परम्परागत रूपमा चलिआएको यो पर्वलाई जातजाति, भाषा, संस्कृति, धर्म र भूगोल अनुसार विभिन्न ढंगले अपनाएको पाइन्छ । यति हुँदाहुँदै पनि दशैं कुनै धर्म विशेषको हो या नेपालीको साझा पर्व भन्ने विषयमा भने लामो समयदेखि विवाद र बहस हुँदै आएको पाइन्छ ।
--रामकुमार लामिछाने
इतवारदेखि शुरू नेपाली समाजमा उत्सवको माहोल शुरू हुँदै छ । प्राचीन कालदेखिको इतिहास बोकेको दशैं र यसको महŒवबारे कोही अनभिज्ञ छैनन् । परापूर्वकालदेखि नै यसलाई आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले समेत महान् पर्वको रूपमा मनाइँदै आएको छ । विभिन्न कालखण्डमा देशको शासन व्यवस्था फेरिए । राजनीतिक परिवर्तन भयो । तर यो पर्वको आप्mनो गरिमा र लोकप्रियता भने उस्तै छ । बरु फरक फरक ढंगले समेत मान्न थालिएकाले यसको आयाम बढेको छ ।
परम्परागत रूपमा चलिआएको यो पर्वलाई जातजाति, भाषा, संस्कृति, धर्म र भूगोल अनुसार विभिन्न ढंगले अपनाएको पाइन्छ । यति हुँदाहुँदै पनि दशैं कुनै धर्म विशेषको हो या नेपालीको साझा पर्व भन्ने विषयमा भने लामो समयदेखि विवाद र बहस हुँदै आएको पाइन्छ । प्रायः दशैं शुरू हुँदै गर्दा यसबारे मानिसले आफ्ना धारणा बनाउने, तर्क र खण्डन गर्ने क्रम पनि चल्ने गर्छ । कतिपय राजनीतिक दल, तिनका नेता, जातीय वा धार्मिक संघसंगठनले दशैं हिन्दू धर्मावलम्बीको मात्र चाड भएको तर्क राख्ने गरेका छन् । कतिपयले आप्mनो राजनीतिक वा निहित स्वार्थ पूरा गर्ने उद्देश्यले समेत यस्तो वकालत गरेको पाइन्छ ।
तर उनीहरूको यस्तो धारणा नेपालका संस्कृतिविद्हरू भने मान्न तयार छैनन् । दशैंलाई हिन्दू धर्म विशेषको पर्व भन्नुमा वास्तविकता नभएको उनीहरू प्रस्ट्याउँछन् । ‘दशैं हिन्दूहरूको मात्र पर्व होइन,’ इतिहासविद् सत्यमोहन जोशीले भन्छन्, ‘बरु यो सनातन धर्मावलम्बीको चाड हो ।’ दशैं नेपालका बौद्ध र किराँतहरूले समेत मान्ने भएकाले यो पर्वलाई हिन्दूहरूको मात्र भन्दा उनीहरूको आस्थामा चोट पुग्ने उनको धारणा छ । सनातन संस्कृतिको अभिन्न अंगको रूपमा रहेको यो पर्व नेपालको राष्ट्रिय पर्व भएको समेत उनी बताउँछन् ।
धार्मिक रूपमा नेपालका मुसलमान र इशाईहरूले दशैं नमान्ने भए पनि उनीहरू कुनै न कुनै रूपमा दशैंसँग जोडिने संस्कृतिविद् जोशीको भनाइ छ । ‘यो पर्वमा उनीहरूले हिन्दूले जस्तो टीका जमरा राख्दैनन्, पूजा गर्दैनन्,’ उनी भन्छन्, ‘तर दशैंमा सरकारले दिएको बिदा, जागीर खानेले बोनस÷पेश्की लिन्छन्, घुम्न जान्छन् । मनोरञ्जन गर्छन् । यसरी दशैंलाई उनीहरू पनि आफ्नै ढंगले मान्छन् ।’ अहिले एकअर्काको पर्वमा औपचारिक रूपमै शुभकामना आदानप्रदान गर्ने प्रचलनले पनि दशैंमा सर्वधर्म समभाव पाइने उनी बताउँछन् ।
अर्का संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको धारणा पनि जोशीको जस्तै छ । दशैं आम नेपाली जातिको महान् पर्व भएको उनी बताउँछन् । ‘पहिले निर्दलीय पञ्चायत कालमा दशैंलाई हिन्दूहरूको मात्र चाड भनिन्थ्यो,’ उनी भन्छन्, ‘धेरै पछिसम्म पनि यो शब्दावली प्रयोग हुँदै आयो ।’ तर यो सबै नेपालीले उत्तिकै अपनत्वका साथ मनाउने पर्व भएको उनको बुझाइ छ ।
