सरकारले क्वारेन्टाइन परीक्षणमा कडाइ गरेसँगै भारतबाट अवैध मार्ग हुँदै खसीबोका आयात हुन थालेको छ । नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले क्वारेन्टाइन परीक्षणमा कडाइ गरेसँगै नेपाली व्यवसायीले दशैंका लागि अवैध ढंगले खसीबोका आयात शुरू गरेका हुन् ।
दशैंमा स्वदेशी उत्पादनले काठमाडौं उपत्यकाको माग धान्न नसक्ने भएपछि व्यवसायीले भन्सार छलेरै भारतीय खसीबोका ल्याउन थालेका छन् । यो बेला काठमाडौंमा मात्रै ५० हजारभन्दा बढी खसीबोकाको माग हुने गरेको छ ।
स्वदेशी उत्पादनले दशैंमा बजारको ४० प्रतिशत मात्र माग धान्छ । बाँकी ६० प्रतिशत माग भारतीय खसीबोकाले धान्दै आएको छ । त्यो सबै अवैध मार्गबाट आयात हुने गरेको हो । व्यवसायीले खुला सिमानाको दुरुपयोग गर्दै भारतबाट खसीबोका ल्याएर तराई क्षेत्रका खसीबोकासँग मिसाएर नेपाली भन्दै उपत्यका ल्याउने गरेका छन् । अघिल्ला वर्षहरूमा दशैंको समयमा करीब ८० प्रतिशत खसीबोका भारतीय बजारबाट आयात हुने गरेको थियो ।
दशैंको बेला काठमाडौं उपत्यकामा मात्रै दैनिक ४–५ हजार खसीबोकाको माग हुन्छ । उक्त माग पूरा गर्नकै लागि अवैध मार्गबाट खसीबोका आयात गर्नुपर्ने बाध्यता रहेको एक व्यवसायी बताउँछन् । उनका अनुसार मन्त्रालयले क्वारेन्टाइन कडाइ गरेपछि अस्वस्थ खसीबोका नाकामै रोकिन्छन्, जसले गर्दा माग अनुसार खसीबोका उपलब्ध हुँदैन ।
औपचारिकताका लागि राखिएको क्वारेन्टाइन वा प्रमाणपत्रका कारण सरकारी कर्मचारी र आयातकर्ताबीच आर्थिक चलखेल हुने गरेको र त्यसैका आधारमा मासुको मूल्य समेत बढेको मासु व्यवसायीको आरोप हुने गर्छ । चौपाया खरीदविक्री संघका अध्यक्ष अनुसार व्यवसायीले भारतबाट लुकिछिपी खसीबोका ल्याए पनि कृत्रिम अभाव देखाएर महँगो मूल्यमा मासु बेच्छन् । व्यवसायी र सरकार मिलेर अगाडि बढे चाडपर्वको समयमा यो समस्या नआउने संघको बुझाइ छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने क्वारेन्टाइन विना नै ठूलो परिमाणमा अवैध ढंगले खसीबोका आयात भइरहँदा पनि सरकारी निकायले चासो नदेखाएको बताए । सीमा नाकामा सरकारी संयन्त्र बलियो रूपमा प्रस्तुत हुन नसक्दा आम उपभोक्ता दैनिक ठगिने गरेको उनको भनाइ छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने नियमित रूपमा अनुगमन भइरहेको बताउँदै आएको छ । विभागले वर्षभरि नै अनुगमन गरेको बताइरहे पनि यसको प्रभावकारी नतीजा देखिएको छैन । विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वको समयमा थप प्रभावकारी ढंगले अनुगमन अघि बढाइएको बताए । ‘दशैंको समयमा उपभोक्ता ठगिन नदिन विभागले अनुगमन चुस्त बनाएको छ,’ उनले भने ।
५६ हजार खसीबोका तथा च्यांग्रा ल्याइँदै
यस वर्षको दशैंका लागि नेपाल काठमाडौंमा ५० हजारभन्दा बढी खसीबोका र करीब ८ हजार च्यांग्रा भित्रिने संस्थानले बताएको छ । भारतीय आयात बन्द भएपछि संस्थानले स्वदेशकै खसीबोका काठमाडौं ल्याउने योजना बनाएको छ । दशैंका लागि अहिले काठमाडौंमा खसीबोका, राँगा र च्यांग्रा भित्रिन थालेको छ । खासगरी भारतीय उत्पादनमा क्वारेन्टाइन लागू भएसँगै व्यवसायीहरू खसीबोका र च्यांग्रा लिन स्थानीय तहमै पुगिसकेका छन् ।
तराईका विभिन्न जिल्लाहरू र पहाडी जिल्लाबाट खसीबोका ल्याउने तथा चीन र हिमाली जिल्लाबाट च्यांग्रा ल्याउन व्यवसायी विभिन्न जिल्लामा पुगेका छन् । गतवर्षको तुलनामा यस वर्ष काठमाडौंमा थोरै खसीबोका भित्रिँदै छन् । गतवर्ष दैनिक २५ सयदेखि ३ हजार खसीबोका भित्रिएकोमा यस वर्ष दैनिक १ हजारदेखि १५ सय खसीबोका भित्रिँदै आएको छ ।
खसीबोका भारतीय बजार तथा नेपालकै तराई तथा पहाडी क्षेत्रबाट काठमाडौंमा ल्याइन्छ । यस्तै भेडा च्यांग्रा हिमाली जिल्लाबाट तथा चीनबाट आउने गरेको छ । २ वर्षअघिको दशैंमा काठमाडौं उपत्यकामा खशीको मासुको मूल्य प्रतिकिलो ९ सय थियो । गतवर्ष दशैंमा १ हजार रुपैयाँ पुग्यो । संघका अनुसार यस वर्ष दशैंको मुखैमा खसीको मासु प्रतिकिलो १३ सयमा विक्री भइरहेको छ । दशैंको समयमा यो मूल्य बढेर १५ सम्म पुग्ने व्यवसायीले बताएका छन् ।
दशैंमा माग अनुसारको खसीबोका आयात हुन नसकेर मूल्य बढ्ने गरेको मासु व्यवसायी माधव घिमिरेले बताए । उनले भने, ‘प्रत्येक वर्ष खसीको मासुको मूल्य बढ्दै गएको छ । यसबाट उपभोक्ता मारमा पर्दै गएका छन् ।’ यही विषयलाई ध्यानमा राखेर दशैंको समयमा भारतबाट खसीबोका आयात गर्न दिनुपर्ने उनको तर्क छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने खसीबोका आयातमा कडाइ गरेको स्वीकार्दैन । मन्त्रालयका अनुसार भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टाइन परीक्षण मात्र गरिएको हो । अधिकांश व्यवसायीले अस्वस्थ खसीबोका आयात गरिरहेको सूचनाका आधारमा क्वारेन्टाइन परीक्षणमा कडाइ गरेकाले तत्काल परीक्षण नरोक्ने मन्त्रालयले बताएको छ ।