पर्यटनमा निजी क्षेत्र नेतृत्वकर्ता रहेको यस क्षेत्र सम्बद्ध व्यक्तिहरूले बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० आयोजनाको सन्दर्भमा सरकारले सहयोगी भूमिका निर्वाह गरे पनि भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको भूमिका प्रमुख रहेको उनीहरूको भनाइ छ । विश्व पर्यटन दिवसको अवसर पारेर न्यू बिजनेश एज प्रालिले शुक्रवार आयोजना गरेको छैटौं ‘न्यू बिजनेश कन्क्लेभ तथा अवार्ड २०१९’ कार्यक्रममा ‘समृद्धिका लागि पर्यटन : उत्कृष्ट अनुभव आदान प्रदान’ विषयको कन्क्लेभका वक्ताहरूले पर्यटनमा निजी क्षेत्रको नेतृत्व रहने धारणा राखेका हुन् । प्रस्तुत छ, वक्ताहरूले कार्यक्रममा व्यक्त गरेका धारणा :
प्रचण्डमान श्रेष्ठ
पूर्व प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड
अहिले नेपालको पर्यटकीय क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । सन् १९७० को दशकमा विदेशी पर्यटकहरू स्वतःस्फूर्त रूपमा नेपाल घुम्न आएका थिए । त्यतिबेला हामीले उनीहरूलाई बोलाएका थिएनौं । तर अहिले प्रचार प्रसार पनि गर्नु आवश्यक छ ।
नेपालको पर्यटकीय क्षेत्रले ठूलो सम्भावाना बोकेको छ । यद्यपि त्यसमा उत्तिकै मात्रामा जोखिम पनि छ । त्यस्ता विषयमा राज्यले नीतिगत रूपमा सुधार गर्नुपर्छ । राज्यले नीतिगत सुधार गरेर जोखिम न्यूनीकरण गर्न सकियो भने पर्यटकीय क्षेत्रले ठूलो प्रगति गर्न सक्छ ।
हामी सबैलाई थाहा भएकै कुरा हो, अहिले नेपालको पर्यटकीय क्षेत्रमा पूर्वाधारको अभाव छ । साथै पर्यटन प्रडक्टको पनि राम्रोसँग मार्केटिङ गर्न सकिएको छैन । यस्तो अवस्थामा भएका पूर्वाधारलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्छ । साथै प्रडक्टको मार्केटिङ गरेर थप नयाँ प्रडक्ट ल्याउन पनि प्रयास गर्नुपर्छ । यति मात्र गर्न सकियो भने पनि नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
यस्तै नेपालमा पर्यटक कति आउने भन्ने कुरा सरकारको नीति, निजीक्षेत्रको लगानी र पूर्वाधारले निर्धारण गर्छ । पर्यटन सम्बन्धी हाम्रो नीति राम्रो भयो भने पर्यटकको घुइँचो लाग्न पनि सक्छ ।
भिजिट नेपाल २०२० मनाउने लक्ष्य लिइरहँदा पर्यटकलाई पनि विभाजन गर्नुपर्ने थियो । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएका छौं । यदि उनीहरू काठमाडौं, पोखरा, सगरमाथा जस्ता पर्यटकीय क्षेत्रमध्ये कुनै एक ठाउँमा मात्र आइदिए भने घुइँचो देखिन्छ र हाम्रो क्षमताले धान्न सक्दैन । त्यसैले त्यस्ता समस्या आउन नदिन पर्यटकका लागि आवश्यक गन्तव्य पनि छनोट गर्न आवश्यक थियो । तर हामीले त्यो ढंगले काम गर्न सकेनौं । यसैगरी अपांगता भएका अथवा फरक क्षमताका पर्यटकलाई पर्यटन क्षेत्रमा कसरी जोड्ने भने विषय पर्यटन उद्योगमा भर पर्ने कुरा हो । नेपालका पर्यटन उद्योग, होटल लगायत पूर्वाधारहरू अपांगतामैत्री छन् भने त्यस्ता पर्यटक पनि यहाँ आउँछन् । पर्यटन सम्बन्धी हाम्रो कानूनले पनि सबै तहका पर्यटकलाई प्राथमिकतामा राखेको छ । भुटानमा अलि उच्च तहका पर्यटकलाई मात्र प्राथमिकतामा राखिएको पाइन्छ । तर नेपालमा त्यस्तो छैन, जसले गर्दा अपांगता भएका पर्यटकलाई कानूनी रूपमा समस्या छैन ।