नेपालका अधिकांश शक्तिपीठहरूमा बौद्ध र जनजाति पुजारी रहेको, मुसलमान, बोन, शेर्पा र किराँतहरूले समेत दशैं मान्ने गरेको उदाहरण दिँदै संस्कृतिविद् गुरुङ दशैं सबै नेपालीको समान धार्मिक आस्था, सद्भाव र मैत्रीको पर्व भएको धारणा राख्छन् । सबै जातजातिको सहभागिता रहने भएकै कारण दशैंलाई नेपालीको एकताको पर्व समेत भन्न सकिने उनको तर्क छ । नेपाली समाज र संस्कृतिमा जस्तो सहअस्तित्वको भावना संसारको कमै मुलुकमा देखिने उनको अनुभव छ ।
यसैगरी नेपालमा समन्वयात्मक संस्कृति रहेको हुँदा दशैंलाई सबै धर्मानुयायीले समान महŒव दिने गरेको प्रा.डा. काशीनाथ न्यौपाने बताउँछन् । नेपालीहरूले आपसी मेल र सद्भावका आधारमा पर्वहरू मान्ने गरेको उनको भनाइ छ । वाल्मीकि विद्यापीठका बौद्ध दर्शनका विभागीय प्रमुख उनी एउटै मन्दिरमा हिन्दू र बौद्धका पुजारी रहनु नेपाली संस्कृतिको अनुपम विशेषता भएको ठान्छन् ।
‘दशैंका सन्दर्भमा पनि यो लागू हुन्छ,’ उनी भन्छन्, ‘बौद्धहरूले टीका जमरा लगाउँदैनन्, तर आप्mनै शैलीले देवीहरूको पूजाआराधना गर्छन् । आशीर्वाद लिने–दिने गर्छन् । शुभकामना दिन्छन् । रमाइलो गर्छन् ।’ यसरी संस्कृतिविद्हरूको भनाइलाई आधार मान्ने हो भने दशैंलाई नेपालीको साझा पर्वको रूपमा लिन सकिन्छ । सबै जाति, समुदाय र सम्प्रदायले यसलाई सांस्कृतिक गौरवको रूपमा स्वीकारेको पाइन्छ । धार्मिक रूपमा हिन्दूसँग बढी नजिक देखिए पनि दशैंको बहुआयामिक महŒव रहेकोमा भने दुईमत छैन ।
नेपालीको राष्ट्रिय पर्व
सत्यमोहन जोशी
संस्कृतिविद्
पहिले लिच्छवीकाल र मल्लकालमा हिन्दू भन्ने शब्द प्रयोग नै हुँदैनथ्यो । २००७ साल अघिसम्म पनि यो शब्द खासै प्रचलनमा थिएन । तर त्यति बेला पनि दशैं मनाइन्थ्यो । नेपाल सनातन परम्परामा चलेको छ । यही परम्परामा पर्ने दशैं नेपालको राष्ट्रिय पर्व हो । सनातन धर्ममा वैष्णव, सौर्य, शाक्त, शैव, गाणपत लगायत सम्प्रदाय पनि पर्दछन् । गणेश, देवीहरूको पूजा त शाक्य बौद्धहरूले पनि गर्छन् । उनीहरूले आप्mनो छोरीलाई कन्याको रूपमा पूजा गरेर इन्त्रजात्रा मनाउँछन् । वज्राचार्यहरू विभिन्न देवीदेवताको मन्दिरमा पुजारी छन् । पाटनमा बौद्धहरूले नवरात्रका बेला गहना नाच निकाल्छन् । त्यस्तै प्रकृति पूजक किराँत (राई र लिम्बू)हरूले पनि दशैं मान्छन् । त्यसैले यसलाई हिन्दूहरूको मात्र पर्व भन्नुको औचित्य देखिँदैन ।
मुश्लिम वा इशाईहरूले दशैं मान्दैनन् । टीका लगाउँदैन् । यद्यपि केही उदार (खासगरी क्याथोलिकहरु)ले पूजा नगरे पनि टीका लगाउँछन् । दशैंमा मुसलमानहरूलाई पनि भ्याइनभ्याई हुन्छ । मासु, लत्ताकपडा लगायत सामग्रीको व्यवसायमा लागेका मुसलमानहरूका लागि यो पनि एक किसिमको चाड नै हो । दशैंमा सरकारले सार्वजनिक बिदा दिन्छ । सरकारी वा निजीक्षेत्रको जागीरमा हुनेहरूलाई बोनस÷पेश्की दिइन्छ । यी सुविधा त उनीहरूले पनि पाउँछन् । उनीहरू एकअर्काको पर्वमा शुभकामना, सद्भाव आदान प्रदान गर्छन् । एकले अर्कोको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्छन् । नेपाली संस्कृतिको विशेषता भनेकै यही हो ।
