डा. अरुणा उप्रेती
अघिल्ला वर्षहरूको अस्पतालको तथ्यांक हेर्ने हो भने खाद्यान्नका कारण बिरामी हुनेको संख्या दशैंमा बढी देखिन्छ । पाहुनालाई बजारका खाद्य तथा पेयपदार्थ दिनु सत्कार नभएर रोग उपहार दिनु हो ।
खास व्यक्ति र समुदाय विशेषसँग मात्र नभएर हाम्रो संस्कृतिसँग जोडिएको पर्व हो । किसानहरू आफ्नो काम सकाएर बस्ने, छरिएर रहेका परिवारबीच भेटघाट हुने, विदेशिएकाहरू फर्किने र सबै परिवार एकै ठाउँमा जमघट हुने भएकाले दशैंलाई उत्सवको रूपमा मनाइन्छ । सबै आफन्त एकै ठाउँमा जम्मा भएर मनाइने हुँदा यस पर्वलाई खानपिनसँग पनि जोडिन्छ ।
पहिले अधिकांश नेपालीले मीठो–मसिनो खान दशैं नै कुर्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो अवस्था नरहे पनि दशैंलाई विशेष महŒवका साथ हेरिन्छ र सामान्यतया अरू समयभन्दा दशैं÷तिहारमा बढी मासु, चिल्लो र गुलियो खानेकुरा खाइन्छ । तर खानपिनमा ध्यान नदिने हो भने यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर गर्छ ।
दशैंमा खानपिनका कारणले हुने बिरामीको संख्या अन्य समयभन्दा बढी छ । यस अघिल्ला वर्षहरूको अस्पतालको तथ्यांक हेर्ने हो भने खाद्यान्नका कारण बिरामी हुनेको संख्या दशैंमा बढी देखिन्छ ।
दशैंमा पाक्ने विशेष परिकार मासु हो । हामी प्रायः चिल्लो, मसलेदार र रातो मासु खान्छौं । मासु खानु नै हुँदैन भन्ने होइन, तर चिल्लो र मसला कम भएको खानुपर्छ । सकभर मासु नखाएकै राम्रो हो । डाक्टरले मासु नखानु भनेको छ भने त्यस्ता व्यक्तिले मासु खानै हुँदैन । यसमा सचेत हुनैपर्छ । पछिल्लो समय हामी घरभन्दा बाहिरको खानेकुरा बढी खान थालेका छौं । पहिले पहिले घरमै विभिन्न खाद्यपदार्थ बनाएर खाइन्थ्यो ।
तर विगत केही वर्षदेखि चाडपर्वमा बाहिरको बनिबनाउ खानेकुरा खाने चलन बढ्दो छ । ‘जंकफुड’ स्वास्थ्यका लागि हानिकारक हुन्छ । एउटा मानिसलाई दैनिक २००० क्यालोरी शक्ति चाहिन्छ । तर त्यो क्यालोरी जंक फुडबाट आएको पनि हुन सक्छ । त्यसले असर गर्छ । जंक फुडमा प्याकेटमा देखाइएको भन्दा २०० प्रतिशत बढी सोडियम हुन्छ भन्ने एक अध्ययनले देखाएको छ । बालबालिकालाई फकाउनुपर्यो वा घरमा खान मानेनन् भने हामी जंक फुड किनेर दिन्छौं । तर त्यो भनेको आफ्नै बच्चालाई चुरोट खुवाउनु जस्तै हो । जंक फुड भन्नेबित्तिकै हामीले काम नलाग्ने खानेकुरा भन्ने बुझ्नुपर्छ ।
चाडपर्वमा आफन्तजन सँगको भेटघाट लगायत विभिन्न कारण हाम्रो खाने समयको रुटिन बिग्रिन्छ । केही दिन रुटिन बिग्रिँदा स्वस्थ युवाको स्वास्थ्यमा केही असर पर्दैन । तर रोगी, वृद्ध र बालबालिकाको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्न सक्ने हुँदा यसमा सचेत हुनुपर्छ । उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, मुटुका रोगीले खानेकुरामा ध्यान नदिँदा त्यो हानिकारक हुन सक्छ ।
पछिल्लो समय हामी अल्छी भएका छौं । यातायातको विकासले कम हिँड्छौं । शारीरिक व्यायाम गर्दैनौं । यसले गर्दा हाम्रो शरीरमा प्रतिकूल असर परिरहेको छ । यसले गर्दा खानेकुराको सन्तुलन नमिल्दा हामी चाँडो अस्वस्थ हुन्छौं ।
चाडपर्वमा मदिराजन्य पदार्थको सेवन गरेर पनि रमाइलो गर्ने चलन बढिरहेको छ । यस्ता पदार्थको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ, जसकारण यस्ता पदार्थबाट टाढै बस्नु बुद्धिमानी हुन्छ । अल्कोहल मात्र नभएर प्याक गरिएको फलफूलको जुस सेवन पनि गर्नु हुँदैन ।
यसमा चिनीको मात्रा बढी हुन्छ । बरु कागती, पुदिना, तुलसी आदिको जुस सेवन राम्रो हुन्छ । शुरूमा कागती, तुलसी, पुदिना आदिको जुसले सत्कार गर्न अप्ठ्यारो महसूस भए पनि विस्तारै यो बानी पर्न थाल्छ । पाहुनालाई बजारका खाद्य तथा पेयपदार्थ दिनु सत्कार नभएर रोग उपहार दिनु हो । बरु दही, मोही जस्ता पेयपदार्थले पाहुनाको सत्कार गर्न सकिन्छ ।
यस्तै चाडबाडमा हामी मिठाइ कोसेली लिने/दिने गर्छौं । सकभर मिठाइ खानु हुँदैन । बिरामीलाई त यसले असर गर्छ नै, स्वस्थ व्यक्तिलाई पनि यसले अस्वस्थताको बाटोमा लैजान्छ । हामी घरमै चिनी कम हालेर मिठाई बनाएर खान सक्छौं । बाहिरको सकभर खानु हुँदैन । अलिकति चिल्लो पदार्थ त हाम्रो शरीरलाई चाहिन्छ नै । तर बढी चिल्लो खानुहुँदैन । सेल, पुरी जस्ता खानेकुरा एकदमै कम खानुपर्छ ।
पछिल्लो समय दशैं/ तिहारमा घुम्न जाने चलन बढेको छ । यो आफैमा राम्रो हो । यसले गर्दा हामी विभिन्न स्थानीय ठाउँमा घुम्न गएर स्थानीय खाना खान्छौं । शारीरिक र मानसिक स्वास्थ्यका लागि यो सकारात्मक पक्ष हो । चाडबाडमा बजारका रंगीबिरंगी खानेकुरा खानुपर्छ भन्ने छैन ।
विवेकपूर्ण तरीकाले दशैं/तिहार मनाउन सकिन्छ, जसले गर्दा दशैं/तिहारमा रमाएर पछि शारीरिक कठिनाइहरूको सामना गर्नुपर्दैन र चाडपर्वपछि पनि स्वस्थ भई रमाउन सकिन्छ ।
(कुराकानीमा आधारित)