महर्जन बताउँछन् । कम्पनीले लगभग ४ सय मोटरसाइकल र स्कूटर एसेम्बल गरिसकेको उनले बताए । 

बेला मोटर्स २०७४ फागुन १३ गते वार्षिक ५ सय सवारी एसेम्बल गर्नेगरी अनुमानित रू. २० करोडको लागतमा एसेम्बल उद्योगका रूपमा स्थापनाका लागि उद्योग विभागमा दर्ता भएको थियो । एसेम्बलका लागि कम्पनीले हाल सात जना नेपाली प्राविधिक राखेको छ । 

चिनियाँ कम्पनी बेनलिन मोटर्सले पनि काठमाडौंमा एसेम्बल प्लान्ट खोलेको छ । २०७५ भदौ ६ मा  रू. ४० करोड लगानीमा दर्ता भएको यस कम्पनीले ३०० भन्दा बढी ५७८ जेड मोडलका स्कूटर एसेम्बल गरी विक्री गरिरहेको कम्पनीका बजार प्रबन्धक खिलप्रसाद शर्माले बताए । बेला र बेनलिनले चार्जिङ स्टेशन निर्माण नगरेकाले ती कम्पनीका स्कूटर र मोटरसाइकल घरमै चार्ज गर्नुपर्ने हुन्छ ।

यस्तै, टीभीएसका मोटरसाइकल नेपालमा एसेम्बल गर्न लागेको टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको एसेम्बल प्लान्टको काम अन्तिम चरणमा पुगेको कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले जानकारी दिए । कम्पनीले बाराको सिमरामा प्लान्ट निर्माण गरिरहेको छ । 

मोट्रेक्ससँग छलफल हुँदै
मोट्रेक्सले एसेम्बल उद्योगमा ७ वर्षसम्म अन्य कम्पनी आउन नपाउने, पार्टस्को आयातका लागि भन्सारमा छूट दिनुपर्ने तर गाडी अन्य आयात भएका सवारीकै मूल्यमा बेच्न दिनुपर्ने लगायत माग राखेपछि यो उद्योग सञ्चालनमा आउन सकेको छैन । 

कम्पनीले गत चैतमै बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा १० महीनामा प्लान्ट स्थापना गरी पहिलो वर्ष करीब ६ हजार गाडी उत्पादन गर्ने बताएको थियो । यद्यपि, कम्पनीले राखेका शर्त स्वीकार्न नसकिने भन्दै कम्पनीलाई उद्योग सञ्चालनको स्वीकृति दिइएको छैन । कम्पनी आफ्ना शर्तप्रति लचिलो भएको र केही दिनमै कम्पनीसँग वार्ता हुने लगानी वोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले जानकारी दिए । स्रोतका अनुसार कम्पनीसँग कतिपय कुरामा सहमति भइसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)