दशैंले एकताको सन्देश दिएको छ
डा. जगमान गुरुङ
संस्कृतिविद् तथा उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
पहिले निर्दलीय पञ्चायती व्यवस्थामा दशैंलाई ‘एकमात्र हिन्दुहरूको महान् चाड’ भनिन्थ्यो । तर दशैं हिन्दूको मात्र नभएर आम नेपालीको चाड हो भन्ने आधार प्रशस्त छन् । मल्लकालमा नेपाल आएका मुसलमानहरू यो पर्व मान्छन् । उनीहरूमा नेवारी संस्कृति पाइन्छ । उनीहरू यहाँका जोशीकहाँ लगेर आफ्ना छोराछोरीको चिना लेखाउँछन् । पहिले त राजाको हातबाट टीका थाप्न पनि जान्थे । यस्तै पोखरा आसपासका मुसनमानहरू तीन तालुकदार थिए । बाहुन, क्षेत्री र नेवारहरूले उनीहरूलाई मुखियाको रूपमा मान्नुपथ्र्याे । साथै दशैंमा मसला, दही, केरा लगायत सामग्री लिएर भेट्न जानुपथ्र्यो ।
यस्तै पूर्वमा किराँत (राई/लिम्बू)हरू किपटका धनी थिए । बाहुन, क्षेत्री, गुरुङ, मगरहरू उनीहरूको जग्गा भोगचलन गर्थे । दशैंमा उनीहरूले आफ्नो घरमा जुन पशुहरू वध गरिएको छ, तिनको अगाडिको दाहिने खुट्टा, दही, केरा लगायत सगुन लिएर जानुपथ्र्यो । ती जग्गावालको घरमा भएका बाहुनले सबैलाई दशैंको टीका लगाइदिन्थे । मनाङ र मुस्ताङका धावा शेर्पा समुदायले जमरा राखेर दशैं मान्दैनन् । तर दशैंको महादशमीको दिन भेडाको बलि दिने उनीहरूको चलन छ । त्यस्तै मुस्ताङकै लुब्रामा बोनहरूको बस्ती छ । उनीहरू महाष्टमीको दिन गाउँदेखि माथि पखेरामा गएर पूजा गर्छन् । मुस्ताङको कोवाङमा थकालीहरूले महालक्ष्मीको मूर्ति स्थापना गरेका छन् । समग्रमा नेपाली चाडपर्वमा जातीय, धार्मिक तथा साम्प्रदायिक सद्भाव पाइन्छ ।
यहाँका हिन्दू मन्दिरमा बौद्ध पुजारी छन्
प्रा.डा. काशीनाथ न्यौपाने
बौद्ध दर्शन विभागीय प्रमुख, वाल्मीकि विद्यापीठ
हाम्रो संस्कृति समन्वयात्मक छ । त्यसैले आपसरी सद्भावका आधारमा यहाँ चाडपर्व मनाइन्छ । सामाजिक तथा पारिवारिक रूपमा हिन्दू र बौद्धहरू एकै थलोमा बसेका हुन्छन् । उनीहरू एउटै मन्दिरमा जान्छन् । एउटाले देवी मान्छ अर्को डाकिनी मन्छ । हिन्दूले नवदुर्गा मान्छ । बौद्धले प्रज्ञापारमिता मान्छ । एउटै तŒवलाई यी दुई समूहले आआप्mनै परम्परा अनुसार स्वीकार्छन् । धार्मिक हिसाबले बौद्धमार्गीहरूले हिन्दूले जस्तो जमरा राखेर नवदुर्गाको पूजा नगरे पनि उनीहरूको पनि आप्mनै देवीहरू छन्, मन्दिरहरू छन् । काठमाडौंका अधिकांश देवीदेवताका मन्दिरमा हिन्दू र बौद्ध दुवै पुजारी छन् । जस्तै– गुह्येश्वरीलाई बौद्धहरूले खड्गेश्वरीको रूपमा पूजा गर्छन् । दक्षिणकालीलाई कुब्जेश्वरी (तलेजु) को रूपमा मान्छन् । यसैगरी भद्रकालीलाई चण्डेश्वरी नामले पुकार्छन् । वज्रयोगिनीमा त मूल पूजारी बौद्धमार्गी नै हुन्छन् । तारा पनि मुख्यरूपमा बौद्ध देवी हुन् । पछि हिन्दूहरूले दशमहाविद्यामा राखेर पूजा गर्न थाले । हिन्दू र बौद्ध पुजारी संयुक्त रूपमा रहेका यस्ता धेरै मन्दिर छन् ।