ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैं र यातायात : स्तरीय सेवा नहुँदा यात्रुलाई सास्ती

Oct 3, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.


चाडपर्वलाई घर परिवार तथा आफन्तसँग भेटघाट गर्ने उपयुक्त अवसर मानिन्छ । काम, पढाइ वा विभिन्न उद्देश्यले शहरमा पसेका वा विदेशिएका मानिसहरू भइपरी आउने घटनाबाहेक घर जान दशैं, तिहार तथा छठ जस्ता ठूला चाडपर्व नै कुर्नुपर्छ । र, घरपरिवारम्म पुग्ने एकमात्र माध्यम यातायात हो ।

खासगरी नेपालमा सडक यातायात महत्त्वपूर्ण रहँदै आएको छ । सडक यातायातका लागि ठूला तथा साना माइक्रो बसहरूकै भर पर्नुपर्ने बाध्यता छ । नेपालका कतिपय ठाउँमा हवाई सेवाको सुविधा भए पनि महँगो हुने भएकाले यो सबैको पहुँचमा छैन । त्यसैले यातायातका लागि सार्वजनिक बस, मिनीबसहरू निर्विकल्प साधन बनेका छन् । तर स्तरीय सडक र भरपर्दो सेवा नहुँदा धेरैले सास्ती खेप्ने गरेका छन् ।

चाडपर्वका बेला घर पुग्ने कसरी भन्ने कुराले यात्रुहरूको टाउको दुखाउने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मुलुकभर ३ लाखभन्दा बढी सार्वजनिक यातायातका साधन छन् । यसमध्ये धेरैजसो काठमाडौं उपत्यका तथा प्रमुख शहरमा मात्रै सञ्चालन हुन्छन् । चाडपर्वको बेला लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधन बढाइए पनि यात्रु संख्याको अनुपातमा भने कम नै हुने गरेको छ । 

दशैंमा घर फर्फिने मानिसको बढ्दो चापलाई सीमित यातायातका साधनले थेग्नै सक्दैन । सरकारले यस्ता चाडपर्वको बेला यातायात सञ्चालन सम्बन्धी विशेष व्यवस्था नगर्दा पनि समस्या भएको छ । सरकारले निजी स्कूलका बस तथा कर्मचारी ओसार पसारका लागि प्रयोगमा ल्याएका ठूला बसहरू सञ्चालन गर्न सक्ने आधार हुँदा पनि सञ्चालनमा ल्याउन कुनै पहल गरेको पाइँदैन । अर्काेतर्फ टिकट काट्न रातिदेखि नै बसपार्कहरूमा सर्वसाधारणको भीडभाड लाग्ने गरेको छ ।

शहरबाट बाहिरिने बढ्दा र सवारीसाधन कम हुँदा सहजै टिकट पाउने अवस्था छैन । कतिपयले रात–दिनभर काउन्टरमा कुर्दा पनि टिकट पाउँदैनन् । प्रविधिको प्रयोगबाट बसपार्कका काउन्टरमा हुने भीडभाड रोक्न सकिन्छ भने भीडभाडमा हुने चोरी डकैतीका घटना निमूल पार्न सकिन्छ ।

टिकट काट्न प्रविधिको प्रयोग गराउन पनि सम्बन्धित बस कम्पनीहरू तथा समितिहरू लागिपर्नु पर्छ । समयको बचत हुने र टिकट काट्न पनि सहज हुने भएकाले भीडभाड पनि कम हुन्छ । अहिले ‘बस सेवा’ले आइतवारदेखि अनलाइन टिकट बुकिङ सेवा शुरू गरेको छ । सरकारले अग्रिम टिकट खोलेकै दिन कम्पनीले अनलाइनमार्फत टिकट बुकिङ खुला गरेको हो । सेवाग्राहीले थप शुल्कविना सरकारले तोकेकै भाडादरमा टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका संस्थापक परशुराम खनाल टिकटका लागि काउन्टरमा दिनभर लाइन लाग्न नपरोस् भनेर अनलाइन सेवा शुरू गरेको बताउँछन् । ८० ओटा यातायात कम्पनीसँग सहकार्य गरी दैनिक ६ हजार अग्रिम टिकट बुकिङ सेवा दिइरहेको उनको भनाइ छ । कम्पनीले २०७१ सालदेखि नै अनलाइन टिकट बुकिङ सेवा दिँदै आए पनि प्रभावकारी बन्न सकेको थिएन । उनले भने, ‘तर यो वर्ष पहिलो दिनमै साढे ५ हजार टिकट बुक भयो ।’ 

कम्पनीका अनुसार फोन, कम्पनीको मोबाइल एप र वेबसाइटमार्फत अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । बुकिङ पूर्व भाडा, बसको सुविधा, सीट, गाडीको प्रकार, नम्बर लगायत सबै जानकारी लिन सकिन्छ ।

ई–सेवा, आईएमई पे, आइपे र ई–प्रभु जस्ता पेमेन्ट गेटवे कम्पनीको मोबाइल एप्समार्फत पहिले नै पूरा भाडा तिरेर टिकट बुक गर्न सकिन्छ । बुकिङपछि ईमेलमा आएको टिकट वा फोनको म्यासेज देखाएर यात्रा गर्न सकिन्छ । कम्पनीले पोखरा, बागलुङ, स्याङ्जा, चितवन, नवलपरासी, अर्घाखाँची, बुटवल, पाल्पा, कपिलवस्तु, दाङ, नेपालगञ्ज, सुर्खेत र रुकुमका लागि अनलाइन टिकट बुकिङ सेवा दिइरहेको छ । यस्तै नुवाकोट, रसुवा, ओखलढुंगा, खोटाङ, वीरगञ्ज, जनकपुर, धरान, विराटनगर, काँकडभिट्टा र इलामका लागि यो सुविधा छ । 

प्रविधिको प्रयोगबाट टिकट सेवा उपलब्ध गराउन सक्रियता अन्य कम्पनीले पनि देखाउनुपर्छ । प्रविधिको प्रयोगबाट टिकटको व्यवस्था मिलाउने हो भने यात्रा सहज हुनेछ । टिकटिङ व्यवस्थामा प्रविधिमैत्री प्रणाली लागू नहुँदा यात्रुलाई सास्ती भइरहेको अवस्थामा यस्तो प्रविधिमा लगानी गर्न पनि सकिन्छ ।

वायुसेवा कम्पनीको चाडपर्व लक्षित छूट अफर
चाडपर्वहरू लक्षित गरी निजी वायुसेवा प्रदायक केही कम्पनीले भाडामा छूट अफर योजना सार्वजनिक गरिसकेका छन् । वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) असोज १२ देखि कात्तिक १७ गतेसम्म उड्ने जहाजमा काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छूट दिने निर्णय गरेको छ । उक्त निर्णयसँगै निजी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई लक्षित गरी भाडादर कायम गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा श्रीले घटस्थापनाको दिन असोज १२ गतेदेखि ८६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई रू. ५०० मा मात्र उडान गराइरहेको छ । यसैगरी, कम्पनीले ७५ वर्ष पुगेका नागरिकका लागि हवाईभाडामा ५० प्रतिशत छूटको व्यवस्था गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)