उपल मजुमदार
महाप्रबन्धक, सोल्टी क्राउन प्लाजा
हामी नेपालमा सबै तहका होटल खोल्न सफल भएका छौं । पर्यटकलाई सजिलो हुने खालमा होमस्टेदेखि पाँचतारे होटलसम्म यहाँ छन् । नेपालको पर्यटन क्षेत्रमा लामो समयसम्म पाँचतारे होटल आएनन् । तर हालै म्यारियट लगायत तीनओटा पाँचतारे होटल एकैसाथ सञ्चालन भएका छन् । नेपालको पर्यटन उद्योगका लागि यो सकारात्मक पक्ष हो ।
नेपालमा अन्तरराष्ट्रिय स्तरका होटल पनि छन् । उदाहरणका लागि अन्नपूर्ण, सोल्टी होटललाई लिन सकिन्छ । तर नेपाली होटललाई अन्तरराष्ट्रिय बजारमा प्रस्तुत गर्न भने चुनौती छ । साथै हामीले नेपाली होटललाई राम्रोसँग प्रचारप्रसार गर्न सकेका छैनौं । पर्यटन प्रडक्टलाई पनि राम्रोसँग ब्रान्डिङ गर्न सकेको जस्तो लाग्दैन । तर यहाँको हस्पिटालिटी (आतिथ्य) सेवा राम्रो छ । साथै यहाँका होटलका ट्वाइलेट, बेडरूमहरू अपांगतामैत्री पनि छन् ।
यद्यपि सुरक्षाको दृष्टिकोणले नेपालका होमस्टे स्तरीय छैनन् । विभिन्न नियत राखेर पर्यटकमाथि आक्रमण पनि हुन सक्छ । अहिले सामाजिक सञ्जालको समयमा त्यस्ता घटना बाहिर आयो भने पर्यटन क्षेत्रमा ठूलो क्षति हुन्छ । त्यसैले यस्ता विषयमा पनि ध्यान दिन आवश्यक छ ।
यसैगरी अनलाइन मार्फत होटलको बिल भुक्तानी गर्दा ठूलो समस्या आएको छ । अनलाइन मार्फत गरिने भुक्तानीको पैसा नेपाली बैंकको खातामा नआएर चाइना लगायत बैंकको खातामा जाने गरेको छ, जसले गर्दा यसको ठूलो आलोचना पनि भएको छ । यसकारण सम्बन्धित निकायले आवश्यक संयन्त्र बनाउन जरुरी देखिन्छ ।
मुलुकमा स्थायी सरकार आएपछि अहिले आन्तरिक पर्यटकको संख्या पनि बढेको छ । भैरहवास्थित अन्तरराष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउँदै छ । त्यो विमानस्थल सञ्चालन भएपछि पर्यटक क्षेत्रको सम्भावना थप बढ्नेछ । तर जोखिम पनि उत्तिकै छ । त्यसलाई न्यूनीकरण गर्न हामी सबैले हातेमालो गर्नुपर्छ ।
घनश्याम उपाध्याय
सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
नेपाल सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपाल भ्रमण वर्ष २०२० मनाउने हो । भ्रमण वर्ष मनाइरहँदा पर्यटक संख्याका साथै यो उत्सवको महŒवमा पनि ध्यान दिनुपर्छ । किनकि हामी वास्तविकता भन्दा टाढा जान सक्दैनौं । निजीक्षेत्रको नेतृत्वमा सरकारले भ्रमण वर्षको परिदृश्यमा सुधार ल्याउन खोजेको छ ।
भूकम्पपछि पुनरुत्थानका साथै तीव्रगतिमा विकास भइरहेको यो मात्रै एक उद्योग हो । ४ वर्षको बीचमा यस क्षेत्रको वृद्धि औसतमा २५ प्रतिशत पुगेको छ । हामीले गुणस्तरीय पर्यटनमा ध्यान दिनु आवश्यक छ । साथै पर्यटकको बसाइ अवधि लम्ब्याउन पनि गुणस्तरीय प्रडक्ट बनाउनुपर्छ । पर्यटकको संख्यालाई मात्र प्राथमिकता दिँदा गुणस्तरीय प्रडक्टको विकास हुन सकेको छैन । सरकारका निकाय र निजीक्षेत्रको ‘डिजिटल स्मार्टनेस’का कारण यस क्षेत्रको सबै आय कब्जा गर्न पनि सकिँदैन । त्यसैले हामी ‘टुरिजम स्याटेलाइट एकाउन्टिङ’को प्रक्रियामा छौं । निकट भविष्यमा यो प्रक्रिया सम्पन्न भई पर्यटनको वास्तविक तथ्यांक र परिदृश्य प्राप्त हुने आशा छ । यसले हाम्रो आत्मबल पनि बढाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । यसबाट आगामी दिनमा उपयुक्त योजना तथा नीति तर्जुमा गर्न सघाउनेछ ।
