ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अपराध न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी

नाकामा कुकुरद्वारा चेकिङ गरिँदै 

Oct 3, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

प्रहरीले चाडपर्वको बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । आर्थिक कारोबार बढी हुने क्षेत्र, चोरी डकैती हुन सक्ने क्षेत्र, सार्वजनिक यातायात, जुवातास लगायत सामाजिक विकृतिका क्रियाकलाप हुने क्षेत्रमा निगरानीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको हो ।

सामान्य अवस्थामा भन्दा दशैं, तिहार र छठलाई लक्षित गरी प्रहरी परिचालन गरिएको प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । घटना हुन नदिन निगरानी बढाइएको र भइहाले तत्काल कारबाही गरिने उनले जानकारी दिए । ‘कुनै पनि अपराध हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ,’ उनले भने । सुरक्षाका दृष्टिकोणले परिचालित प्रहरीको संख्या भन्नु गलत अभ्यास भएको भन्दै उनले परिचालन गरिएको प्रहरी संख्या भने बताउन चाहेनन् ।

दशैं, तिहारमा राजधानीबाट बाहिरिने र भित्रिनेको संख्या बढी हुने भएकाले काठमाडौंका सबै नाकामा कुकुरद्वारा चेकजाँच पनि शुरू गरिएको सुवेदीले बताए । उनका अनुसार दशैं, तिहारमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्न कुकुरद्वारा चेकजाँच गर्न लागिएको हो । साथै ट्राफिक प्रहरीसँग सहकार्य गरेर सार्वजनिक यातायात व्यवस्थापन, टिकट काउन्टरमा निगरानी, सडक सुरक्षा, काठमाडौं उपत्यकामा चल्ने बसमा हुने यात्रु दुव्र्यवहार नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको उनले बताए । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत उपत्यकामा ट्राफिक व्यवस्थापन चुस्त बनाउन २३ ओटा कलेज, २ ओटा युवा क्लब, १६ ओटा निजी यातायात, १० ख्यातिप्राप्त कलाकार, १३ एयर होस्टेजसहित ५ सय स्वयंसेवकलाई एकदिने प्रशिक्षण तालीम दिई परिचालन गरिएको छ । दशैंमा आवागमन हुने सवारीसाधनको व्यवस्थापन गर्न १५ दिन स्वयंसेवक परिचालन गरिएको हो ।

सामाजिक विकृतिको रूपमा रहेको जुवातास, मादक पदार्थ सेवन र पटाका पड्काउने काम निरुत्साहित गर्ने उद्देश्य प्रहरीको छ । यसका लागि ठाउँ ठाउँमा सादा पोशाकमा प्रहरी खटाइएको छ । यस्तै ट्राफिक प्रहरीसँग सहकार्य गरी मापेस चेकिङ पनि बढाइएको प्रवक्ता सुवेदीले बताए । दशैंमा बस चालकले ओभरलोड गरेर यात्रु ओसार्ने गरेकोमा यस वर्ष त्यसलाई पूर्ण बन्द गर्ने तयारी प्रहरीले गरेको उनले जानकारी दिए । चाडपर्वको बेला लुटपाटका घटना हुन नदिन प्रहरीले दिउँसो र राति ‘सरप्राइज चेकिङ’ गर्ने बताएको छ ।

प्रहरीका अनुसार यस वर्ष दशैंमा घर जाने, घुम्न जाने तथा आफन्तको घरमा टीका लगाउन जानेहरू सुरक्षाप्रति ढुक्क रहन सक्नेछन् । यसका लागि प्रहरीले ‘घर छाडेर जानुपूर्व प्रहरीलाई जानकारी गराऊँ’ भनेर माइकिङ गरिरहेको छ । ‘कसैले पनि घर छाडेर जानुपूर्व प्रहरीलाई जानकारी गराए हामी त्यो घरको सुरक्षा गर्छौं,’ प्रवक्ता सुवेदीले भने, ‘सो क्षेत्रमा हामी सुरक्षा बढाएर सम्भावित चोरी डकैती रोक्छौं ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)