समता लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर असोज २७ गतेदेखि विक्री खुला गरेको छ । हकप्रद शेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन २९ गते नै अनुमति पाएको थियो । कम्पनीले हकप्रद प्रयोजनका लागि असोज १ गते बुक क्लोज गरेकाले भदौ ३१ गतेसम्म कायम सदस्यहरूले मात्र हकप्रद भर्न पाउनेछन् । प्रतिशेयर रू. १०० अंकित दरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर मंसीर १ गतेसम्म विक्रीमा रहनेछ । हकप्रद विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदपश्चात् चुक्तापूँजी रू. १८ करोड २० लाख १४ हजार पुग्नेछ । यस कम्पनीले गत आर्थिक वर्षमा रू. २ करोड ५७ लाख ९७ हजार खुद नाफा गरेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र १६ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बिहीवारकोे कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य ४ अंक बढेर रू. ५३४ कायम भएको छ ।
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोर प्राइस डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने र बढ्नेमा निश्चित संकेत गर्दैन । आरएसआई ओभरसोल्ड जोन २२ दशमलव ९२ विन्दुमा छ । यसले शेयरविक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशलमव ०७ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्यरेखा १४ दिनेसँग जोडिएको छ भने २६ दिनेभन्दा तल छ । बिहीवारको कारोबारमा कायम भएको अन्तिम शेयर मूल्य रू. ५३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५४० मा टेवा पाउने देखिन्छ ।