संघीय व्यवस्था अनुसार पर्यटन सम्बन्धी नयाँ नीति तथा कानून बनाउन आवश्यक छ । नेपालको पर्यटनलाई कसरी विविधीकरण गर्ने, पर्यटनबाट अर्थतन्त्रमा कसरी सघाउने र संख्यात्मकबाट गुणात्मक पर्यटकतर्फ कसरी जाने भन्ने कुरा महत्त्वपूर्ण छ ।
सुविधा सम्पन्न होटल नभएका ठाउँमा एयर बी एन्ड बी जस्ता कम्पनीले महŒवपूर्ण काम गरेका छन् । साथै ठूलो लगानीमा खुलेका नयाँ होटलहरूलाई चुनौती सृजना पनि गरेका छन् । त्यस्ता व्यवसायलाई रोक्न पनि मिल्दैन । सरकारको दायित्व लगानीको संरक्षणसँगै पर्यटकलाई विकल्प पनि दिनु हो । सरकारले हालै होटलको नयाँ ‘स्ट्यान्डर्ड’ स्वीकृत गरेको छ । त्यसैले आउने दिनहरूमा यस्ता चुनौतीको नियमन गर्न सकिने विश्वास छ ।
नामग्याल शेर्पा
महाप्रबन्धक, यती वर्ल्ड
थोमस कुक जस्ता पुराना र विश्वविख्यात पर्यटन व्यवसायी पनि टाट पल्टिएको उदाहरण हाम्रो सामुन्ने छ । यसको प्रमुख कारण ठूलो परिमाणको ऋणमा रहनु हो । व्यवसायमा वृद्धि आवश्यक छ । तर तरलताको अवस्था कस्तो छ भन्नेमा ध्यान दिनु कति आवश्यक छ भन्ने यसले देखाउँछ ।
यो संसारका पुरानामध्ये एक ट्राभल कम्पनी थियो । पछिल्लो समयमा मानिसको यात्राको प्रवृत्ति बदलिएको छ । सम्भवतः यो तथ्यलाई उक्त कम्पनीले बेवास्ता गर्यो । ढोकामा गएर बुक गर्ने तरीकाले अब चल्दैन । अहिलेका मानिस धेरै आत्मनिर्भर छन् । त्यसैले विकल्पहरू पनि धेरै दिनुपर्छ ।
अहिलेका पर्यटक यात्रामा स्वतन्त्रता तथा प्रडक्टका विकल्पहरू खोज्छन् । अहिलेसम्म नेपालले आफूसँग भएका प्रडक्ट धेरै बेच्न सकेको छैन । सगरमाथा, अन्नपूर्ण ट्रेक जस्ता समान खालका प्रडक्ट सबैले बेचिरहेका छन् । यसले गर्दा प्रतिस्पर्धा पनि उच्च छ । त्यसैले हामी आफ्नो व्यवसायमा केही परिवर्तन गर्दै छौं । साथै हाम्रो ध्यान गुणस्तरीय पर्यटकमा छ । त्यसका लागि नयाँ प्रडक्टमा लगानी पनि गर्नु अवश्यक छ । हामी सगरमाथा क्षेत्रमा रहेका ६ ओटा सुविधा सम्पन्न लजमा पहिले भन्दा केही उच्चस्तरमा सुविधा र अनुभव थप्न सफल भयौं । यसबाट आफ्नो क्षमता पहिचान गर्न सक्षम हुनुका साथै अन्य प्रतिस्पर्धीभन्दा अद्वितीय व्यावसायिक अनुभव सँगाल्न पनि सक्यौं ।
हामी कहिलेकाहीँ यस्तै अनुभव दिलाएर महँगो शुल्क पनि तिराउँछौं । पछिल्लो समय मानिसहरू यत्तिकै हिँड्ने भन्दा पनि केही अर्थपूर्ण क्रियाकलाप र अनुभव गर्न चाहिरहेका छन् । यस्तोमा एयर बी एन्ड बी, ट्रिप एड्भाइजर जस्ता ठूला सेवाप्रदायक कम्पनीहरू पनि छन् ।
स्थानीय बजार, स–साना क्रियाकलाप र अनुभवलाई जोडेर यहाँका मानिसलाई बेच्न पनि सकिन्छ । पर्यटकको तथ्यांक संकलनसँगै पर्यटनको पछिल्लो प्रवृत्ति पनि नियाल्नुपर्छ । अहिलेको पर्यटनको प्रवृत्ति ध्यान (माइन्ड फुलनेस)मा छ ।
निजी तथा पेशागत तनावका कारण मानिसहरू ध्यान तथा स्वास्थ्य लाभका लागि भौंतारिन थालेका छन् । यस दृष्टिबाट नेपालले धेरै कुरा दिन सक्छ । हामीसँग लुम्बिनी लगायत पवित्र स्थलहरू धेरै छन् । तिनलाई प्रवर्द्धन गरी त्यस्ता पर्यटकलाई आकर्षित गर्ने प्रडक्ट बनाउनुपर्छ ।